राजनीति

संसदमा ३२ सिट भएका प्रचण्डले कसरी गर्दैछन् ६० सिटको दाबी ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो पक्षमा ६० भन्दा बढी सिट भएको दाबी प्रस्तुत गरिरहेका छन् । गत मंसिर ४ गते भएको आम निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा ३२ सिट मात्रै ल्याएको हो । तर, प्रचण्डले आफ्नो पक्षमा ६० सिट सुरक्षित भएको भन्दै गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावपछिको नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्ने भद्र सहमति भएको दाबी गरिँदै आएको छ । तर, संसदीय चुनावको अंकगणितमा माओवादी थोरै सिटमा खुम्चिएपछि कांग्रेसले चुनावअघि भएको भद्र सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री दिन आनाकानी गर्दै आएको छ ।

त्यतिमात्रै होइन, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनुपर्ने अडान राखेको छ ।  यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री पद हरहालतमा लिन प्रचण्ड गृहकार्यमा जुटेका छन् । गत मंसिर २८ गते कास्कीमा आयोजित एक कार्यक्रममा प्रचण्डले अब देशको नेतृत्व गर्ने अवस्थामा पुग्न लागेको बताएका थिए । ‘अब मसँग धेरै समय छैन । तपाईहरुको आशीर्वाद लाग्यो, तपाईहरुको माया र शुभकामनाले काम ग-यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ प्रचण्डले भने, ‘अब देशको नेतृत्व गर्ने अवसर पाएमा अत्यन्तै राम्रो हुने अठोट गरेको छु ।’

पहिलो कार्यकाल सरकारको नेतृत्व गर्दा बुझ्न नपाउँदै सकिएको बताउँदै प्रचण्डले अब दीर्घकालसम्म सम्झिने काम गर्ने प्रतिवद्धता जनाए ।

प्रचण्डले दाबी गरेको ६० सिटमा को को छन् ?

प्रतिनिधिसभामा माओवादीको ३२ सिट छ । यस्तै नेकपा एकीकृत समाजवादीको १० सिट, प्रभु साह नेतृत्वको समूहको ३ सिट, जसपाको १२ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट (१ स्वतन्त्रसहित), जनमत पार्टीको ६ सिट, राष्ट्रिय जनमोर्चाको एक सिट रहेको छ । यी सबैले आफूलाई समर्थन गर्ने प्रचण्डको हिसावकिताव छ । यसरी यी सबै पार्टी जोड्दा प्रचण्डको हिसाव कितावमा कुल ६० भन्दा बढी सिट हुन आउँछ ।

यहीआधारमा प्रचण्डले बारम्बार ६० सिट आफ्नो पक्षमा भएको भन्दै प्रधानमन्त्रीको दाबी छोड्न मानेका छैनन् । तर, प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट भएको दाबी गरे पनि ती दलहरुले भने फरक फरक विचार व्यक्त गरेका छन् ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले गठबन्धनबाट सरकारको नेतृत्व गर्ने विषयमा सहमति गरिने बताए । ‘अहिले कांग्रेस पहिलो पार्टी भएकाले प्रधानमन्त्री दाबी गर्न सक्छ । कांग्रेसको संसदीय दलको नेता जो हुन्छ, उही प्रधानमन्त्री हुन सक्छ,’ चौधरीले भने, ‘तर, गठबन्धनमा पावर सेयरिङका विषयमा निर्णय हुने भएकाले त्यसपछि प्रधानमन्त्री सहित अरु पदको टुंगो लाग्छ ।’

तर, प्रचण्डले भावी प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न भने नसकिने चौधरीले बताए । राजनीतिमा सबैले आ–आफ्नो पद दाबी गर्न पाउने स्वतन्त्रता भएको उनको भनाइ छ ।

यस्तै जसपाका प्रवक्ता मनिष सुमनले प्रचण्डले जसपालाई समेत आफ्नो पक्षमा राखेर प्रधानमन्त्री दाबी गर्नु आफ्नो स्वतन्त्रता भएको टिप्पणी गरे । ‘प्रचण्डजीले आफूसँग ६० सिट भएको दाबीलाई आफै पुष्ट्याई गर्नुहुन्छ । हामी कसैले भनेको भरमै जाने भन्ने हुँदैन ।’

यो चुनावमा जसपाले एमालेसँग तालमेल गरेको थियो । उक्त तालमेल निर्वाचनसँगै निष्तेज भएको उनले बताए । उनले भने, ‘भविष्यमा तालमेल गर्न हामीसँग सर्तहरु छन् । ती सर्तप्रति सामिप्य हुनेसँग तालमेल हुन्छ ।’

संविधान संशोधन, निर्वाचन प्रणाली र शासकीय स्वरुपको परिवर्तन लगायतका मुद्दालाई सर्त बनाएकाले ती सर्त पूरा हुनेसँग सहकार्य हुन सक्ने सुमनले बताए । यदि जसपाले ल्याएको सिट संख्या कुनै दल वा नेताले गन्छ भने शुभकामना मात्रै दिन सक्ने उनले बताए । जसपाले प्रतिनिधिसभा निर्वाचनमा कुल १२ सिट मात्रै जित्न सफल भएको छ ।

यस्तै जनमत पार्टीका महासचिव चन्दन सिंहले पार्टी अध्यक्षले सौहार्दपूर्ण वातावरणमा नेताहरुलाई भेटघाट गरेकाले सत्ता सहकार्यको विषयमा छलफल प्रवेश नै नभएको जिकिर गरे । पार्टीले व्यक्ति किटेर समर्थन गर्ने वा नगर्ने निर्णय नभएको सिंहले बताए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले पनि सत्तामा जाने विषयमा कुनै पार्टी वा नेतासँग छलफल नभएको बताए । पार्टीको मुद्दा प्रमुख भएकाले सत्ताका विषयमा केही निर्णय नभएको थारुले बताए ।

यस्तै प्रभु साह तत्कालीन माओवादी नेता भएकाले प्रचण्डसँगै निकट छन् । एमाले छोडेपछि प्रभु माओवादीकै जोडवलमा सांसदमा निर्वाचित भएका थिए । त्यसैले प्रचण्डले प्रधानमन्त्रीको नेतृत्व गर्ने अवस्थामा साहले सघाउने अपेक्षा गरिएको छ ।

प्रभुले पार्टी बनाउने अभियानमा लागेकाले सत्ताको विषयमा बाहिर बोलेका छैनन् । साहले पार्टी बनाएर पछि माओवादीसँग एकता गर्ने भएकाले प्रचण्डलाई सघाउने नेताहरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *