Uncategorizedराष्ट्रिय समाचारसमाचार

हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

तनहुँ, २५ जेठ (रासस) :

जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् ।

छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिनुभयो । “अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “हावाहुरीले विद्युत्का पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।”

विद्युत् लाइन नहुँदा अनलाइनबाट पढ्ने र परीक्षा दिने त्यसक्षेत्रका बालबालिकासमेत प्रभावित हुने देखिएको उहाँले बताउनुभयो । सोही वडास्थित हिमाली प्राथमिक विद्यालयको शौचालय र स्नानगृहमा क्षति पुगेको छ । शुक्लागण्डकी–८ स्थित पाटनचोकमा चार घरको छानो उडाएको जानकारी पाएको लम्सालले जानकारी दिनुभयो ।

हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिनुभयो । सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उहाँले बताउनुभयो ।

हावाहुरीले घरको छानो उडायो

सिन्धुली– सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ ।

छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो । यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करेन्ट लागेर गीता पाण्डे सामान्य घाइते हुनुभएको थियो । जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ । वर्षाले क्षति पु¥याएका विवरण प्राप्त हुन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *