खेलकुद

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 काठमाडौँ, २५ साउन (रासस) :  
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन ।  
 
टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोक्नुभएको थियो भने समापनमा स्वयंसेवकले बोकेका थिए । टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए ।  
 
टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो । यस्तै चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरेको छ ।  
 
यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्टे«लिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे ।  
 
दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो । दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रहनुभयो । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाउनुभयो । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो ।  
 
सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल स्पर्धामा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । परियारले त्यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाउनुभएको थियो । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । परियार सागमा चौथो हुनुभएको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो ।  
 
पौडी खेलाडी एलेक्स शाहले टोकियोमा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नुभयो । पुरुष १०० मिटर फ्रिस्टाइलमा उहाँले निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गर्नुभयो । त्यसअघि उहाँको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाउनुभएको थियो ।  
 
यसैगरी पौडीकै गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा आफ्नो कीर्तिमानमा सुधार गर्नुभयो । उहाँले महिला १०० मिटर फ्रिस्टाइलमा एक मिनेट ११ सेकेण्डको कीर्तिमान बनाउनुभयो । त्यसअघि सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक मिनेट ५६ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो । टोकियो ओलम्पिकमा उहाँ अर्को चरणमा भने पुग्नसक्नु भएन ।  
 
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको थियो । महिला १०० मिटर दौड उहाँले १२ दशमलव ९१ सकेण्डमा पूरा गर्नुभएको थियो । उहाँले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नुसक्नुभएन । त्यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिनुभएको थियो । यस्तै जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित हुनुभयो । यही साउन ८ गतेदेखि शुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो ।  
–––  

Leave a Reply

Your email address will not be published. Required fields are marked *