समाचार

गुण एयरलाइन्सलाई उडानमा प्रतिबन्ध

Advertisements
MAHABAI RURAL MUNICIPALITY

थुप्रै भुक्तानी तिर्न नसकेपछि उडान सुरक्षामा असर पर्ने कारण देखाउँदै गुण एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगायो

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – पाइलट लगायत उडानमा संलग्न कर्मचारी, एजेन्सी र अरु सरोकारवालाहरूको तिर्नुपर्ने थुप्रै भुक्तानी बाँकी रहेको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई उडानमा तत्काल रोक लगाइदिएको छ ।

प्राधिकरणले सोमबार ७ वटा जहाज भएको गुण एयरलाइन्सलाई अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारका उडान नगर्न भनी संचालनमा रोक लगाइदिएको हो । यो एयरलाइन्सले काठमाडौंबाट, विराटनगर, पोखरा, जनकपुर, भरतपुर, भैरहवा, नेपालगंज, सुर्खेत, सिमरा र तुम्लिङटारमा उडान गर्दै आएको थियो ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले गुण एयरलाइन्सको व्यवस्थापनले पाइलट, इन्जिनियर, प्राविधिकहरुलाई समयमै दिनुपर्ने तालिमहरु दिलाउन नसकेको, तालिम नपाएकै कारण उसलाई आवश्यक पर्ने जनशक्ति अभाव हुँदै गएको, विभिन्न विमास्थल लगायत एजेन्सीहरुलाई बुझाउनुपर्ने आर्थिक दायित्व अत्यधिक भएकै कारण गुणलाई तत्काल उडान गर्न रोक लगाइएको बताए ।

‘वायुसेवा संचालनमा आर्थिक पक्षले उडान सुरक्षामा असर पार्न सक्ने भएकाले प्राधिकरणको ऐन/नियम अनुसार यसले सबै बक्यौता फरफारक नगरुञ्जेलसम्मका लागि उडानमा रोक लगाइएको हो,’ सहायक प्रवक्ता भुलले भने ।

७ वर्ष बन्द भएको गुण एयरलाइन्स नामको कम्पनी गत वर्ष (२०७८ भदौ) मा यती एयरलाइन्सका ५ वटा बेलायती जेटस्ट्रीम टर्बोप्रोप जहाज ५० करोड रुपैयाँ हाराहारीमा खरिद गर्दै पुन: आन्तरिक उडानमा फर्काइएको थियो । त्यसताका कोरोनाको लकडाउनका कारण १८ महिना बन्द भएको सिम्रिक एयरलाइन्सका १९ सिट क्षमतामा दुईटा बिचक्राफ्ट विमानसहित गुणसँग ७ वटा वायुयान थिए । यो वायुसेवा गुण ग्रुपले संचालनमा ल्याएको थियो । यसका संचालक ललितपुर पाटनका राजेन्द्र शाक्य गुण कोलोनी, गुण इन्टरप्राइजेज, गुण स्मृति सेवा, दरबार मल, गुण सिनेमा, जीजी टावर, गुण कोअपरेटिभ, गुण ज्वेलर्स, मेडिकल कलेज, हाइड्रो, होटल लगायत डेढ दर्जन हाराहारी कम्पनीका संचालक पनि हुन् ।

गुण समूहका अध्यक्ष शाक्यले कान्तिपुरसँग कुरा गर्दै यतीसँग खरिद गरिएका जहाज विदेशी कम्पनीलाई बिक्री गर्ने तयारी भइरहेको बताए । ‘सय हाराहारी कर्मचारीको एक/डेढ महिनाको तलब भुक्तानी गर्न बाँकी छ । हामीले यतीसँग किनेका जहाज बिक्री गरेर एटीआर विमान ल्याउँदैछौं । जहाज बिक्री गरिसकेपछि हामीसँग भएका दुइवटा बिचक्राफ्टबाट तत्काल उडान सुचारु गरिहाल्छौं ,’ शाक्यले भने । उनले गुणले तिर्न बाँकी रहेको कति बक्यौता, क-कसलाई हो भन्ने तत्काल यकिन हिसाब जानकारी नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *