राष्ट्रिय समाचार

मेट्रोको लागि सरकारको मुख नहेरौं, पालिका मिलेर श्री गणेशाय नम: गरौं- चिरिबाबु महर्जन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा पालिकाहरू मिलेर मेट्रो रेल चलाउनुपर्ने बताएका छन्।

शनिबार ललितपुर महानगरको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले पालिकाहरू मिलेर मेट्रो रेल निर्माण अघि बढाउनुपर्ने बताएका हुन्।

उनले काठमाडौं र ललितपुर महानगरपालिकाको पहलमा उपत्यकाका सबै पालिकालाई समेटेर निर्माणको प्रक्रिया अघि बढाउने प्रस्ताव राखेका हुन्। यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्न नहुने पनि बताए।

‘नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन। त्यसको निमित्त काठमाडौं, ललितपुर लगायत उपत्यकाका १८ वटा पालिकाहरू मिलेर राम्रो भूमिका खेल्न पर्छ,’ उनले भने, ‘यसको नम्बर १ जिम्मेवार पालिका भनेको काठमाडौं नै हो। तसर्थ काठमाडौं र ललितपुर महानगरपालिका मेट्रो निम्ति अहिलेदेखि नै श्री गणेशाय नम: गरेर हामी अगाडि बढौं।’

यसको डिपिआर फाइनल गर्न कयौं वर्ष लाग्ने बताउँदै अहिले नै सुरू गर्नुपर्ने बताए।

लोडसेडिङको समयमा किनेका इन्भर्टरहरू अहिले त्यसको अन्त्य भएसँगै कवाडीमा बेच्नुपरेको बताउँदै १०-१५ वर्षपछि मेट्रो रेलको सञ्चालनमा आए मोटरसाइकलको अवस्था पनि त्यही हुने उनले बताए।

‘यो हाम्रो राष्ट्रिय समस्या हो। यसको सम्बोधन गर्न हामीले अहिले नै पहलकदम गरेनौं भने १५-२० वर्षपछि त यहाँ ललितपुरबाट काठमाडौं जान हिँडेर जाँदा जति छिटो पुगिन्छ। त्यति नै ढिलो मोटरसाइकलमा हुनेछ। यो लेखिराख्नुहोस्। मेरो पूर्वानुमान हो,’ उनले भने।

यसअघि काठमाडौं महानगरपालिकाको स्थापना दिवसमा पनि यो प्रस्ताव राखेका थिए।

उनले मेट्रो रेल निर्माण गर्ने काम ज्यादै महंगो भएको भन्दै सस्तो के हो त भनेर प्रश्न समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *