मनोरञ्जन

शान्ति मिसनमा सहभागी हुने नेपाली सेनाको संख्या ६ हजार नाघ्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेना इतिहासमै पहिलो पटक ६ हजारभन्दा बढी शान्ति मिसनमा सहभागी भएको छ । नेपाली सेनाले शुक्रबार दिएको जानकारी अनुसार इतिहासमै पहिलो पटक ६ हजार माथि शान्ति मिसनमा सहभागी भएको जनाएको हो ।

‘नेपाली सेनाको अहिलेसम्मकै ठूलो संख्या हो, सेन्ट्रल अफ्रिकन रिपव्लिकमा २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६०१६ पुगेको छ’, सैनिक जनसम्पर्क निर्दैशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९५८ मा ५ जना सैन्य पर्यवक्षक लेवनानमा तैनाथ गरेसंगै शुरु भएको नेपाली सेनाको शान्ति मिसनको यात्राले ६ दशक भन्दा बढीको समयावधि पुरा गरिसक्दा ६ हजार बढी सहभागी भएका हुन् ।

‘शान्ति मिसनहरुको यस गर्बिलो यात्रामा सन् १९७४ मा ईजिप्टमा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा श्री पुरानो गोरख गण सहभागी भएको थियो भने हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागिता जनाइसकेको छ’ सैनिक जनसम्पर्क निर्दैशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस क्रममा नेपाली सेनाका १,४२,५८५ जना सकलदर्जा शान्ति मिसनमा सहभागी भइसकेका छन्, जसमा १९८२ जना महिला सैनिक समेत समावेश छन् । विश्व शान्ति स्थापनाका क्रममा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकको निधन भएको छ भने ६८ जना सकलदर्जा घाइते भएका छन् । हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रहहरूको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा छ । विभिन्न १२ वटा शान्ति मिसनमा नेपाली सेनाका ६०१६ जना सकलदर्जा (४२९ महिला सहित) सहभागी भइरहेका छन ।

यसैगरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमध्ये सिरियामा फोर्स कमान्डर, मिसन लेवनानमा डेपुटी फोर्स कमान्डर तथा मिसन माली र मिसन दक्षिण सुडानमा सेक्टर कमान्डरको रुपमा नेपाली सेनाका अधिकारी कार्यरत रहेको निर्दैशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *