डडेल्धुराबाट चुनाव लडेका सागर ढकालको निर्वाचन खर्च ८ लाख बढी

डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन्।

सो विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएको जनाएका छन्। जसमा उनले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन्।

सो कार्यालय व्यवस्थापनमा ८० हजार ९ सय ११ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्। होटलमा बस्न, खानमा उनले २ लाख ७५ हजार १ सय ७ रुपैयाँ खर्च भएको बताएका छन्।

स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रुपैयाँ खर्च भएको उनको भनाइ छ।

पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०, काठमाडौंदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन्।

ढकालले सो रकम सहयोगबापत आफूले प्राप्त गरेको भनेका छन्।

सामाजिक सञ्जालमा ढकालले सार्वजनिक गरेको खर्च विवरणमा १ देखि १०० रुपैयाँ दिने ५०० जना रहेको बताएका छन्।

यस्तै, १ सयदेखि १ हजार दिने ९ सय जना रहेको ढकालले भनेका छन्।

ढकाललाई १ रुपैयाँ दिने २ जना र १० रुपैयाँ दिने ८ जना रहेको उल्लेख छ।

‘खासमा यो पैसा होइन, यो पैसासँग दाँज्न नमिल्ने माया हो। म नतमस्तक छु हजुरहरूले देश बनाउने युवाहरूलाई आत्मादेखि समर्थन गरिदिनुभएकोमा,’ उनले लेखेका छन्।

चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *