अस्ट्रेलियाबाट फर्केर देउरानी–जेठानीले खोलेको ‘सिटी-स्केप’

आशिका दाहाल र दीपना प्याकुरेल देउरानी–जेठानी हुन्। पाँच वर्षअघि अस्ट्रेलियाबाट फर्केका उनीहरूले काठमाडौंमा ‘सिटी-स्केप थकाली’ नाम राखेर एउटा रेस्टुरेन्ट चलाएका छन्।

पुतली सडकस्थित स्टार मलसँगै जोडिएको घरमा छ सिटी-स्केप थकाली। मध्य सहरमा भए पनि यो रेस्टुरेन्ट गाउँघरको झल्को दिने गरी सजाइएको छ।

रेस्टुरेन्टमा प्रवेश गर्दा पानीको झरना देखा पर्छ। भित्तामा मकै, कुभिन्डो इत्यादि ग्रामीण उपादन सजाइएका छन्। सिसाको दराजमा विभिन्न प्रकारका अचार र मसलाले सजावटको काम गरेको छ। आलु भुजुरी, मुलाको अचार, गुन्द्रुक, टिमुरको अचार, जिम्बु, छोप, मुस्ताङको आलु मसला इत्यादि दराजमा देखिन्छन्।

सिटी-स्केपका परिकारमा यिनै मसला राखिन्छ। आगन्तुकले मसला र अचार किन्न पाउने सुविधा छ। इच्छुकले सिटी-स्केपमा तस्बिर र भिडिओ खिच्न पाउँछन्। यहाँको हरियाली केही कृत्रिम भए पनि धेरै जसो प्राकृतिक छ।

‘सिटी-स्केपमा पुग्ने हरेक उमेरका ग्राहकले उपयुक्त परिवेश अनुभव गर्छन्,’ देउरानी आशिकाले भनिन्, ‘रेस्टुरेन्टमा चारवटा देशको परिवेश झल्किने गरी बस्ने ठाउँ बनाइएको छ।’

यस्तो सोच भने दीपनाको हो। उनले अस्ट्रेलियाको सिड्नीमा विभिन्न देशका संस्कृतिको झलक देखिने गरी रेस्टुरेन्ट सजाएको देखेकी थिइन्। दीपनाले यही अवधारणामा सिटी-स्केप सजाउने सोच बनाइन्। पारिवारिक सल्लाहपछि उनीहरूले चार देशको झलक आउने गरी सजाएका हुन्।

‘बाहिर सम्भव छ भने नेपालमा किन हुँदैन भन्ने लागेर यो कन्सेप्टमा डेकोरेसन गरेका हौं,’ जेठानी दीपनाले भनिन्, ‘हामीले चार वटा देशको नाम राखेका छौं र यहाँ बस्नेलाई महसुस पनि गराएका छौं भन्ने लाग्छ।’

यहाँ नेपाल, बेलायतको लन्डन, ग्रीस र अस्ट्रेलियाको झलक दिने सजावट छ।

लन्डन रूम’ मा एक पटकमा ६ जना बसेर खाना मिल्छ। त्यहाँ राखिएको रातो टेलिफोन सेट र राजाका सुरक्षाकर्मीले लन्डनको झल्को दिने दीपनाको भनाइ छ।

दायाँतर्फ अस्ट्रेलिया र बायाँतर्फ ग्रीस झल्काउने सजावट छ।

त्यस्तै सबैभन्दा माथि चौथो तलामा नेपाली सजावट छ। त्यहाँबाट काठमाडौं नियाल्न सकिन्छ। जाडो याममा घाम ताप्न ग्राहकहरू ‘नेपाल’ मा बस्न रूचाउने दीपनाले बताइन्।

रेस्टुरेन्टमा ‘लभ कर्नर’ पनि छ जहाँ कफी पिउने सुविधा छ।

सिटी-स्केपको मुख्य आकर्षण भने थकाली भन्सा नै हो।

पुतली सडक ठूलो व्यावसायिक क्षेत्र भएकाले बिहानैदेखि काममा व्यस्त रहनेलाई लक्षित गरेर रेस्टुरेन्ट खोलिएको उनीहरू बताउँछन्।

‘सिटी-स्केपमा मिठो र अर्गानिक खाना पस्केका छौं,’ आशिकाले भनिन्, ‘कौसीमा हरियाली वातावरणमा बसेर घाम ताप्दै खाना खाने सुविधा छ।’

यहाँ एकै पटकमा १५० जनाले सेवा पाउन सक्छन्। अधिकांश ग्राहकले थकाली खाना खोज्छन्। रेस्टुरेन्टमा मल्टी-किचन छ जहाँ थकाली खानासँगै अन्य परिकार पाक्छ। धेरै पाइने भने नेपाली परिकार नै हो। कुनकुन परिकार राख्ने भनेर आशिका र दीपनाले लामो अध्ययन गरेका थिए।

‘सिटी-स्केपको विशेषता विभिन्न स्वादका परिकार हुनु पर्छ भन्ने सोचले दिदीबहिनी विभिन्न ठाउँ पुगेर अध्ययन गर्‍यौं,’ दीपनाले भनिन्, ‘यसमा हामीलाई केही महिना लाग्यो।’

आगन्तुकले खोज्ने र धेरै मन पराउने स्वाद खोजी गर्न उनीहरू दुईलाई घरका सदस्यले समेत सघाएका थिए। उनीहरूले स्थानीय परिकार काठमाडौं ल्याए। बनाउने तरिका सिके र त्यसमा गर्न सकिने परिमार्जन खोजे।

‘स्थानीय परिकार खुवाउँछु भनेर मात्रै हुँदैन, त्यसको सबै पक्ष जान्नु पर्छ,’ आशिकाले भनिन्, ‘धेरै ठाउँमा पुगेर हामीलाई मन परेको परिकार र स्वाद सिटी-स्केपमा ल्यायौं।’

 

उनका अनुसार माझीकुनाको माछाका परिकार, नौडाँडाको भालेका परिकार, रौतहटको कटिया, चितवनको तास, ताप्लेजुङको फाक्सा, पूर्वेलीको पक्कु, नेपालगञ्जको बिरयानी र मुस्ताङको आलु सिटी-स्केपका मुख्य नेपाली परिकार हुन्। यीमध्ये पनि माझीकुनाको माछा, रौतहटको कटिया र पूर्वेली पक्कु बढी रूचाइएको छ।

माझीकुनाको माछा सिटी-स्केपमा ल्याउनुअघि आशिका र दीपना पोखरा गएका थिए। बेगनास ताल पारि गएर माछा खाँदा मन परेपछि त्यही स्वाद यहाँ पस्केका हुन्। यस्तै रौतहट पुगेर कटिया रोजे। पूर्वी नेपालका केही ठाउँ घुमेर पूर्वेली पक्कु बनाउन सिके।

आशिका र दीपना आगन्तुकसँग सुझाव पनि लिन्छन्। रेस्टुरेन्टमा १६ जना कर्मचारी छन्। उनीहरूलाई पाहुनाको सत्कारदेखि अरू आवश्यक तालिम यहीँ दिइन्छ। उनीहरू अर्गानिक र सिटी-स्केप विशेष स्वाद पस्किन लागि परेका छन्।

आशिका र दीपना हाल बुढानीलकण्ठमा एउटै घरमा बस्छन्। बिहान ९ बजे घरबाट निस्केपछि बेलुका १० बजेसम्म रेस्टुरेन्टमै व्यस्त हुन्छन्। विदेशमा कामको अनुभव लिएका उनीहरूको नेपालमा काम गर्ने तरिकाबारे धेरै फरक अनुभव छ।

‘विदेशमा सबै समान हुन्छन्, जसले पनि जे काम पनि गरिरहेको हुन्छ। काममा लाज हुँदैन। नेपालमा त्यस्तो छैन। हाकिम भएर बस्ने धेरै छन्,’ आशिका र दीपनाको एक स्वर छ, ‘हाकिम भएर बस्ने होइन, कर्मचारीसँगै रमाएर काम गर्ने माहोल बनाउनु पर्छ।’

यी दुईलाई परिवारको पनि राम्रो साथ र सहयोग छ। हरेक दिन रेस्टुरेन्टको गुणस्तर बढाउँदै जाने विषयमा पारिवारिक छलफल हुन्छ।

सिटी-स्केपको एक वर्षे अनुभवबाट उनीहरू निकै उत्साहित छन्। आफ्नो व्यवसायको भविष्य फराकिलो छ भन्नेमा पनि ढुक्क देखिएका छन्। रेस्टुरेन्ट ग्राहकको रोजाइमा पर्न गुणस्तरीय खाना, नयाँ स्वाद, रमणीय वातावरण र उचित मूल्य मुख्य पक्ष रहेको उनीहरूको अनुभव छ। यसैअनुसार नयाँ परिकार र सजावटमा ध्यान दिँदै भविष्यमा सुविधायुक्त रिसोर्ट खोल्ने सोचाइमा छन् उनीहरू।

यी दुवै बिहेपछि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पुगेका थिए। सिड्नीमा बसे, दीपना नौ वर्ष र आशिका साढे चार वर्ष। दुवैले हस्पिटालिटी क्षेत्रमा काम गरे। सुरूदेखि नै दुवैको रोजाइको क्षेत्र भएकाले काम गर्दै जाँदा देउरानी–जेठानीको पनि पोयो मिल्यो।

‘दिदी र मेरो काम गर्ने क्षेत्र एउटै, ठाउँ मात्र फरक थियो,’ आशिकाले भनिन्, ‘हामीले त्यति बेलै हस्पिटालिटी क्षेत्रमै केही काम गर्न पर्छ भन्ने सोच बनाएका थियौं।’

 

सन् २०१८ मा ६ महिनाको फरकमा उनीहरू परिवारसहितै फर्के। दाजुभाइले बिजनेस आइडिया बनाए। देउरानी–जेठानीले रेस्टुरेन्टको योजना बनाए। योजनाअनुसार काम भएको भए त हालसम्ममा सिटी-स्केप थकाली चलेको तीन वर्ष हुने थियो। कोरोना लकडाउन भएपछि काम सुरू गर्ने साइत पछि सर्दै गयो। साइत धकेलिए पनि उनीहरूलाई व्यवसायबारे सोच्ने र धेरै खोजी गर्ने समय मिल्यो।

यति धेरै रेस्टुरेन्टको भिडमा ग्राहक कसरी तान्ने? मुख्य प्रश्न यही थियो।

लकडाउनले दिएको फुर्सदमा उनीहरूले युट्युबमा देश–विदेशका रिसोर्ट र रेस्टुरेन्टहरूबारे खोजे। अन्ततः केही न केही नयाँ दिएर ग्राहक तान्न सक्छौं भन्नेमा विश्वस्त भए।

‘कोभिडकै बेला लगानी गर्ने र केही नयाँ दिने योजना बनायौं,’ आशिकाले भनिन्, ‘यो क्षेत्रको प्रतिस्पर्धामा नयाँ सिर्जनाको खोजी गर्‍यौं।’

अन्तिम निर्णयपछि दुई वर्षअघि उनीहरू रेस्टुरेन्ट निर्माण र सजावटको काममा लागे। करिब आठ महिनामा काम सकियो। परिकार लगायत सबै तयारी भएपछि गत वर्ष कात्तिकमा सिटी-स्केप थकाली सुरू भएको हो।

आशिकाले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नात्तकोतर पूरा गरेकी छिन्। दीपना अहिले ट्राभल एन्ड टुरिजममा स्नात्तकोतर गर्दै छिन्। आफ्नो पढाइले पनि व्यवसायी बन्न मद्दत पुगेको उनीहरूको अनुभव छ।

यी देउरानी–जेठानीको व्यावसायिक सफलता मात्र होइन, उनीहरूको मिल्ती पनि परिवारजन र आफन्तका लागि खुसीको कुरा भएको छ। व्यावसायिक कुरामा बहस हुन्छ तर मनमुटाव भएको छैन।

‘कहिलेकाहीँ दिदीको कुरा बहिनीलाई मन पर्दैन, बहिनीको कुरा दिदीलाई मन पर्दैन। त्यस्तो बेला एकआसपासमा छलफल र परिवारमा सल्लाह गर्छौं,’ हाँस्दै आशिका भन्छिन्, ‘नाताले हुँदैन, व्यवसाय राम्रो हुने निर्णय लिएर अघि बढ्ने हो।’

दीपना र आशिका दुवै घरका एक्ला छोरी हुन्। त्यसकारण पनि उनीहरू एकअर्कालाई दिदीबहिनी जत्तिकै माया गर्छन् रे।

‘मैले दिदी पाएँ, उहाँले बहिनी,’ आशिकाले भनिन्, ‘भगवानले नै तिमीहरू मिलेर गरी खानू भनेर हामीलाई देउरानी–जेठानी बनाइदिनुभएको होला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *