गायिका समीक्षा अधिकारी भन्छिन्, ‘मेरो आशा नै संगीत हो’

प्रकाशित;२६ पुष २०७९, मंगलबार

काठमाडौं गायिका समीक्षा अधिकारीको जीवनमा संयोग यस्तो भयो, उनले चलचित्र ‘नाइँ नभन्नु ल–५’का लागि ‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ बोलको गीत गाउन पाइन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी समीक्षाको बालापन बिहानीका किरणले चम्केको माछापुच्छ्रेजस्तै लालीमय र सुनौलो थियो ।

जन्मजात प्रतिभा हो, उनको मधुर स्वर । उनी सानैदेखि गीत गाउँथिन् । स्कुलबाट फर्केपछि उनी आफ्नो कोठामा गएर गाउन थाल्थिन्, रेडियो र टिभीबाट बज्ने अधिकांश नेपाली गीत उनलाई कण्ठै हुन्थ्यो ।

गाउनु उनका लागि प्राकृतिक नियमजस्तै थियो । जसरी खोला–नदीका मूल फुट्छन् र आफ्नै लयमा बग्छन्, त्यसरी नै उनको स्वर उनीभित्रै दबेर बस्न मान्दैनथ्यो, त्यो निस्कन खोज्थ्यो, आफ्नै लय र तालमा ।

‘कहिलेकाहीँ गाउँदागाउँदै आधारात हुन्थ्यो । गीत गाउन थाले भनेँ मैले समय बितेको पत्तै पाउँदिनथेँ,’ आइतबारको भेटमा कफीको चुस्कीसँगै उनले आफ्नो केही वर्षअघिको दैनिकी सम्झिइन्, ‘आफ्नो आवाज आफैँलाई मन पथ्र्यो । गीत गाउँदा अर्कै संसारमा पुग्थेँजस्तो लाग्थ्यो ।’

उनले कक्षा ८ मा पढ्दै थिइन्, फिल्म ‘छक्कापञ्जा’को टिम उनको स्कुलमा पुगेको थियो । मिठो गीत गाउने गायिकाको रूपमा स्कुलमा उनलाई नचिन्ने कोही थिएन । फिल्म ‘छक्कापञ्जा’को टिमले पनि उनको स्वर सुन्यो, यही सम्पर्कसूत्र हुँदै उनले फिल्ममा गाउने अवसर पाएकी थिइन् । यसपछिको केही समय उनले फाट्टफुट्ट मात्रै गीत रेकर्ड गरिन् । यद्यपि उनलाई पहिलो गीत (बालापनको उमेर)ले नै चर्चाको शिखरमा पुर्‍यायो ।

थप गीत गाउन उनले समय कुर्नुपरेन । एक वर्ष अघिसम्म उनले दिनमा सात वटासम्म गीत रेकर्ड गर्थिन् । अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘अहो ! त्यतिबेला त आकाशमा उडेजस्तो भइरहेको थियो ।’

मलाई अवसर दिनेलाई नै मान्छेहरू भन्दा रहेछन्– त्यस्ती बिग्रेकी केटीसँग किन काम गरेको ? त्यस्तालाई सपोर्ट गर्नुहुन्न । मसँग काममा जोडिएकाले मलाई यस्तै कुरा सुनाउनुहुन्छ ।

सानोमा उनले दिनहुँजस्तो भगवानको पूजा गर्थिन् । स्कुल बिदाको बेला कहिलेकाहीँ फुपूहरूकहाँ बस्ने गरी जाँदा आफूले पूजा गर्ने भगवानका मूर्ति उनको साथमै हुन्थ्यो । ‘मैले भगवानसँग यस्तरी नै माग्थेँ के– भगवान् ! बिन्ती छ, मलाई ठूलो सिंगर बनाइदेऊ । मेरो फ्यामिलीलाई कहिले पनि रोग नलागोस्,’ उनी भन्छिन्, ‘मेरो प्रार्थना पुग्यो के !’

गायकीमा राम्रो अवसर देखिँदै गएपछि उनले काठमाडौंमै बसेर चण्डीप्रसाद काफ्लेसँग संगीत सिक्न थालेकी थिइन्, एकाएक उनको घाँटीमा समस्या देखियो । ‘दिनमै पाँच सातवटा गीत गाएर हो कि ?’ उनी भन्छिन्, ‘मेरो घाँटीमा मासु पलाएछ । त्यतिबेला मेरा धेरै गीत छुटे ।’

केही महिनाको थेरापी र आरामपछि उनको घाँटी ठिक भयो । अहिले उनी काठमाडौंमा दिदीभेनाजुसँग बसेर चण्डीप्रसाद काफ्लेसँगै संगीत पढिरहेकी छन् । पोखरा सिमपानीमा रहेको स्पाइरल ग्यालेक्सी कलेजमा उनको कक्षा १२ को अध्ययन निरन्तर छ ।

स्कुल पढ्दा उनको स्मरण शक्ति तेज थियो । शिक्षकले घोकेर आऊ भनेको पाठ कण्ठै पार्थिन् । ‘घरमा ममीले भन्नुहुन्थ्यो– यति साह्रो नपढ, एक छिन खेल न । मैले उल्टै भन्थेँ– किन यस्तो भनेको ममी ? अचेल मलाई त्यति पढ्न मन लाग्दैन । वैशाखमा फाइनल इक्जाम छ । अझ सजिलो होला भनी मेजर इंग्लिस लिएर पढेको !’ उनले भनिन्, ‘सेल्फ स्टडी र अनलाइन कक्षाबाट परीक्षाको तयारी गरिरहेकी छु ।’

समीक्षाको गायकीको चर्चा चुलिँदो थियो । देशमा हुने महोत्सवहरूमा उनको माग बढ्दो थियो, विदेशमा रहेका नेपालीमाझ पनि कन्सर्टको अफर आइरहेको थियो । एकपटक दुबईमा गाएर आइन्, तर अन्य देशमा जान पाइनन् । त्यसपछि के भयो, जगजाहेरै छ ।

यस घटनामा उनी यति मात्र भन्छिन्, ‘म त्यस घटनामा बोल्नै चाहन्नँ, सम्झनै चाहन्नँ । त्यो उमेर नै त्यस्तै, जसले जे भने पनि ठिक लाग्ने, मेरो पक्ष लिएर नराम्रै सल्लाह दिए पनि हो जस्तो लाग्ने । जसलाई पनि विश्वास गरिने । घटनाहरू र मान्छेका अनेक प्रतिक्रियाबाट अहिले धेरै सिकेँजस्तो लाग्छ ।’

०००

यतिबेला समीक्षा आफ्नै आँट र हिम्मतले गायनमा फर्कंदै छन् । फाट्टफुट्ट गीत गाउने अवसर मिलेकै छ । ‘मेरो आवाजमा दुई–चारवटा गीत आउँदैछन्,’ उनी भन्छिन्, ‘मलाई सपोर्ट गर्नेहरूले मसँग काम गरिरहनुभएको छ । तर, मान्छेहरूबाट अनेक कुरा सुन्नुपर्दा अलि गाह्रोे भइरहेको छ । मलाई अवसर दिनेलाई नै मान्छेहरू भन्दा रहेछन्– त्यस्ती बिग्रेकी केटीसँग किन काम गरेको ? त्यस्तालाई सपोर्ट गर्नुहुन्न । मसँग काममा जोडिएकाले मलाई यस्तै कुरा सुनाउनुहुन्छ ।’

घटनापछि उनी निकै तनावमा थिइन् । अहिले पनि उनको उमेरै कत्रो छ र ! सानो उमेरमा ठूलाठूला चुनौती र समस्याका पहाड आफ्नो सामु आएझैँ उनलाई लाग्न थालेको थियो । ‘खै समय नै खराब भएर हो कि ! मेरा आफन्त भनाउँदा नै मेरो विरुद्ध उत्रिए,’ यति भनेर उनले हत्केलाले मुख छोपिन् । मनोविज्ञान भन्थ्यो– उनलाई बोल्नुछैन । बोलेर के हुन्छ र ?

‘फेसबुकमा फोटो हालेपछि नेगेटिभ कमेन्टको वर्षा हुन्छ, कहिलेकाहीँ ती कमेन्ट पढ्छु । अहिले त यस्ता कमेन्टले पहिलेजस्तो दुख्दैन, बानी लागेको छ । सुरुसुरुमा कस्तो गाह्रो हुन्थ्यो क्या ।’

घटनाको लगत्तै मान्छेहरू मिडियामा आएर समीक्षाविरुद्ध नानाभाँती बोलेका थिए । उनका आफन्तले त्यो हेर्न र सहन नसकेर प्रहरीमा उजुरी दिएछन् । उनलाई आक्षेप लगाएर बोल्ने केही महिला–पुरुषलाई प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि उनीहरूले समीक्षासँग माफी मागे– बैनी ! हामीबाट गल्ती भयो, हाम्रो परिवार छ, हामीलाई माफ गरेर छुटाइदिनुस् । हजुरको एक वचनले हाम्रो जिन्दगी बर्बाद हुनबाट रोकिन्छ ।

‘एउटी महिला, उनको नाम लिन चाहन्नँ, उनलाई युट्युबेले पैसा दिएर मेरो चरित्रहत्या गर्ने उद्देश्यले बोल्न लगाएका रहेछन् । मेरो ठाउँमा अरु भएको भए, उनीहरू कसैलाई माफ दिँदैनथे । मैले अदालतमा बयान दिएर उनीहरूलाई छुटाएँ,’ समीक्षा भन्छिन्, ‘तीमध्ये एकजना पुरुषलाई डिभी परेको रहेछ । अहिले उनी अमेरिका होलान् । मैले माफ नदिएको भए, उनी जान पाउँदैनथे । अहिले पनि मान्छेहरू मेरो फेसबुकमा आएर नानाभाँती कमेन्ट गर्छन् । ह्यारेस गरिरहेका छन् ।’

समीक्षा सहरमा चर्चित छन्, धेरै किसिमले । यसमा दुई मत छैन कि उनलाई उनको आवाजले नै चिनाएको हो । तर, मान्छेहरू उनलाई ‘हत्यारा’, ‘चोर’ र ‘देशद्रोही’लाई जस्तै लखेटिरहेछन् । ‘मास्क र चस्मा लगाएर हिँडे पनि मान्छेले चिन्छन्, अनि भन्छन्– दशलाखे आई, दशलाखे आई । यस्ता कुराले म भित्रभित्रै एकदमै गल्छु, मलाई एकदमै कमजोर बनाउँछ । डर लाग्छ, बेलाबेला मन आत्तिन्छ । सबैलाई इग्नोर गरेर एक्लै बस्न मन लाग्छ । अहिले चण्डीप्रसाद गुरुसँग संगीत सिक्दै छन् । मेरो आशा नै संगीत हो । गुरुले मलाई धेरै सपोर्ट गर्नुहुन्छ । उहाँले पनि मेरो बारेमा अनेक मान्छेका अनेक कुरा सुन्नुपर्दो रहेछ— त्यस्तोलाई किन म्युजिक सिकाएको, यताउति । म जोसँग जोडिन्छु, मान्छेहरू त्यही पुग्छन्, मेरो कुरा काट्न, म त बाँच्नै नपाउने रे यहाँ । मेरो बाँच्न पाउने अधिकार छैन र ?’ यति भनेपछि उनका गला अवरुद्ध भए, बरर्रर आँसु झारिन् ।

एकछिनपछि भनिन्, ‘फेसबुकमा फोटो हालेपछि नेगेटिभ कमेन्टको वर्षा हुन्छ, कहिलेकाहीँ ती कमेन्ट पढ्छु । अहिले त यस्ता कमेन्टले पहिलेजस्तो दुख्दैन, बानी लागेको छ । सुरुसुरुमा कस्तो गाह्रो हुन्थ्यो क्या । हेर्नै नसकिने वर्डहरू कति लेख्न सकेका हुन् ! अस्ति भर्खर मलाई नै लक्षित गरी दोहोरीगीत आयो । मान्छेहरूले मेरो फोटो राखेर ट्रोल बनाए । यस्ता कुराले मलाई धेरै नै गलाउँछ ।’

०००

केहीअघि संखुवासभाको खाँदबारी पाङ्ठामा भएको कार्यक्रममा केही उच्छृंखल व्यक्तिले उनीमाथि ढुंगा प्रहार गरे, ढुंगाले लागेर दुई दिनसम्म राम्रोसँग उनले हात चलाउन सकिनन्, तर यो कुरा उनले कसैलाई सुनाइनन् ।

त्यहाँ उनलाई सबैभन्दा अन्तिममा रातको १ बजे गाउने पालो परेको थियो । मानिसहरू उनको गीत सुन्न एक–दुई घन्टा हिँडेर आएका थिए । ‘रातको १ बजे पनि कति धेरै मान्छे थिए । त्यहाँको कार्यक्रम सफल भएको हो, त्यहाँ मलाई माया गर्ने मान्छेकै उपस्थिति थियो,’ समीक्षा भन्छिन्, ‘एक जनाले ढुंगा हानेका मात्रै हुन् । उनी चाहन्थे होला– मेरो नकारात्मक समाचार बाहिर आवोस् । कोही यस्तै इच्छा र सपना पालेर बसेको छ त म के गरौँ ?’

दिवशाले समीक्षालाई यति माया गर्छिन् कि समीक्षाले त्यसलाई शब्दमा बयान गर्नै सक्दिनन् । ‘जिन्दगीमा मैले भुल्नै नहुने मान्छे हो उहाँ,’ समीक्षा भन्छिन् ।

केही हप्ताअघि उनी डान्स सिक्न डिल्लीबजार गएकी थिइन् । डान्स सिकाउने गुरुलाई नै मान्छेले भन्दा रहेछन्, त्यस्तोलाई किन सिकाएको ?

‘मैले कसलाई सुनाउने आफ्नो पीडा । बाबा–ममी सोझो हुनुहुन्छ । एक्लै रुमभित्र बस्यो, करायो, चिच्यायो, मोबाइल फुटायो,’ आधापीडा र आधा हाँसो मिश्रित भाव अनुहारमा ल्याउँदै उनी भन्छिन्, ‘कहिलेकाहीँ सहन गाह्रो हुन्छ, असाध्यै नराम्रो सोच पनि आउँछ । तर पनि आफूले आफूलाई सम्हाल्छु, हार मानेकी छैन ।’

माया गर्नेहरू

उनलाई अचेल उनकी आमाले दिनमा तीन–चारपटक फोन गर्छिन्– चिया खायौ ? खाना खायौ ? खाजा खायौ ?

‘ममीबाबालाई पनि तनाव छ । फलानोले यस्तो भन्यो, फलानीले उस्तो भनी भनेर मलाई सुनाउनुहुन्छ र रुनुहुन्छ,’ यति भनेर समीक्षा मौन हुन्छिन् ।

समीक्षाका साना बैनी फ्यान धेरै छन्, उनीहरूले उनलाई म्यासेज गर्छन्– दिदी ! हामीलाई एक–दुईजनाले नराम्रो भन्दा कति गाह्रो हुन्छ । तपाईं बलियो हुनुहुन्छ, हुनुपर्छ । समीक्षाले आफ्ना भरोसाहरूलाई सम्झिइन्, ‘उहाँहरू आफैँ रोएर भ्वाइस म्यासेज पठाउनुहुन्छ ।’

भनिन्छ, बालबालिकाले मन पराउनेहरू असल र नरम स्वभावका हुन्छन् । कडा स्वभावको मानिस बालबालिकालाई मन पर्दैन । ‘मलाई मन पराउनेमा धेरै बच्चाहरू नै हुनुहुन्छ । एकजना दाङको बिपिशा न्यौपाने, मलाई असाध्यै मनपराउने, अहिले ८–९ कक्षामा पढ्नुहुन्छ होला,’ समीक्षा भन्छिन्, ‘तुलसीपुरमा कार्यक्रम हुँदा उहाँको बुवाले उहाँलाई लिएर आउनुभएको थियो । बुवाले भन्दै हुनुहुन्थ्यो– तिमीलाई हेर्न भनेर बिपिशा स्कुल नगई आएकी हो । अहिले बिपिशा मेरो फेसबुकमा साथी हुनुहुन्छ ।’

कुराकानीका क्रममा समीक्षाले काठमाडौं मलमा पार्लर चलाउने दिविशा शर्माको नाम लिइन् ।

दिविशाले समीक्षालाई यति माया गर्छिन् कि समीक्षाले त्यसलाई शब्दमा बयान गर्नै सक्दिनन् । ‘जिन्दगीमा मैले भुल्नै नहुने मान्छे हो उहाँ,’ समीक्षा भन्छिन्, ‘दिविसा दिदी मेरो लागि अरुसँग लड्नुहुन्छ ।’

समीक्षालाई यतिखेर हात–हृदय, साथ–सहयोग, आँट–विश्वास, ढाडस चाहिएको छ । अहिलेसम्म देशका कोही उच्चपदस्थले भेटेर उनलाई ढाडस दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *