राजनीतिराष्ट्रिय समाचार

समानुपातिकमा कांग्रेसका २२ र एमालेका २९ नयाँ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; शनिबार, पौष ०२, २०७९

पटक–पटक अवसर पाएकालाई नदोहोर्‍याउने नीति लिए पनि कांग्रेसले १० र एमालेले ५ जनालाई फेरि संसद् पठाए

काठमाडौँ — प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचितमध्ये एमालेका २९ र कांग्रेसका २२ सांसद नयाँ छन् । एमालेका ३४ सांसदमध्ये रघुजी पन्त, एकनाथ ढकाल, हेमराज राई, गंगाप्रसाद यादव र अमृता अग्रहरीबाहेक सबै नयाँ हुन् ।

कांग्रेसका ३२ मध्ये आरजु राणा, विमलेन्द्र निधि, प्रकाशशरण महत, जीवन परियार, अम्बिका बस्नेत, सरिता प्रसाईं, ईश्वरी न्यौपाने, चन्दा चौधरी, मुक्ताकुमारी यादव र सरस्वती बजिमय पटक–पटक अवसर पाइसकेका सांसद हुन् ।

एमाले स्थायी कमिटी सदस्य रहेका पन्त २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित भएका थिए । परिवार दलका अध्यक्ष रहेका ढकाल पहिलो र दोस्रो संविधानसभामा सदस्य थिए । त्यसैगरी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका राई तेस्रो पटक सांसद बन्न लागेका हुन् ।

२०६९ मा उनी अशोक राईसँगै एमालेबाट बाहिरिएका थिए । उनी २०४८ र २०५१ मा भोजपुर–१ बाट दुई पटक सांसद निर्वाचित भएका थिए । यादव प्रतिनिधिसभाका पूर्वउपसभामुख हुन् । उनी २०७४ मा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।

२०७४ मा प्रतिनिधिसभामा जसपाबाट समानुपातिक सांसद बनेकी अग्रहरी निर्वाचनअघि एमाले प्रवेश गरेकी थिइन् । लामो समय क्षेत्रीय दल सद्भावना पार्टीसँग सम्बद्ध रहेकी उनी अहिले एमालेबाट समानुपातिक सांसद बनेकी हुन् ।

एमालेले समानुपातिकतर्फ २२ महिलालाई सांसद बनाएको छ, जुन एक तिहाइ हो । खासआर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल निर्वाचित भएका छन् ।

आदिवासी जनजातितर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा, दलिततर्फ रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा, मधेसीतर्फ बिनादेवी, अमृता अग्रहरी र प्रतीक्षा तिवारी, थारूतर्फ आस्माकुमारी चौधरी र शान्ति चौधरी सांसद बनेका छन् ।

त्यसैगरी पुरुषतर्फ खसआर्यमा पन्त, ढकाल र दयालबहादुर शाही, जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई, दलिततर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हजारा दुसाध र चन्द्र विक, मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र मुस्लिमतर्फ सराज अहमद फारुकी सांसद भएका छन् ।

प्रतिनिधिसभामा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

संसद्को पहिलो दल बनेको कांग्रेसबाट ८९ सांसद निर्वाचित भएका छन्, जसमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ जना छन् । समानुपातिकका २२ र प्रत्यक्षका १६ नयाँ अनुहार छन् ।

कांग्रेसबाट पूर्वउपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधि, पूर्वमन्त्री एवं पार्टी प्रवक्ता प्रकाशशरण महत र सहमहामन्त्री जीवन परियार समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका छन् । धनुषाबाट पटक–पटक चुनाव जितेर पार्टीमा पटक–पटक पदाधिकारीसमेत भइसकेका निधि चुनाव हार्ने डरले यस पटक समानुपातिकमा बसे ।

सभापति शेरबहादुर देउवाकी पत्नी एवम् पार्टी केन्द्रीय सदस्य आरजु राणा र प्रवक्ता महत समानुपातिकबाट तेस्रो पटक सांसद बनेका छन् । दुवै अहिलेसम्म प्रत्यक्ष चुनाव जितेर संसद् छिर्न सकेका छैनन् ।

२०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका महत र राणा पार्टी सत्ताको दुरुपयोग गर्दै तेस्रो पटक समानुपातिकमा सांसद बनेका हुन् ।

हाल पार्टीको सहमहामन्त्री रहेका जीवन परियारलाई भने समानुपातिकमा निर्वाचित हुन हम्मे परेको थियो । दलित समुदायबाट पहिलो सहमहामन्त्री र हाल एकमात्रै पदाधिकारी रहेका परियारले प्रत्यक्षमा टिकट पाएनन् ।

समानुपातिकमा तीन जनामात्रै पुरुष निर्वाचित हुने अवस्था बन्दा नेता शेखर कोइराला समूहमा रहेका परियारलाई पार्टीबाट निर्वाचित हुन निकै कठिन पर्‍यो ।

कांग्रेसले प्रत्यक्षमा ९१ सिटमा उम्मेदवारी दिँदा दलित समुदायका परेका थिएनन् । चौतर्फी दबाबपछि सभापति देउवाले परियारलाई समानुपातिकबाट निर्वाचित गराएका हुन् । परियार २०७० मा पनि समानुपातिकबाटै संविधानसभा सदस्य बनेका थिए । २०७४ मा भने उनी कास्कीबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।

यसबाहेक कांग्रेसले पटक–पटक अवसर पाइसकेका अम्बिका बस्नेत, सरिता प्रसाईं, इश्वरी न्यौपाने, चन्दा चौधरी र मुक्ताकुमारी यादवलाई समानुपातिकबाट प्रतिनिधिसभामा पठाएको छ । समानुपातिकमा निर्वाचितमध्ये सरस्वती बजिमय पनि पहिल्यै समानुपातिक सांसद भइसकेका हुन् ।

लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, संगीता मण्डल र जावेदा खातुन भने नयाँ अनुहार हुन् ।

यीमध्ये चन्दा चौधरी नवप्रवेशी हुन् । चुनावको मुखमै लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर कांग्रेसमा आएकी उनी ०७४ मा पनि समानुपातिकबाटै सांसद बनेकी थिइन् । ओली सरकारमा महिलामन्त्री समेत भएकी थिइन् । लीलादेवी बोखिम, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल कार्की, बिनाकुमारी थनेत, संगीता मण्डल धानुक, मनोरमा शेरचन, आशा विक र सीता मिजार पार्टीको केन्द्रीय सदस्य नबन्दै प्रतिनिधिसभा सदस्य बनेका छन् । बाँकी नेता भने केन्द्रीय समितिमा पनि छन् ।

मञ्जु गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् भने राजभण्डारी पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी हुन् । ताप्लेजुङकी बोखिम यसअघि प्रत्यक्षमा चुनाव लडेर पराजित भएकी थिइन् । जुम्लाकी सेजुवाल यसअघि चन्दननाथ नगरपालिकाको मेयर थिइन् ।

शिक्षण छाडेर राजनीतिमा आएकी उनी पार्टीको केन्द्रीय सदस्य हुन् । अघिल्लोपटक आमन्त्रित केन्द्रीय सदस्य रहेकी रमा कोइराला पौड्यालले पनि यस पटक अवसर पाएकी छन् । भोजपुरकी उनी १४ औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

सीताकुमारी राना, सुशीला थिङ र माया राई जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । उनीहरूको महिला संघ र नेविसंघ पृष्ठभूमिका हुन् । शान्ति र रूपा पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् भने सीता केन्द्रीय सदस्यको उम्मेदवार थिइन् ।

आशाले प्रत्यक्षतर्फ बाँके–३ मा चुनाव लड्ने चाहना देखाएकी थिइन् । त्यहाँ सहमहामन्त्री किशोरसिंह राठोरले जित्दा आशाले समानुपातिकबाट मौका पाएकी छन् । मुस्लिम समुदायबाट पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य बनेकी जावेदा खातुन पनि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

थारू समुदायबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद बनेका छन् ।

२०७४ मा काठमाडौं–३ मा पराजित अम्बिका बस्नेत तेस्रो पटक समानुपातिकबाट सांसद भएकी हुन् । उनी दुवै संविधानसभामा सदस्य थिइन् । महिला संघको अध्यक्षसमेत भइसकेकी उनी १२ औं महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य छिन् । उनी गरिबी निवारण तथा सहकारीमन्त्रीसमेत भइन् ।

राष्ट्रिय सभाकी पूर्वसदस्य सरिता प्रसाईं त्यसबेला प्रमुख सचेतक थिइन् । उनी ०७० मा समानुपातिकबाटै संविधानसभा सदस्य बनेकी थिइन् । उनी कृषि राज्यमन्त्रीसमेत भइसकेकी नेता हुन् । ०७४ मा कैलाली–१ मा चुनाव हारेकी ईश्वरी न्यौपाने पटक–पटक केन्द्रीय सदस्य भइसकेकी र पार्टीको महिला विभागको प्रमुख भएर काम गरिसकेकी छन् ।

राष्ट्रिय सभाकी पूर्वसदस्य मुक्ताकुमारी यादव पनि संविधानसभामा समानुपातिकबाटै अवसर लिइसकेकी नेता हुन् । शिक्षण छोडेर राजनीतिमा आएकी उनले १४ औं महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *