कांग्रेसले फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने आसमा विद्या भण्डारीसँग पराजित कुमारी लक्ष्मी ( ‘अब फेरि राष्ट्रपतिको निर्वाचन हुने बेलामा बोलाउलान् नि ?’

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निर्वाचनमा पराजित भएकी भोजपुरकी कुमारी लक्ष्मी राईले पार्टीले अबको राष्ट्रपति निर्वाचनमा पुनः सम्झने विश्वास व्यक्त गरेकी छिन् । उनलाई राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो ।

आफू हार्छु भन्ने जान्दा जान्दै काँग्रेसले उम्मेदवार बनाएपनि प्रतिस्पर्धामा होमिएको र अहिले अवस्था फेरिएर जित्ने अवस्था भएकाले काँग्रेसले पुनः सम्झने उनको विश्वास छ । ०७४ सालमा दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यसबेला भण्डारीले ३९ हजार २७५ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिस्पर्धी बनेकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । विद्यादेवीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए । नेपाली काँग्रेसबाट दोस्रो संविधानसभाकी सदस्य बनेकी कुमारी लक्ष्मीलाई नेपाली कांग्रेसले उम्मेदवारका रुपमा अघि सारेको थियो ।

हाल उनी भोजपुरको भोजपुर नगरपालिका ८ नम्बर वडा पोखरेमा घरमै बसिरहेकी छिन् । ‘हार्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवारको लागि बोलाए । अब फेरि राष्ट्रपतिको निर्वाचन हुने बेलामा बोलाउलान् नि ?,’ कुराकानीका क्रममा उनले भनिन्, ‘मैले अंग्रेजीमा एमए गरेको छु । अन्तर्राष्ट्रिय क्षेत्रमा डिल गर्न सक्छु । मेरो श्रीमान् युएनमा काम गर्दा अन्य राष्ट्रका मानिसहरूसँग मैले पनि काम गरेको छु । मसँग अन्तर्राष्ट्रिय ज्ञान पनि छ ।’

०७४ सालको निर्वाचन हुनुभन्दा अगाडि उनले समानुपातिक सांसद भएकाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष मन्त्री बनाउन माग गरेकी थिइन् । ‘मैले शेरबहादुर दाइलाई मलाई मन्त्री बनाउनुहोस्, राम्रोसँगले मन्त्रालय चलाउँछु, तपाईंको इज्जत बढाउँछु भनेको थिएँ, उहाँले पनि प्रयास गर्छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘मन्त्री बनाउने हो भने चुनाव लड्छु भनेको थिएँ । नबनाए पछि चुनाव पछि लडिनँ ।’ सभापति देउवाले ०७४ सालको निर्वाचनमा उनलाई समानुपातिकमा राख्ने प्रस्ताव गरे । मन्त्री नबनाएको झोंकमा उनले आफू समानुपातिकमा पनि नबस्ने र चुनाव पनि नलड्ने र ग्रेसफुल्ली म रिटायर्ड हुन्छु भनेर भोजपुर लागिन् ।

पछि विद्यादेवी भण्डारीलाई नेकपाले राष्ट्रपतिमा पुनः दोहोर्याउने हुँदा काँग्रेसले भने राष्ट्रपतिमा उनै कुमारी लक्ष्मी राईलाई प्रतिस्पर्धा गराउने निर्णय गर्यो । रिटायर्ड हुन्छु भनेर भोजपुर फर्किएकी उनलाई त्यसबेला राष्ट्रपति पदले फेरि काठमाडौंले तान्यो । ‘सहिदको छोरी भएर पार्टीलाई चाहिँदा नआउने भनेपछि काठमाडौं जानु परेन त ? हारिन्छ भन्ने त थाहा थियो । तर, पार्टीलाई म चाहिने फिल गरेको रहेछ भन्ने ठानेर म गएँ,’ उनी भन्छिन् ।

राष्ट्रपतिमा पराजित भएपनि आफूले भोजपुरका १५ वटा स्कुलमा असल मानिस कसरी बन्ने, स्वस्थ कसरी बन्ने, शान्ति कसरी पाइन्छ ? भन्ने जस्ता शीर्षकमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थी लक्षित कार्यक्रम गरिरहेको उनी बताउँछिन् । ‘म भोजपुरका मान्छे असल हुन्, राम्रा हुन्, स्वस्थ रहुन भन्ने चाहन्छु । सुरु तलैदेखि गर्नुपर्छ त्यही भएर स्कुलमा कार्यक्रम गर्न थालेको छु, अहिले पनि त्यही कार्यक्रमलाई निरन्तरता दिइरहेको छु,’ उनी भन्छिन्, ‘वृद्धभत्ता जम्मा गर्दैछु, त्यो आएपछि अझै अरू स्कुलहरुमा जाने मेरो विचार छ ।’ स्कुलमा कार्यक्रम नहुँदा घरमा फूल गोड्दै आनन्दसँगले बसिरहेको उनी बताउँछिन् । उक्त कार्यक्रम चलाउँदा लाग्ने खर्च आफैंले गरिरहेको उनी बताउँछिन् ।

 

विद्या भण्डारी र कुमारी लक्ष्मी राई

७४ बसन्त पार गरेर ७५ मा हिँडिरहेकी उनी शेरबहादुर भन्दा आफू एक डेढ वर्ष कान्छो मात्रै भएको बताउँछिन् । आफू मन्त्री नहुनुको कारण सुनाउँदै उनले भनिन्, ‘मैले शेरबहादुर दाइलाई मलाई मन्त्री बनाउनु होस्, राम्रोसँगले मन्त्रालय चलाउँछु, तपाईंको इज्जत बढाउँछु भनेको थिएँ, उहाँले पनि प्रयास गर्छु भन्नुभएको थियो । अनि मैले त्यो कुरा काँग्रेसकै नेता कुमार बुढाथोकीलाई पनि शेरबहादुर दाइलाई मन्त्रीको प्रस्ताव गरेको छु दाइ भनेर जानकारी गराएँ । उहाँले सभापतिलाई मात्रै भनेर हुँदैन भन्नुभयो । मैले कसलाई भन्नु त भनेर सोधें । त्यसको जवाफमा कुमार दाइले भन्नुभएको थियो । पशुपतिको दर्शन गर्न जाँदा साँढेको दर्शन गर्नुपर्छ कि पर्दैन भन्नुभयो, मैले पर्छ भनें । उहाँले अनि शेरबहादुर वरिपरि बस्ने साँढेलाई भन्नु पर्दैन ? भन्नुभयो । उहाँले सबै वरिपरि बस्ने ८–१० जनाको नाम पनि भन्नुभयो । त्यहाँ बस्नेहरु सबै म भन्दा कान्छो र जुनियर भएको कारण मैले बरू मन्त्री बन्दिनँ यिनिहरुलाई भन्दिन म सिनियर हुँ भने । त्यसपछि म पनि मन्त्री बनिन ।’

राजनीति डर्टी गेम बनाए

विपी कोइरालाले राजनीतिलाई ‘आर्ट अफ लाइफ’ भनेको स्मरण गर्दै उनी विपी कोइरालाकै भाइ र आफन्तले राजनीतिलाई ‘डर्टी गेम’ बनाएको बताउँछिन् । ‘विपीलाई एक जना मानिस भेट्न मैले नै लगेको थिएँ । त्यसबेला त्यो मानिसले विपी कोइरालालाई सोधेका थिए । मिस्टर विपी कोइराला पिपुल चाहिँ पोलिटिक्स इज ए डर्टी गेम भन्छन् । ह्वाट डु यु थिंक भनेका थिए । त्यसबेला विपीले आइ थिंक पोलिटिक्स इज द फाइनेस्ट आर्ट अफ् लाइफ भन्नु भएको थियो,’ उनी भन्छिन्, ‘त्यसपछि उहाँको मार्गदर्शन बमोजिम म पोलिटिक्सलाई फाइन आर्ट बनाउने प्रयासमा लागेको हुँ । विपीको आफ्नै भाइले र परिवारले पनि पोलिटिक्सलाई डर्टी बनाए र फाइन आर्ट बनाउने प्रयास गरेनन् ।’

उनी आफ्नो दर्शन राजनीति भनेको सेवा हो भन्ने रहेको बताउँछिन् । ‘राजनीति भनेको कमाउने भाँडो होइन । केनरीले भनेको आजकालका केटाकेटीले बुझ्दैनन् । तर उनले के भनेका थिए भने, ‘आक्स नट ह्वाट द कन्ट्री क्यान डु फर यु, आस्क ह्वाट यु क्यान डु फर द कन्ट्री’ पार्टीको लागि गर्ने हो । पार्टीले के गर्यो भनेर बस्ने होइन । देशका लागि गर्ने हो देशले के दियो भन्ने होइन,’ उनी सुनाउँछिन्, ‘मैले अहिलेसम्म पार्टीलाई योगदान दिइरहेकै कारण रिवार्ड आइरहेको छ । म आफू पार्टी पोलिटिक्समा छैन भन्दा पनि पार्टीले जितोस् ठूलो होस् भन्ने सद्भाव चाहिँ राख्छु । मैले पार्टीको कुनै पद भने चाहिएन भनेको छु ।’

आफूले राष्ट्रपतिमा पराजित भएपछि काँग्रेस नेता प्रकाशमान सिंहकोे घरमा गएर सहानुभूति लिएको घटना सुनाउँदै उनी आफ्नो राजनीतिक कर्मप्रति सन्तोष व्यक्त गर्छिन् । त्यसबेला प्रकाशमान सिंह पनि काँग्रेसको संसदीय दलमा हारेका थिए । दुवै जना हारेपछि पारिवारिक सम्बन्ध भएको कारण सिंहको घरमा उनी सहानुभूति दिन–लिन पुगिन् । त्यसबेला राईले प्रकाशमान सिंहलाई सोधिन्, ‘मेरो चाहिंँ नाम हार्नेबेलामा किन प्रस्ताव गरेको ?’ उक्त प्रश्नमा प्रकाशमान सिंह मौन रहे ।

को हुन् कुमारी लक्ष्मी राई ?

२००६ साल वैशाख २१ गते भोजपुर छिनामुखुमा जन्मिएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । देवानसिंह राई भने २०१५ सालमा भोजपुरबाट निर्वाचित सांसद बनेका थिए भने विपी कोइरालाले नेतृत्व गरेको सरकारका सहायक मन्त्री समेत बनेका थिए । देवानसिंहको पञ्चायतकालमा मोरङको बयरवनमा भएको झोडाकाण्डमा हत्या भएको थियो ।

उनै देवानसिंहकी छोरी लक्ष्मी राई भने २०३० सालदेखि काँग्रेसको सक्रिय राजनीतिमा लागेको भएपनि लामो समय राजनीतिमा गुमनाम जस्तै बनिन् । यद्यपि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकी थिइन् । ०७४ को निर्वाचनपछि उनलाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएको हो । लक्ष्मीका श्रीमान् देवेन्द्रकुमार राई हुन् भने उनीहरुका दुई छोरी र एक छोरा छन् । उनले काठमाडौंस्थित सेन्ट मेरिजबाट स्कुल शिक्षा सकेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *