खेलकुद

नेपालगन्जले आफ्नै बनाउनुपर्ने म्याराथन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; शनिबार, पौष ०२, २०७९

कुनै समय खेलकुदमा गुलजार नेपालगन्ज अचेल सहरको रूपमा धेरै ठूलो भएको छ तर आफू फैलिने क्रममा कहींकतै यसले आफैंभित्रको बहुमूल्य खेलसंस्कृति त गुमाइरहेको छैन ?

काठमाडौं | म्याराथनसँग जोडिएका कथाहरू सुन्नुपर्छ, ती अद्भूत हुने गर्छ । आखिरमा ४२.१९५ किलोमिटर दौडिनु आफैंमा अदम्य बहादुरी हो । को जित्यो ? त्यो त अर्कै पाटो भयो । साहसिक काममा रूचि हुनेका लागि जीवनमा एकपल्ट म्याराथन दौड पूरा गर्नु पनि ठूलै उपलब्धि हुने गर्छ । त्यसैले पनि म्याराथनसँग जोडिएका अनेक कथा सुन्न पाइन्छ । म्याराथन विधामा नेपाल पनि कम्तीको छैन, दक्षिण एसियामा हामी अब्बल दर्जाकै छौं ।

त्यसैले हाम्रा खेलाडीसँग जोडिएका म्याराथनका कथा सुन्ने अवसर पाउनुपर्छ, अहोभाग्य महसुस हुन्छ । यो त भयो, खेलाडीतर्फको पक्ष । म्याराथनसँग सिधा जोडिने आयोजनास्थल पनि हो, भनौं सहर हो । यो उत्तिकै अर्को उल्लेखनीय पक्ष भयो । एउटा राम्रो कहलिएको सहर बन्न धेरै तत्त्व आवश्यक पर्ला, त्यसमध्ये त्यही सहरको नाममा जोडिएर म्याराथन भइरहेको छ भने त्यो जत्तिको उत्तम अरू नै हुनसक्छ र ?

भनिन्छ, कुन सहर कति सभ्य छ भनेर हेर्ने नै म्याराथन दौडका बेला हो । नेपाल र म्याराथन जोडिएर आउँदा एउटा ‘आइकोनिक’ तस्बिर सबैको मनमा आउन सक्छ । यो हो सन् १९६४ को टोकियो ओलम्पिकको दश्य ।

यसमा नेपालका धावक भूपेन्द्र सिलवाल जुत्ताविना दौडिरहेका छन् । सजिलो हो भनेर उनको खुट्टामा बाल्टिनबाट पानी फालिरहेकी हुन्छिन् एक जापानी महिला । यो तस्बिरलाई जापानी पत्रपत्रिकाले त्यही बेला पनि खुबै महत्त्वले छापेको थियो । उनीहरूले दिन खोजेको सन्देश थियो, जापानीहरू कति धेरै संवेदनशील हुन्छन् भनेर ।

यो सबै पृष्ठभूमि किनभन्दा एक साताअघि नेपालगन्जमा त्यही सहरको नाममा रहेको म्याराथन भयो । त्यो पनि आठौं संस्करण । नेपालमा सहरको परिचय बोकेर तीन म्याराथन हुने गर्दछ । काठमाडौं म्याराथन, पोखरा म्याराथन र यही नेपालगन्ज म्याराथन ।

यसमध्ये सबैभन्दा कान्छो हो, नेपालगन्ज म्याराथन । तर, सम्भवतः सबैभन्दा बढी व्यवस्थित दौड यही रहेको छ । यससँग नजिकसँग जोडिएकालाई लाग्दो हो, समस्या त अनेक छन् ।

होलान् पनि । तर, तुलना गर्ने हो भने यो साँच्चै बढी व्यवस्थित छ । फेरि यसपल्टको संस्करण आफैंमा ऐतिहासिक बन्यो । एक त यो आधिकारिक रुटमा आयोजना भएको थियो । त्यसमाथि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्ट्यान्स रेसेस (एम्स) को वार्षिक क्यालेन्डरमै राखिएको प्रतियोगिता भयो ।

अझ एक धावकका लागि दौडका क्रममा जे जस्तो सुरक्षा र सुविधा चाहिन्छ, लगभग त्यसलाई पूरा गर्ने प्रयास भएको देखियो ।

साँच्चै अझै अपुग भने धेरै थिए । तर आयोजनाको तर्फबाट भन्दा पनि नेपालगन्ज सहरकै तर्फबाट बढी हो । नेपाली खेलकुदको दृष्टिकोणले भन्दा नेपालगन्ज ऐतिहासिक सहर हो । यो सहरले नेपाली खेलकुदलाई धेरै अब्बल दर्जाका खेलाडीहरू दिएको छ ।

ओलम्पियनदेखि कीर्तिमानी खेलाडीसम्म ।सायद पछिल्लो समय यस सहरको नेपाली खेलकुदसँग आफ्नो नाता केही कमजोर बनेको छ । खेलकुदसँग यो भाग्दै छ कि ।

सहरमा नेपालगन्ज म्याराथन भइरहेको छ, तर अधिकांस स्थानीय यससँग उदासीन देखिए । रुट घुम्ने क्रममा धेरैलाई सुरुमा आफ्नै सहरमा म्याराथन भइरहेको थाहा थिएन, थाहा भएकालाई पनि त्यसप्रति त्यति चासो रहेको देखिएन । कुनै समय खेलकुदमा गुल्जार रहेको नेपालगन्ज अचेल धेरै ठूलो भएको छ सहरको रूपमा ।

तर, आफू फैलिने क्रममा कहींकतै यसले आफैंमा रहेको बहुमूल्य खेलसंस्कृति त गुमाइरहेको छैन ? नेपालगन्ज म्याराथनका क्रममा धेरैले कहींकतै यस्तै महसुस गरेको हुनुपर्छ ।

तर, बिग्रेको केही छैन । कहींकतै बिग्रेको छ भने त्यसलाई सपार्न सकिन्छ । आठौं संस्करणसम्म लगातार आयोजना हुन सक्नु नै यो दौडको आफ्नै ठूलो विशेषता रह्यो । यसलाई नेपालगन्ज आफैंले आफ्नो मानेर अझ भव्य र व्यवस्थित गर्ने हो भने फाइदा त्यही सहरलाई नै हुनेछ । यो त अहिले नै नेपालगन्जमात्र होइन, पश्चिम नेपालको शान हो । यस क्षेत्रको परिचय हो । अझ पछि यसले नेपालगन्जको पयर्टनसँगै अन्य आर्थिक पाटोलाई पनि सहयोग पुर्‍याउन सक्छ ।

सबैलाई थाहा छ, नेपालगन्ज म्याराथनको रुट सबैभन्दा सजिलो छ । यसमा कीर्तिमान बन्ने सम्भावना धेरै छ । तर, तिनै रुटको दायाँबायाँ खेलाडीलाई हौसला बढाउन आम नेपालगन्जवासी कम देखिए । नवौं संस्करणमा दौडको रुटले जहाँ–जहाँ छुन्छ, त्यहाँ टोल–टोलका वासिन्दा उठेर सडकका उत्रँदा त्यो दृश्य कम्ती मज्जाको हुन्छ र ? जानकी गाविस छोएर दौड अगाडि बढ्छ । यो मधेसी मुस्लिम बाहुल्य क्षेत्र हो । दौडका बेला तिनीहरूले आफ्नो संस्कृति झल्काउने झाँकीसँगै खेलाडीलाई प्रोत्साहित गर्न सक्छन् ।

हबल्दारपुरतिर जनजातिको बाहुल्य छ, विशेषतः मगर र गुरुङको । तिनले पनि त आफ्नो संस्कृतिलाई पस्कन सक्छन् दौडका क्रममा । कोहलपुरका बासिन्दा मिश्रित छन्, तर यहाँ पहाडी र थारु समुदायका बढी छन् । वैजनाथ पुग्दा त त्यहाँ थारु समुदायकै बाहुल्यता हुन्छ । नेपालगन्जको खास सुन्दर विशेषता भन्ने नै यही त हो यहाँका बासिन्दा पनि किन चुप लागेर बस्ने दौडका बेला । तिनले पनि आफूले चाहे जस्तै दर्शककै रूपमा पनि म्याराथनलाई सहयोग गर्न सक्छन् ।

स्कुल–कलेजका विद्यार्थी स्वयंसवेकका रूपमा उत्रन सक्छन् । अझ दौडको सुरु र अन्त्य हुने बीपीचोक अझ दमदार छ । यसको छेउमै गुरुद्वार छ अनि सँगै मस्जिद र चर्च छ । अझ सँगसँगै वागेश्वरी मन्दिर छ, यो नेपालगन्जकै परिचय भयो । यही अनुपम समिश्रणलाई अनुभव गर्न नेपालगन्जवासी आफैं दौडमा सहभागी हुनसक्छ । सके म्याराथनमै । धेरैलाई लाग्दो हो, यो त निकै गाह्रो छ । होइन भने त्यसभन्दा छोटा दूरीको दौडमा भाग लिने ।

वर्षमा एकपल्ट नेपालगञ्ज म्याराथनमा दौडिन्छु मात्र भन्नुपर्छ, केही अभ्यास गर्नुपर्छ, गाह्रो केही हुन्न । अवसर धेरै छन्, मनमात्र हुनुपर्छ । त्यही टोकियो ओलम्पिकका बेला ती महिलाले जे गरेकी थिइन्, त्यसै गर्न सकिन्छ । भलै, त्यसको स्वरूप भने परिवर्तन हुनुपर्छ । यस्तो हुन सक्यो भने एउटा मीठो न मीठो माहौल बन्छ । यसले फिर्ता दिने भनेको नेपालगन्ज सहरलाई नै हो । विश्वास गरौं, नवौं नेपालगन्ज म्याराथन हुँदा कम्तीमा केही राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *