राजनीति

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ चैत्र २०७९ , शुक्रबार

काठमाडौँ–उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ।

मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *