खेलकुद

अर्जेन्टिना भर्सेस फ्रान्स : विश्वकप फाइनल प्रिभ्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

काठमाडौं – तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् ।

यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ ।दुई मुख्य टिमबीचको प्रतिष्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् ।

के लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि २३ वर्षीय किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्लान् ।

फाइनलअघि यी दुई खेलाडीकै वरपर रहेर धेरै अड्कलबाजीहरु भइरहेका छन् । मेसी आफ्नो करियरको उत्तरार्धमा छन् भने एमबाप्पे मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टारको रुपमा उदाइरहेका छन् ।

विश्वकप कसले जित्ला त ? अर्जेन्टिना वा फ्रान्स, मेसी वा एमबाप्पे । त्यसका लागि फाइनल खेलको अन्तिम हुसिल बज्ने बेलासम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

अर्जेन्टिना र फ्रान्स जसले जितेपनि विश्वकपमा केही कीर्तिमानहरु बन्ने पक्का छ ।

अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ र मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना ।यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।

फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ ।

यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो ।

यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् ।

यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।

साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो ।

दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

१९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । मेसीको अन्तिम विश्वकप जित्नका लागि अर्जेन्टाइन टिम अहिले एकजुट भएको छ ।

पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।

फाइनलअघि अर्जेन्टिनाका सबै खेलाडी उपलब्ध छन् । मार्कुस अकुना र गोन्जालो मोनिटेल फाइनलका लागि उपलब्ध हुनेछन् भने एन्जल डि मारिया पनि फाइनलका लागि तयार छन् ।

फ्रान्सलाई भने केही खेलाडीलाई फ्लु लागेकोले तनाव छ । डिफेण्डर डायोट उपामेकानो र मिडफिल्डर एड्रिएन राबिओटले सेमिफाइनल खेलेका थिएनन् । उनीहरु रिकभर भइसकेको रिपोर्ट छ । तर राफेल भरान, किंग्सले कोमन र इब्राहिम कोनाटेले फ्लुका कारण प्रशिक्षण गरेका थिएनन् । उनी फाइनल खेलबाट आउट भइसकेका छैनन् र तर खेल्ने नखेल्ने निश्चित भने छैन ।

प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूले कुनै दबाब नलिएको र फाइनलका लागि तयार रहेको बताएका छन् ।

हेड टु हेड 

 

फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कुल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । तीन खेल बराबरीमा टुङ्गिएको थियो । जसमा कुनै गोल पनि भएको थिएन ।

यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।

पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो । चार वर्षपछि अर्जेन्टिनालाई त्यसको बदला लिँदै च्याम्पियन बन्ने अवसर छ ।

२०१८ अघि विश्वकपमा दुई पटक भेट हुँदा भने अर्जेन्टिना विजयी भएको थियो । यी दुईबीच पहिलो खेल नै १९३० को विश्वकपमा भएको थियो । जहाँ अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो ।

यी हुन् अहिलेसम्मका विश्वकप विजेता

अर्जेन्टिना र फ्रान्स जसले जितेपछि तेस्रो पटक च्याम्पियन बन्नेछ र यस्तो उपलब्धि हात पार्ने चौथो टिम बन्नेछ ।

अहिलेसम्म फिफा विश्वकपको २१ संस्करण आयोजना भइसकेका ८ राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जित्दा इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक जितेको छ । ब्राजिल विश्वकपमा सबै २२ वटै संस्करण खेल्ने एक्लो टिम हो । यसबाहेक इंग्ल्याण्ड र स्पेनले १-१ पटक विश्वकप जितेका छन् ।

विश्वकपमा अहिलेसम्म कुल १३ राष्ट्रले फाइनल खेलेका छन् । ८ राष्ट्रले उपाधि जित्दा फाइनल पुगेर पनि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएशियाले उपाधि जित्न सकेन ।

नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि तीनै पटक उपविजेता बन्यो । चेकोस्लोभाकिया र हंगेरी भने समान दुई पटक फाइनलमा पराजित भएका थिए । क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पहिलो पटक फाइनल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *