समाचार

खुलामञ्च : चौर मात्रै हैन, खुलापनको प्रतीक हो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं – २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइराला खुलामञ्चमा उभिए, उपस्थित जनसागरसक्षम उनले निर्दलीय व्यवस्थाको आलोचना गर्दै बहुदलीय व्यवस्था पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किएका बीपीले त्यही मञ्चबाट पञ्चायती सरकारलाई दीर्घकालीन महत्वका निर्णयहरु नलिन र लिए बहुदल आएपछिको सरकारले त्यसलाई निरन्तरता दिन नसक्ने बताए ।

जनमत संग्रहको नतिजा बीपीको अपेक्षाअनुरुप भएन, तर उनको त्यही कार्यक्रमपछि खुलामञ्च नेपाली जनताको विचार अभिव्यक्त हुने मञ्चका रुपमा चिनिन पुग्यो । तत्कालीन राजनीतिक व्यवस्था र अवस्थाविरुद्ध खुलामञ्चमै कार्यक्रम हुन थाले । खुलामञ्चमा नागरिक असन्तुष्टि गुञ्जायमान भएपछि पञ्चहरुले पनि त्यही मञ्चलाई पञ्चायती व्यवस्थाको पक्षमा प्रयोग गरे ।

२०४६ को जनआन्दोलनपछि दलहरुले खुलामञ्चमै विजयसभा आयोजना गरे । ०६२/६३ को जनआन्दोलनको विजय उत्सव पनि यहीँ मनाइयो । सशस्त्र द्वन्द्व छाडेर शान्ति प्रक्रियामा आएपछि नेकपा -माओवादी) र मधेस आन्दोलनबाट उदाएका दल र नेताहरुले पनि खुलामञ्चबाटै आफ्ना मुद्दा र योजनाहरु सार्वजनिक गरे ।

खुलामञ्चको खुलापनको सबभन्दा बढी सदुपयोग संविधान निर्माणका क्रममा भयो । त्यतिबेला साना-ठूला सबै राजनीतिक समूह वा दलले आफ्ना एजेन्डा उठाउने थलो खुलामञ्चलाई बनाए । सैनिक मञ्चसँग जोडिएको खुलामञ्च जनआवाज प्रस्फुटित हुने स्थल बन्न पुग्यो ।

अस्तित्वमा प्रश्न

तर, अब भने खुलामञ्चको अस्तित्व नै के हुन्छ भन्न प्रश्न उठेको छ । किनकि काठमाडौं महानगरपालिकाले खुलामञ्चमुनि ३ तले पार्किङ बनाउने योजना बनाएको छ ।

मेयर बालेन्द्र साहले पानी रिचार्ज हुने ‘रिभर्स बोरिङ’सहित भूमिगत पार्किङ बनाउने प्रस्ताव नगरसभाबाट पारित गराएका छन् । नगर विकास कोषले अध्ययन गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने छ ।

मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालका अनुसार, अहिले भूमिगत संरचना निर्माणको लागि आन्तरिक तयारी चलिरहेको छ । ‘फोहोर, झाडी हटाएर बाहिरी सतह सम्याइएको छ,’ उनले भने, ‘अब त्यसमुनि संरचना बनाएर महानगरको पार्किङ समस्या हटाउने योजना हो ।’

महानगरको यो योजनाले खुलामञ्चलाई ‘जनताको मञ्च’ मान्नहरुको मथिंगल भने बिथोलिएको छ । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभागका प्रा.डा. पुष्पराज अधिकारी निर्दलीय पञ्चायती व्यवस्थामा पनि खुलामञ्चमा जनतालाई आफ्नो विचार राख्ने अधिकार सुरक्षित भएको बताउँछन् । ‘टुँडिखेलको खुलामञ्च नेपालीले आफ्नो विचार राख्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने ठाउँ रहिआएको सर्वविदितै छ’, उनी भन्छन्, ‘यसरी विचार निर्माण गराउने सार्वजनिक थलो मास्ने कुरा लोकतन्त्रमा बुझिनसक्नु भयो ।’

रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म फैलिएको विशाल टुँडिखेलमा किशोरकालीन उछलकुद् गरेका नागरिक अभियन्ता डा.देवेन्द्रराज पाण्डे काठमाडौं सहरले ताजा स्वास लिने फोक्सोको रुपमा रहेको यो सार्वजनिक स्थललाई खुलामञ्चमा सीमित गरिएकोमै दिक्क छन् ।

‘अहिले आएर त्यति बचेको खुलामञ्च पनि कंक्रिटको तावामा राख्नु विल्कुलै बुद्धिमानी होइन’, उनी भन्छन्, ‘खुलामञ्च एक टुक्रो जमिन मात्रै होइन, यो त काठमाडौंको सम्पदा, संस्कृति, राजनीतिक चेतना र खुलापनको प्रतीक हो ।’

सैनिक मञ्चबाट शहीदगेटतर्फको टुँडिखेलमा कार्यक्रम गर्न जनताले सेनाको स्वीकृति लिनुपर्छ । ‘हिति प्रणाली’ पुस्तकका लेखक पद्मसुन्दर जोशी सामाजिक, सांस्कृतिक, राजनीतिक र वातावरणीय महत्वको टुँडिखेलमा केही काम गर्दा जनसमर्थन पाउन पारदर्शी निर्णय र सार्वजनिक बहस हुनुपर्ने बताउँछन्

उनका अनुसार, नेपाली जनअसन्तोषको बिर्को खुल्ने ठाउँ हो, खुल्लामञ्च । पञ्चायती कालदेखि नै साना-ठूला जनसंघर्ष र आन्दोलन घोषणा हुने गरेको खुलामञ्च एकप्रकारले राजनीतिक तीर्थस्थल हो ।

टुँडिखेल ऐतिहासिक कालदेखि नै धार्मिक-सांस्कृतिक महत्व बोकेको सार्वजनिक क्षेत्र रहेको डा.पाण्डे बताउँछन् । ‘कालान्तरमा यसमा राजनीतिक महत्व पनि जोडियो’, उनी भन्छन्, ‘खासगरेर पञ्चायती व्यवस्थाको सुरुवातसँगै यो ठाउँको संरक्षक नै भक्षक हुन थाले । लोकतन्त्रमा पनि यही प्रवृत्ति देखिनु खेदजनक छ ।’

डा. पाण्डे लगायत नागरिक अभियन्ताहरु विभिन्न सामाजिक-राजनीतिक परिवर्तनको साक्षी खुलामञ्चलाई कसैगरी मास्न नहुने बताउँछन् । इतिहास, संस्कृति, वातावरण, कानुन र सम्पदा क्षेत्रका विज्ञहरु यसमा एकमत छन् ।

‘सिंगो टुँडिखेल’ अभियानमा रहेका अधिवक्ता सञ्जय अधिकारी खुलामञ्चमुनि पार्किङ बनाउने महानगरको योजनालाई नागरिक स्वतन्त्रतामाथि प्रहारका रुपमा बुझ्नुपर्ने बताउँछन् । ‘खुलामञ्च एक टुक्रा जमिन मात्रै नभएर नेपाली प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्रतीक पनि हो’, उनी भन्छन्, ‘शहरमा पार्किङ सुविधा बढाउने नाममा यस्तो प्रतीकमाथि गरिने हमला कसैलाई पनि मान्य हुन सक्तैन ।’

निरन्तर हमला, जग भत्काउने प्रयास

संरक्षण अभियानमा लागेका विज्ञहरुका अनुसार, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजना टुँडिखेल अतिक्रमण गर्ने विगतकै निरन्तरता हो । ‘त्यत्रो टुँडिखेल अहिले यत्रो भयो,’ ८३ वर्षीय डा. पाण्डे भन्छन्, ‘हाम्रा शासकहरूलाई जनताले श्वास फेर्ने ठाउँ राख्नुपर्छ भन्ने चेत नै भएन ।’

राजा महेन्द्रको पालामा टुँडिखेलको खरीको बोटसहितको डबली मासियो । बीच भागमा बारबेरसहित सैनिक मञ्च र रत्नपार्क बनाइयो । बागबजारतर्फको टुँडिखेलमा बिजुली अड्डा (नेपाल विद्युत प्राधिकरण) र बसपार्क राखियो ।

बचेको खुलामञ्च व्यापारीलाई बुझाएको महानगरको अघिल्लो नेतृत्वले त्यहाँ व्यवसायिक अन्डरग्राउन्ड पार्किङ योजना पनि बनाएको थियो । तर, २०७२ वैशाखको महाभूकम्पमा हजारौंलाई आश्रय दिएपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना गलत सावित भएको थियो ।

पुरानो बसपार्कमा २९ तले भ्यूटावर बनाउन ०७१ माघमा ठेका लगाएको महानगरपालिकाले त्यही कम्पनी जलेश्वर स्वच्छन्द बिकोइलाई खुलामञ्चभित्र ४५ भन्दा बढी व्यावसायिक सटर र बसपार्क चलाउन दिएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्य र कर्मचारीसँग मित्रता कायम गरेका ठेकदार मनोज भेटवालले धमाधम सटर बनाएर भाडामा लगाउन थालेका थिए ।

सर्बत्र विरोध भएपछि त्यो ठेक्का तोडियो तर खुलामञ्चबाट बसपार्क सरेन । बरु बसपार्कको लागि रातारात ढलान गरियो । बाँकी भागमा बिभिन्न ठेकेदार कम्पनीले प्रिफ्याब घर र गोदामदेखि क्रसर प्लान्टसम्म चलाए । खुलामञ्चको संरक्षण गर्नुपर्ने काठमाडौं महानगरको राजनीतिक नेतृत्व र कर्मचारी एकपछि अर्को कमिसनको लोभमा पर्दै गएपछि नागरिक तहबाट ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भयो ।

परिणाम्, ०७७ फागुनमा खुलामञ्चबाट बसपार्क हटाउन वाध्य भयो, महानगर । ठेकदार कम्पनीहरुका संरचना पनि पन्छायो, तर त्योसँगै गेटमा ताल्चा मार्यो । बालेन्द्र साह मेयर भएपछि नगरवासीका लागि खुलामञ्च खुल्ने अपेक्षा थियो, तर उनले १० असार २०७९ मा ल्याएको वाषिर्क बजेटमै भूमिगत पार्किङ बनाउने योजना पर्यो । अहिले त नगरसभाबाट योजना पारित पनि गराएका छन् ।

अभियन्ताहरुले खुलामञ्च छिटो खुला गर्न माग गरिरहँदा तिहारभरिका लागि न्युरोडमा जाने सवारीको पार्किङ गर्न खुलामञ्चको ताला खुल्यो । तिहार सकिनासाथ फेरि ताल्चा ठोकेर मेयर साहले निर्माण प्रक्रिया अघि बढाउन नगर परिषदलाई अध्ययन गर्ने जिम्मा दिए ।

पार्किङका लागि अन्य विकल्पहरु हुँदाहुँदै पनि महानगरले खुलामञ्च ताक्दा ‘नागरिकको समाउने हाँगो नै भाँचिने’ नागरिक अभियन्ताहरुको टिप्पणी छ । ‘जनताको सेवा सुविधाको प्रवर्द्धनमा काम गर्नुपर्ने निकायहरू नै जिम्मेवार बनेनन्,’ पाण्डे भन्छन्, ‘संरक्षण गर्नुपर्ने खाली ठाउँहरूलाई नै मास्ने काम भइरहेको छ ।’

देशमा सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण ‘जसले पायो, उसले भ्यायो’ को अवस्था रहेको उनी बताउँछन् । पाण्डेको प्रश्न छ, ‘सेनाले पाए सेनाले ताल्चा मार्ने, व्यापारीले पाए व्यापारीले ताल्चा मार्ने, सर्वसाधारण कहाँ जाने ?’

सैनिक मञ्चबाट शहीदगेटतर्फको टुँडिखेलमा कार्यक्रम गर्न जनताले सेनाको स्वीकृति लिनुपर्छ । ‘हिति प्रणाली’ पुस्तकका लेखक पद्मसुन्दर जोशी सामाजिक, सांस्कृतिक, राजनीतिक र वातावरणीय महत्वको टुँडिखेलमा केही काम गर्दा जनसमर्थन पाउन पारदर्शी निर्णय र सार्वजनिक बहस हुनुपर्ने बताउँछन् ।

‘महानगरमा सबैले आशा गरेको नेतृत्व आउँदा पनि सनकको भरमा निर्णय गर्ने कुरा मलाई ठीक लागिरहेको छैन,’ जोशी भन्छन्, ‘अहिले खुलामञ्चमा पार्किङ बनाउने कुरा विल्कुलै हचुवामा आएको छ ।’

पार्किङको चुनौती समाधान गर्न सार्वजनिक यातायात व्यवस्थापनदेखि ‘कोर सिटी’मा पैदल हिंड्ने व्यवस्था गर्नेसम्मको विकल्प खोज्नुपर्ने उनी सुझाउँछन् । उनी भन्छन्, ‘भित्री शहरमा पैदल गरे त्यहाँको जनजीवन पुरानै रहेर संस्कृति, सम्पदा र इतिहास संरक्षणमा सहयोग पुग्छ ।’

योजनाविद् पिताम्बर शर्मा महानगरपालिको यस्तो योजनासँग आफ्नो कुनै सहानुभूति र समर्थन नरहेको बताउँछन् । वातावरण, सहरी यातायात व्यवस्थापन र खुला क्षेत्रको संरक्षण कुनै पनि हिसाबले यो योजना वैज्ञानिक र व्यवहारिक नहुने उनको टिप्पणी छ ।

संसारभर नै प्रजातान्त्रिक मुलुकका शहरहरुमा सभा सम्मेलन गरेर वाक तथा अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न मिल्ने पार्क र स्थलहरु हुने गरेको भन्दै योजनाविद शर्माले नेपालमा विगतमा खुलामञ्च पनि त्यस्तै स्थलमा रुपमा रहेको स्मरण गरे ।

‘बेलायतको हाइडपार्कमा एउटा ‘स्पिच कर्नर’ भन्ने छ, जो मान्छे गएर त्यहाँ जे भनेपनि हुन्छ । संसारका धेरैजसो शहरहरुमा यस्तो ठाउँमा व्यवस्था छ,’ उनले भने, ‘हामीकहाँ खुलामञ्चले त्यस्तो काम गरिरहेको थियो । जमघट गर्नु पनि पाइन्थ्यो, विरोध गर्नु परेपनि विरोध गर्ने ठाउँ थियो ।’

शहरले मान्छेको वाक् स्वतन्त्रतालाई बचाउ गर्नुपर्ने भन्दै शर्माले त्यस्ता स्थललाई निमिट्यान्न पार्दा वाक स्वतन्त्रतामै खलल पुग्ने बताए । ‘विगतमा खुला मञ्चमा विभिन्न बहानामा संरचनाहरु राखेर खुलामञ्च जेका लागि प्रयोग हुनुपर्थ्यो, धेरै वर्षदेखि त्यो भएकै छैन,’ उनले भने, ‘राज्यले यसो गर्न मिल्दैन, खुला रुपमा वाक स्वतन्त्रताको उपयोग गर्न बाटो दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *