अर्थसमाचार

बागमती सरकारको पर्यटन नीति : जिरीमा कृत्रिम ताल, गोसाइँकुण्डमा केबलकार निर्माणसम्म

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:७ फागुन २०७९, आइतवार

काठमाडौं – जिरीमा मानव निर्मित तालदेखि रसुवाको गोसाइँकुण्डमा केबलकार निर्माणसम्मका योजना समेटेर बागमती प्रदेश सरकारले नयाँ पर्यटन नीतिको खाका बनाएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा अनुसार पर्यटन पूर्वाधारको विकास र विस्तारको योजनामा यस्ता आयोजना समेटिएका छन् ।

पर्यटन नीतिको मस्यौदामा भनिएको छ, ‘दोलखाको जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गरिनेछ, गोसाइँकुण्ड लगायतका स्थानमा केबलकार स्थापना गर्न प्रोत्साहन गरिने छ ।’ पर्यटन नीतिमा गोसाइँकुण्ड एकीकृत विकास परियोजना मार्फत रसुवाको प्रमुख तीर्थस्थल गोसाइँकुण्डको समग्र विकास गरिने समेत उल्लेख गरिएको छ ।

पर्यटनको सम्भाव्यता भएका जिरी, शैलुङ, कालिञ्चोक र महाभारत क्षेत्रका हिल स्टेशनको एकीकृत विकासका लागि सडकलगायतका पूर्वाधार र स्तरोन्नतीमा ध्यान दिने समेत पर्यटन नीतिमा उल्लेख छ ।

त्रिभुवन राजपथलाई पर्यटन मार्ग घोषणा गर्ने

काठमाडौं–हेटौडा जोड्ने त्रिभुवन राजपथलाई प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ । त्यसका लागि सडकको मर्मत सुधार सरकारले गर्ने र होटल लगायत सुविधाको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ । समग्र पर्यटन पूर्वाधारको निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरी निजी क्षेत्रको लगानी बढाउने नीति समेत प्रदेश सरकारले लिने भएको छ ।

प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलको विकास गर्न समेत निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । प्रदेश अन्तर्गत पर्ने राष्ट्रिय लोकमार्ग र प्रादेशिक तथा स्थानीय प्रमुख लोकमार्गलाई सम्भाव्यताका आधारमा पर्यटन कोरिडरका रुपमा विकास गर्ने समेत मस्यौदामा उल्लेख गरिएको छ ।

संघीय सरकारसँगको सहकार्यमा भारतका प्रमुख शहरमा हवाई र बस सेवा सञ्चालन गर्ने समेत नीतिमा उल्लेख गरिएको छ । काठमाडौं केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न काठमाडौं आसपासमा पर्यटन गन्तव्यको विकास गरी सहज पहुँच मार्गको विकास गर्ने समेत नीतिमा उल्लेख छ ।

स्थानीय तहसँगको सहकार्यमा प्रदेशभरका पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल निकास, साइकल लेन, निःशुल्क इन्टरनेटसहितका सुविधा उपलब्ध गराउने समेत प्रदेश पर्यटन नीतिमा उल्लेख छ ।

होमस्टेलाई आकर्षण

प्रदेश पर्यटन नीतिले पर्यटनको लाभ स्थानीय स्तरसम्म पुर्‍याउन होमस्टेलाई एम प्रमुख माध्यम बनाउने भनेको छ । जौविक कृषि तथा हस्तकलाको प्रबर्द्धन गरी आयआर्जनका लागि बजारीकरणको विस्तार गर्ने समेत पर्यटन नीतिको योजना छ ।

स्थानीय कृषि उत्पादनमा प्रदेश सरकारले सहयोग गरी बजारीकरणमा समेत सरकारले ध्यान दिने नीतिमा उल्लेख गरिएको छ । हस्तकलाको बिक्री गर्न समेत प्रदेश सरकारले विशेष प्रबन्ध गर्ने भनेको छ । महिलाको नेतृत्वमा वा महिला समूहद्धारा सञ्तालन गरिने पर्यटकीय क्रियाकलापलाई विशेष प्रोत्साहन दिइने भएको छ ।

प्रदेश सरकारले पशुपति क्षेत्रको विकास र संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गर्ने समेत नीति लिने भएको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसँग समन्वय र साझोदारीमा देवघाट, मनकामना, बुढीगण्डकी, त्रिवेणीधाम लगायत तीर्थस्थलमा पर्यटकीय पूर्वाधारको विकास गर्ने समेत नीतिको लक्ष्य छ । अन्तर्राष्ट्रिय बौद्ध परिपथ र अन्तर्राष्ट्रिय पशुपति परिपथको समेत परिकल्पना नीतिमा गरिएको छ ।

प्रदेश बोर्डमार्फत कार्यान्वयन

पर्यटन नीतिको कार्यान्वयनका लागि प्रदेशमा छुट्टै पर्यटन बोर्डको अवधारणा राखिएको छ । त्यसका लागि नियामावली तथा प्रदेश पर्यटन बोर्ड ऐन निर्माण गरिने उल्लेख छ ।

प्रदेशको आवधिक योजनाले पर्यटनलाई एक प्रमुख क्षेत्रका रुपमा प्रस्तुत गरेको भन्दै यसको कार्यान्वयनका लागि दिशा निर्देशन गर्न यस्तो ऐन बनाउन लागिएको प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको भनाई छ । नीतिले पर्यटन आयमा वृद्धि : रोजगारी र समृद्धि नामक दूरददृष्टि बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *