राजनीतिहेडलाइन

राष्ट्रपति पाउने होइन लिने हो, काँग्रेसले राष्ट्रपति लिएरै छाड्छ: डा. कोइराला

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ –  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन्।

उनले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताएका छन्।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर ‘ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो। राष्ट्रपति काँग्रेसको उम्मेदवार हुन्छ र काँग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे ‘ राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवार हुन्छ र नेपाली काँग्रेसले जित्छ।’

नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले नेपाली काँग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताए। नेपाली काँग्रेसभित्र अवसरबादीहरुको झुन्डले घेर्ने समस्या आएको नेता कोइरालाकाे भनाइ छ।

उनले नेपाली काँग्रेस सहित अन्य राजनीतिक दलमा विचार बिनाको राजनीति चलिरहेको बताए।आगामी निर्वाचनका मतदाता हालका १४/१५ वर्षका बालबालिकानै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने उनको भनाई छ।

लोकतन्त्र सुशासन पारदर्शी जबाफदेहिता र उत्तरदायित्वको बारेमा त्यो बर्गल्याई बुझाउनु पर्ने भन्दै उनले बिचार बिनाको राजनीति चल्न थालेको बताए। सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उनको भनाई छ।

काँग्रेसका नेता कार्यकर्ता काँग्रेससँगै नजिक नभएर कोही एमाले कोही माओवादी र कोही मधेशवादी दलसँग नजिक भएर गुटगत राजनीति गर्नुभन्दा नेपाली काँग्रेसकै साथीहरूसँग नजिक भए कसैले हल्लाउन नसक्ने डा. कोइरालाको भनाई छ। युवा वर्गमा राजनीति प्रति वितृष्णा बढ्न थालेकाले काँग्रेसले युवाहरूलाई समेट्नुपर्ने अवस्था आएको उनको भनाई छ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता स्वाणिम वाग्लेले नेपालमा कुनियत सहितको कु शासन हुन थालेको संकेत गरे। उनले नेपालको अर्थतन्त्र श्रृलङकाको जस्तो हुने अवस्थामा तत्काल नभए पनि राजनीतिक प्रणालीमा सुधार हुनुपर्ने औँल्याए। लोकतन्त्रको खाका ठिकै भए पनि अहिलेको लोकतन्त्र भित्र देखिएका तमाम विसङ्गति र विकृति पखाल्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *