अर्थ

कात्तिकको तुलनामा २३ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा घरजग्गा कारोबार बढेको छ।

कात्तिकको तुलनामा २३.३३ प्रतिशतले घरजग्गा कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मंसिरमा एक हजार नौ सय ८ संख्यामा घरजग्गा कारोबार भएको छ। यस्तो किनबेच संख्या कात्तिकमा एक हजार पाँच सय ४७ थियो।

मंसिरमा जग्गाको कित्ताकाट पनि दोब्बरले वृद्धि भएको छ। कात्तिकमा ३ सय ८७ जग्गा कित्ताकाट भएकोमा मंसिरमा ६ सय १६ जग्गा कित्ताकाट भएको छ।

कारोबार संख्या बढेसँगै राजस्वमा पनि थोरै वृद्धि भएको छ।

केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको थियो। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।

स्थानीय भू–उपयोग परिषद्बाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको थियो।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।

कतिपय स्थानीय तहले जग्गा वर्गीकरणको काम सकाएकाले पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारी बताउँछन्।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा ९० वटा पालिकाले जग्गाको वर्गीकरणको काम सकेको जानकारी आएको भण्डारीले बताए।

‘कतिपयले गरेपनि जानकारी आउन बाँकी होला,’ उनले भने, ‘हालसम्म ९० पालिकाले कृषि र गैह्र कृषि छुट्याएको जानकारी आएको छ।’

उनका अनुसार मन्त्रालयले अन्य पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजिकरण गरिहेको छ।

कलंकी मालपोत कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद गौतम पनि मंसिरमा थोरै संख्यामा जग्गाको कारोबार बढेको बताउँछन्।

‘अलिअलि बढेको छ तर सबै पालिकाले जग्गाको वर्गीकरण गरिनसकेकाले उल्लेख्य रूपमा बढ्न सकेको छैन,’ उनले भने।
चुनाबमा रोकिएका कारोबार अहिले भएकाले पनि मंसिरमा कारोबार बढेको हुनसक्ने जानकारहरू बताउँछन्।

‘जग्गाको कारोबार हुन सुरू भएको मान्न चाहिँ सकिँदैन,’ एक घरजग्गा व्यवसायीले भने, ‘सुरू भएको मान्नलाई बजारमा तरलता सहज भइसकेको छैन। केही पालिकाले जग्गा वर्गीकरण सकेकाले थोरै बढेको हो।’

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।

कलंकी कार्यालयबाट मंसिर ५ सय ५३ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।

दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट मंसिरमा ४ सय २४ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।

चाबहिल मालपोत कार्यालय मंसिरमा तीन सय ४९ संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।

त्यस्तै, मनमैजु कार्यालयबाट मंसिरमा दुई सय ८१ संख्यामा घरजग्गा कारोबार भएको छ। असोज र कात्तिकमा घरजग्गा कारोबारै भएको छैन। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।

डिल्लीबजार कार्यालयबाट मंसिरमा एक सय ४६ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।

टोखा कार्यालयबाट कात्तिकमा एक सय ५५ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *