खेलकुद

सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पच्छ्याउँदै नामिबियामाथि नेपाल विजयी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेल नेपालले २ विकेटले जितेको छ । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको हो । नेपालको सफल टार्गेट चेजमा कुशल भुर्तेलले शतक बनाए ।

किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो । नामिबियाका लागि मिचेल भान लिंगेनले १३३ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले ५६ रन बनाए । जेन ग्रिनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए । ६ महिनापछि राष्ट्रिय टिममा फर्किएका पूर्वकप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए ।

नेपालका लागि कुशल भुर्तेलले शतकीय इनिङ खेल्दै ११५ रन बनाए । कप्तान रोहित पौडेलले ७२ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, सन्दिप जोराले २८ रन बनाए । करण केसीले २० रन बनाए ।

नामिबिया रुबेन ट्रम्पलम्यान र जेन निकोल लोफ्टी इटोनले ३–३ विकेट लिए । बर्नार्ड स्कोल्ज र टांगेनी लुंगामेनीले १–१ विकेट लिए ।

यो नेपालले सफलतापूर्वक चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले २०१५ मा दुबइमा २५५ रनको लक्ष्य चेज गरेको थियो ।

आज नेपालले बनाएको २८७ रन नेपालको सबैभन्दा ठूलो स्कोर पनि हो । यसअघि नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर २८६ रन थियो । २०२२ को मार्चमा पपुआ न्यू गिनीले दिएको २९३ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २८६ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *