अर्थ

भारतीय ट्रकको मनपरी रोक्न माग गर्दै आन्दोलन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

भैरहवा — मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् ।

भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गररहेको जनाउँदै ट्रक यातायात व्यवसायीका संस्थाले शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका हुन् । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीको र्‍यालीले नाकास्थित भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थियो ।

कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिए ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ ।

महासंघका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय ट्रकले अधिक भारत बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरीतको तौल घटाउन लगाउनु पर्छ,’ विरोधसभामा उनले भने, ‘तर, यहाँ जरिवाना अशुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरीले झन धरासायी बनेको बताए । ‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत वस्तु भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी वस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ ।

जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ त्यसैले मुलुकमा भारतीय ट्रकको निर्वाध आवागमन र अधिक भार बहन नियन्त्रण गर्न माग गरिरहेको उनले बताए । ‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए ।

यातायात व्यवसायी महासंघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरी बारे वर्षौंदेखि सुनुवाइ नहनु दुखद् भएको बताए । नेपाली प्रशासन र सरकार यस विषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए ।

‘अहिले हामीले विरोधसभा गरेर माग सुनुवाइका लागि दबाब दिएका हौं,’ उनले भने, ‘तत्काल माग सुनुवाइ नभए भारतीय ट्रक रोक्ने र हाम्रा ट्रक भन्सारमा खडा गर्ने चेतावनी दिन्छु ।’ कोरोना महामारीबाट थलिएका व्यावसायीलाई बैंकको ताकेताले अत्याइरहेको अवस्थामा राज्यबाट राहत उपलब्ध गराउने कार्यक्रम नहुनु चिन्ताको विषय भएको बताए ।

‘एकातिर व्यवसाय चलाउनै कठिन छ,’ उनले भने, ‘अर्को तर्फ बैंकको किस्ता बुझाउने ताकेताले व्यवसायीको मनोदशा विक्षिप्त बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *