प्राज्ञको इतिहास मेटाउने कार्य

केही दिनअघि नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईले सामाजिक सञ्जालमा ‘नेपाल प्रज्ञा प्रतिष्ठान अरूले देख्ने गरी दुई पटक भस्मासुर भएको देखियो’ लेखे । उनको यो भनाइ भर्खरै प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ माथि लक्षित थियो । नेपाली भाषाको मानक नेपाली बृहत् शब्दकोशलाई प्रज्ञाकै जागिरेहरूले प्रज्ञा थपेर आफैँ सम्पादक भई पहिलो संस्करणका रूपमा प्रकाशित गरेको प्रति उनको आक्रोश थियो । नेपाली भाषालाई माया गर्नेहरूले यस्तो प्रश्न गर्नु स्वाभाविक हो । उनले स्पष्ट पर्दै लेखेका छन्, ‘यसले २०७२ सालमा ‘नेपाली बृहत् शब्दकोश’ २०७२ मार्फत नेपाली भाषालाई तहसनहस पार्ने घृणित खेल खेलेको थियो एउटा भने अर्को चाहिँ २०७९ सालमा ‘नेपाली बृहत् शब्दकोश’लाई ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (प्रथम संस्करण) भनेर प्रायः काटीकुटी त्यही पहिलाकै शब्दकोशको फोटोकपी छापेर अर्को जघन्य अपराध गरेको छ ।’ यो कार्यले प्रज्ञाले नेपाली भाषाको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने वास्तविक प्राज्ञहरूको इतिहासलाई माटोमा मिलाउने काम गरेको छ । इतिहास भन्ने काम लाग्दैन, इतिहासको मूल्य छैन, जो आयो त्यो ठालु हुने भन्ने पद्धतिको विकास अहिले गरे, इतिहास मास्ने काम गरे भन्छन् उनी ।

अहिले प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९ मा पुरानै शब्दकोशमा केही शब्द थप गरिएको छ । नेपाली बृहत् शब्दकोश निर्माण गर्ने पहिलेका सम्पादक, सम्पादन मण्डलका सबै नाम हटाइएको छ । भन्नलाई यो नयाँ छुट्टै शब्दकोश भनिएको छ तर आधार चाहिँ त्यही २०४० लाई नै बनाइएको छ । पहिलेका सम्पादक मण्डलले तयार पारेको नेपाली बृहत् शब्दकोशमा ६२ हजार शब्द थिए । २०७५ सम्म आउँदा यसको दसौँ संशोधन भइसकेको छ । दसौँ संशोधनसम्म आउँदा सम्पादक मण्डलको नाम रहँदै आएकोमा थियो तर यस पटक भने पहिलेका सम्पादक मण्डलको नाम हटेको छ ।

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रज्ञा नेपाली बृहत् शब्दकोश निर्माणको थालनी २०६६ देखि नै भएको र २०७९ मा आएर सम्पन्न भएको भनिएको छ । प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९ नेपाली बृहत् शब्दकोश २०४० को जगमा तयार भएको हो । बालकृष्ण पोखरेल, वासुदेव त्रिपाठी, बल्लभमणि दाहालहरूले सम्पादन गरेको बृहत् नेपाली शब्दकोश २०४० कै जगमा तयार गरेको कुरा भूमिकाले नै प्रष्ट पारेको छ । नयाँ शब्दकोशमा १,२८,३४४ शब्द छन् तर त्यसमा ६२ हजार शब्द भने नेपाली बृहत् शब्दकोशबाट लिइएको हो । त्यसबाट शब्दहरु लिइए पनि करिब ४० वर्षपछि यस कोशबाट पहिलेका सबै सम्पादकहरूको नाम हटेको छ । यसका प्रधान सम्पादक निवर्तमान कुलपति अर्थात गङ्गा उप्रेती छन् । प्रज्ञा नेपाली बृहत् शब्दकोशले निकै विवाद ल्याएको छ ।

प्रज्ञाको विवाद यो पहिलो होइन । यसअघि नेपाली बृहत् शब्दकोश २०७२ संशोधन गरेर प्रकाशन गर्दा पनि निकै विवाद भएको थियो । त्यो विवाद सामना गर्न नसकी शब्दकोश फिर्ता लिई ग्राहकहरूलाई नयाँ शब्दकोश प्रज्ञाले थमाएको थियो । यसबाट राज्यको निकै ठूलो रकम क्षति भएको थियो ।

बृहत् नेपाली शब्दकोश अगाडि प्रज्ञा किन लेखियो ?

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बालकृष्ण पोखरेल, वासुदेव त्रिपाठी, बल्लभमणि दाहालहरूले निर्माण गरेको नेपाली बृहत् शब्दकोशमा केही शब्द थपेर प्रज्ञा नेपाली बृहत् शब्दकोश आफ्नै नाममा प्रकाशन गर्न नेपाली बृहत् शब्दकोशको अगाडि प्रज्ञा थपेको देखिन्छ । यस्तो कार्य गरेकोमा नरेन्द्रराज प्रसाई भन्छन्, “भाषाविद् बालकृष्ण पोख्रेल, वासुदेव त्रिपाठी, बल्लभमणि दाहाल, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा र हर्षनाथ भट्टराईको तपस्याले नेपाली बृहत् शब्दकोश जस्तो पवित्र ग्रन्थ नेपाली भाषाको मन्दिरले २०४० सालमा पाएको थियो ।” तर अहिले त्यो योगदान दिने भाषाविद्हरूलाई हटाएर केही शब्द थपेकै भरमा प्रथम संस्करण भनेर अरु नै विशेषज्ञ भएर पहिलो संस्करण भनेर प्रकाशित गरिएको छ । यो एकदमै गलत कार्य हो ।

एक पटक प्रकाशित भइसकेको शब्दकोश परिमार्जन हुन्छ, संशोधन हुन्छ । नेपाली बृहत् शब्दकोश पनि दसौँ संस्करणसम्म प्रकाशित भइसकेको छ । यो स्वाभाविक प्रक्रिया हो । “नेपाली बृहत् शब्दकोश नै नेपाली शब्दकोशको मानक ग्रन्थका रूपमा सुस्थापित छँदै थियो । त्यसमा ‘प्रज्ञा’ थपेर त्यसै शब्दको आडमा अर्को सम्पादक मण्डल कायम गरेर मात्र यति लामो इतिहास बोकेको शब्दकोश फेरि प्रथम संस्करण हुन्छ ?” प्रसाईं भन्छन्, “अहिले प्रज्ञाका जागिरेहरूले केही शब्द थपेकै भरमा आफैँ सम्पादक बनेर इतिहास मेटाउने काम गरे ।” यो निन्दनीय कार्यको भाषाप्रेमीहरूले उपचार खोज्नुपर्छ ।

प्रज्ञा प्रतिष्ठानले नै भाषाविद् बालकृष्ण पोखरेलको निर्देशनमा डा. बासुदेव त्रिपाठी, बल्लभमणि दाहाल, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा र हर्षनाथ भट्टराईको टोलीले २०४० सालमा नेपाली बृहत् शब्दकोशको निर्माण गरेका थिए । यो कार्य नेपाली भाषा मानकीकरणका लागि कोसेढुङ्गा सावित भएको थियो । बालकृष्ण पोखरेल, कोषराज रेग्मी, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मीले २०१३ सालदेखि बनारसमा नेपाली भाषाको मानकीकरण र स्तरीकरणका लागि अध्ययन, अनुसन्धान र लेखनमा लागेका व्यक्तित्वहरू हुन् । उनीहरूले नौलो पाइलो भन्ने पत्रिकामार्फत झर्रोवादी आन्दोलन सुरु गरेका थिए । उनीहरूले सुरु गरेको त्यो आन्दोलनलाई बालकृष्ण पोखरेलले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश निर्माण गरे । त्यो शब्दकोश दसौँ संस्करणसम्म प्रकाशित भइसकेको छ । करिब ६० हजार प्रति बिक्री वितरण पनि भइसकेको छ ।

नेपाली भाषामा यति योगदान दिने भाषाविद्हरूकै नामलाई अहिले प्रज्ञा नेपाली बृहत् शब्दकोशमार्फत धूलिशात पार्ने काम गरेको छ । किनभने नेपाली बृहत् शब्दकोश तत्कालीन सम्पादकमण्डलको सम्पत्ति हो ।

प्रज्ञा नेपाली शब्दकोशको निर्माणको आधार त्यही बृहत् नेपाली शब्दकोशलाई मानिएको, त्यही संरचना, त्यसैका हुबहु अर्थ, त्यसमा रहेका सबै शब्दहरू प्रयोग गरिएका छन् । नेपाली बृहत् शब्दकोशका करिब ६२ हजार शब्द प्रज्ञा नेपाली शब्दकोशमा परेका छन् । ‘नेपाली भाषाको एकभाषिक कोश परम्पारमा बालचन्द्र शर्माको सम्पादनमा तत्कालिक राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्दकोश (२०१९) र नेपाली बृहत् शब्दकोश (२०४०) मा सङ्कलित शब्दका हकमा तिनै कोश र अन्य शब्दका हकमा उपलब्ध प्रमाणका आधारमा शब्दको स्रोत खुलाइएको छ’ भनेर भूमिकामै भनिएको छ । त्यसैले यसमा पहिलेकै शब्दकोशमा केही हजार शब्द मात्र थपिएका हुन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रधानसम्पादक भनेर प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशमा विशेष सम्पादकमा प्राडा चूडामणि बन्धु, प्राडा माधवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद भट्टराई, प्रा जगतप्रसाद उपाध्याय, प्राडा हेमनाथ पौडेल विशेष सम्पादक र सम्पादकमा यज्ञेश्वर निरौला रहेका छन् ।

शब्दकोश परम्पारा बिगार्यो

प्रज्ञा नेपाली शब्दकोश २०६९ ले परिमार्जन तथा संशोधन परम्परालाई भत्काएको छ । यसले परिमार्जनपिच्छे नै सम्पादक मण्डल परिवर्तन गर्ने नराम्रो नजिर बसालेको छ । अब फेरि नयाँ व्यवस्थापन आएमा केही हजार शब्द थपेर नयाँ सम्पादकहरुले प्रकाशन गर्न सक्ने थिति बस्ने देखिन्छ । अब यसपछि संशोधन हुँदा प्रज्ञामा अरू प्राज्ञहरूले नयाँ सम्पादक मण्डल तयार गरी पुरानालाई हटाउने परम्परा स्थापित गर्न खोजेको छ । यसैबारे नरेन्द्रराज प्रसाई भन्छन्, कति हजार शब्द थप्दा नयाँ सम्पादक मण्डलको नाम आउँछ ? त्यसको मानक आधार के छ त ? नेपाली बृहत् शब्दकोशका अगाडि प्रज्ञा भन्ने शब्द किन लेखियो ? पहिले नेपाली बृहत् शब्दकोश थियो । अहिले प्रज्ञा लेख्ने आवश्यकता किन प¥यो ? प्रज्ञा प्रतिष्ठान त पहिला पनि त थियो । त्यस बेलादेखि योभन्दा अघिल्लो संस्करणसम्म पनि शब्दकोशका अगाडि प्रज्ञा त लेखिएन । यसले चलनचल्तीमा जानुपर्ने होइन र ?

प्रथम संस्करण भनिएको छ तर पहिलेको नेपाली बृहत् शब्दकोशको जगमा पनि भनेको छ । पहिलेको पनि प्रज्ञाले नै निकालेको हो । बालकृष्ण पोखरेलका पालामा कुलपतिलाई प्रधानसम्पादक भनेर राखिएन । त्यतिबेला पनि कुलपति, उपकुलपति र प्राज्ञहरू थिए । उनीहरूको नाम सम्पादक मण्डलमा किन परेन ? जो भाषाविज्ञहरू हुन्, जसले भाषाका क्षेत्रमा काम गरे उनीहरूको मात्र नाम त्यहाँ छ । अब त भाषा साहित्यमा पनि जसका हातमा डाडु पुन्यू प¥यो उसैले धेरै भात खान पाउने भन्ने पो भयो ।

त्यसैले यो परम्पराले पछि आउने पदाधिकारीले केही हजार शब्द थपेर नयाँ सम्पादक भनेर अहिलेका सबैलाई हटाउन सक्ने अवस्था आउँछ । शब्द त वर्षैपिच्छे परिवर्तन भइरहन्छन् । सालैपिच्छे परिवर्तित नलेखेर नयाँ नयाँ संस्करण लेख्दै जानुपर्ने भयो । संस्करण नै पिच्छे नयाँ सम्पादकको नाम लेख्दै जानुपर्ने हो ।

प्रतिलिपि अधिकारको हनन्

नेपाली बृहत् शब्दकोश तत्कालीन सदस्यहरू प्रा. बालकृष्ण पोखरेल, डा. बासुदेव त्रिपाठी, डा. बल्लभमणि दाहाल, उपप्रा. कृष्णप्रसाद पराजुली, सहप्रा. गोपीकृष्ण शर्मा र हर्षनाथ भट्टराईको अध्ययन, अनुसन्धान, छलफल र अथक मिहिनेतले तयार भएको हो । यसका लागि उनीहरूले लामो समय खर्चिएका छन् । तर त्यसरी तयार पारिएको कृति करिब ४० वर्षपछि केही शब्द थपथाप पारेर अर्कैको नाममा प्रकाशनमा ल्याइएको छ । प्रज्ञा नेपाली शब्दकोशको भूमिकामा कुलपतिले भनेका छन् ‘यो शब्दकोश प्रज्ञा प्रतिष्ठानबाट पूर्वप्रकाशित नेपाली बृहत् शब्दकोशको जगमा निर्माण भएको हो’ । यदि त्यही जगमा निर्माण भएको शब्दकोश हो भने अघिल्लो शब्दकोश निर्माणकर्ताको नामलाई थपक्क हटाएर किन आफ्नो नाम राखियो भन्ने प्राज्ञिक जगत्मा प्रश्न उठ्न थालेको छ । प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई प्रथम संस्करण भनेर नेपाली बृहत् शब्दकोशको सामग्री प्रायः यथावत् सारिएको भए यसलाई चोरी या डकैतीको मुद्दा लाग्न सक्छ या सक्तैन ? भनी नरेन्द्रराज प्रसाईले पनि प्रश्न उठाएका छन् ।

प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार नेपाली बृहत् शब्दकोशको आर्थिक अधिकार प्रज्ञा प्रतिष्ठानलाई भए पनि नैतिक अधिकार प्रथम सम्पादक मण्डलहरूमै निहित रहेको देखाउँछ । यो शब्दकोशको नैतिक अधिकारको रक्षा उनीहरू जीवित नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले नै संरक्षण गर्नुपर्ने हो । तर त्यसो हुन सकेन । यसबारेमा प्रतिलिपि अधिकार ऐनको दफा ८ मा भनिएको छ–

. कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई देहाय बमोजिमको नैतिक अधिकार प्राप्त हुनेछ ः

क) आफ्नो रचनाका प्रतिहरूमा वा आफ्नो रचना सार्वजनिक रूपमा प्रयोग गरिएमा त्यस्तो रचनामा आफ्नो नाम उल्लेख गर्न लगाउने,

ख) आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रूपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने,

ग) आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रूपमा प्रस्तुत गरी निजले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउने जस्ता कार्य रोक्ने,

घ) आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्ने ।

(२) उपदफा १ मा उल्लिखित अधिकार रचयिताको जीवनभर हस्तान्तरण गर्न कसैलाई इच्छाएको भए त्यसरी इच्छाएको व्यक्ति वा संस्था र त्यसरी इच्छाएको नभए नजिकको हकवालमा सर्नेछ ।

अबको बाटो

नेपाली बृहत् शब्दकोश २०४० नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो शब्दकोश हो । यो शब्दकोश निर्माणको विशेष र गर्विलो इतिहास छ । । नरेन्द्रराज प्रसाईं भन्छन्— “दसौँ संशोधनसम्म प्रकाशन गरेर यसका ६० हजार उपभोक्तालाई छलेर प्रथम संस्करण निकाल्ने कार्य कदापि ऐतिहासिक हुन सक्दैन । पहिलाको जसरी नै परिवद्र्धित, परिमार्जित, संशोधित भनेर लेखेजसरी लेख्नुपथ्र्र्यो । नयाँ शब्द थपिएका बारेमा कुलपति र उपकुलपतिको मन्तव्यमा खुलाउँदा पुग्थ्यो ।’’ पहिले ६० हजार शब्द थिए, समय सन्दर्भअनुसार थपेर डेड लाख पुर्यायौँ भनेर खुलस्त पार्दा अहिलेका प्राज्ञहरूको अझ उचाइ बढ्थ्यो । नेपाली शब्दकोश निर्माणको इतिहास यही हो । यसैलाई विकसित गर्दै ल्यायौँ, यो हाम्रो राष्ट्र र प्रज्ञा प्रतिष्ठानको गौरव हो भनेर लेखेको भए सबैको इज्जत हुने प्रसाईको भनाइ छ ।

तर अहिले उनीहरूले नयाँ संशोधन भएको भनेर देखाउन खोजिएको मात्र हो । “अरू १० लाख शब्द थपे पनि शब्दकोश त्यही हुनुपर्छ । त्यसैलाई मान्यता दिनुपर्छ । संशोधित र परिमार्जित भनेर जुन दसौं संस्करणसम्म आयो, त्यसरी नै लेख्दै जानुपर्छ । दसौँ संस्करणसम्म पनि यही प्रज्ञाले निकालेको त हो । त्यसमा किन परिवर्तित र संशोधित भनेर लेखिएको छ र भाषा साहित्यमा अहिलो यस्तो आपराधिक कृत्य हुन गयो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *