अन्तर्राष्ट्रिय समाचार

राहत र उद्धारका लागि गुहार लगाउँदै सिरिया

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – एक हप्ता अगाडि टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले छिमेकी सिरियामा पनि असर गर्‍यो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिरियामा साढे ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर, सिरियाले विश्व समुदायबाट राहत तथा उद्धारका लागि पर्याप्त सहयोग पाइरहेको छैन । राहत तथा उद्धार सामग्री नहुँदा भूकम्प पीडितको उद्धारमा समस्या भएको छ । सिरियाका भूकम्प पीडितहरु स्वास्थ्योपचार, राहत तथा खोजिकार्यको पखाईमा छन् ।

समाचार संस्था रोयटर्सका अनुसार सिरियामा भूकम्प पीडितहरु खाली हातले नै भग्नावशेष पन्छाउँदै च्यापिएका मान्छेको खोजी गरिरहेका छन् । भग्नावशेष पन्छाउने पर्याप्त सामान नहुँदा उद्धारकर्मीले समेत काम गर्न सकिरहेका छैनन् ।

‘हामी सहयोगहिन भएका छौं,’ उद्धारमा खटिएका २८ वर्षे अलि ओविड भन्छन्, ‘बाह्य सहयोग नआएसम्म हामी केही गर्न सक्ने अवस्थामा छैनौं । हामीसँग पर्याप्त सामान छैनन् ।’

सन् २०११ देखि २०२२ सम्म सिरिया गृहयुद्धको चपेटमा थियो । भूकम्प प्रभावित क्षेत्र सिरियाका विपक्षी समुहको कब्जा भएको क्षेत्र हो । सिरिया सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पठाउन खोज्दा प्रभावित क्षेत्रमा कब्जा जमाएर बसेका विपक्षीले अस्वीकार गरेकाछन् । प्रभावित क्षेत्रको पकड हातमा लिएका नेताहरुले सिरियन सरकारको नियन्त्रण भएको क्षेत्रबाट आएको राहत नलिने बताउँदै आएकाछन् ।

विपक्षीहरुको यही अडानका कारण प्रभावित क्षेत्रमा पर्याप्त राहत पठाउन नसकिएको संयुक्त राष्ट्र संघको भनाइ छ । प्रभावित क्षेत्रका बासिन्दाहरु भने आक्रोशित छन् । ‘कसैले केही गर्न सकेनन्, हामीलाई सहयोग चाहिएको बेलामा कोही उपस्थित भएनन्,’ एकजना भूकम्प प्रभावित आक्रोशित सुनिन्छन् ।

सिरियामा कतिसम्म अभाव छ भने भूकम्प गएको तीन दिनपछि मात्र इजिप्टबाट २० जना स्वास्थ्यकर्मीको टोली पुगेको थियो । तर, स्वास्थ्य सामग्रीको अभावमा इजिप्टबाट आएको स्वास्थ्यकर्मीको टोलीले पनि काम गर्न सकेन ।

यसको ठिक विपरीत टर्कीमा भने अन्तर्राष्ट्रिय सहायताको ओइरो लागेको छ । सीमानाको अर्कोतिररहेको सिरिया भने राहतका लागि गुहार लगाइरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा कब्जा जमाईरहेको टोलीका एक नेता मुहम्मद अल ओमार संयुक्त राष्ट संघले असद सरकारको नियन्त्रण भएको क्षेत्रबाट राहत सामग्री पठाउन खोजेर आफूलाई अपमानित गरेको बताउँछन् । भूकम्प प्रभावित क्षेत्रमा सीमाना जोडिएको टर्कीको बाटोबाट राहत र उद्धार सामग्री आउनुपर्ने ओमारको माग छ ।

भूकम्प प्रभावित क्षेत्रका मानिसले राहत तथा उद्धारका लागि आन्दोलन गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद टर्कीसँगका दुई वटा सीमा नाका खुल्ला गर्ने अनुमति दिएकाछन् । भूकम्प प्रभावित क्षेत्रसँग जोड्ने एउटा मात्र नाका खुल्ला थियो ।

राहत तथा उद्धार सामग्रीका लागि भनेर तीन महिनाका लागि टर्कीसँग जोडिएका थप दुई नाका खुला गरिएको सिरिया सरकारले बताएको छ । सिरियाको भूकम्प प्रभावित क्षेत्रमा गृहयुद्धबाट ज्यान जोगाउन भागेका मानिसहरुको बसोबास थियो । सिरियाका भूकम्प पीडितमाथि घिनलाग्दो राजनीति गरिएको आरोप लगाउँछन एमनेस्टी इन्टरनेशनलका मध्यपूर्व र दक्षिण अफ्रिाका प्रमुख । उनी भन्छन्, ‘भूकम्पले सिरिया पनि प्रभावित भएको छ भन्ने कुरा भुल्नु हुँदैन । सिरियाका प्रभावितहरु पहिले नै युद्धबाट प्रभावित नागरिक हुन् । उनीहरुमाथि यस्तो घिनलाग्दो राजनीति गर्नुहुन्न ।’

सिरियामा आफूले पुर्‍ याएको राहत पर्याप्त नभएको बताउँदै संयुक्त राष्ट्रसंघले सिरियालाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *