राष्ट्रिय समाचारसमाचारस्वास्थ्य

अक्सिजन सिलिण्डर अभाव हुन नदिन पूर्वतयारी   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

वाग्मती, ३० वैशाख (रासस)

वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा कोभिड–१९ का बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक पूर्वतयारी थालेको छ । जसका लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट हेटाँैडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा अक्सिजन व्यवस्थापन समिति गठन गरी व्यस्थापनको काम अघि बढाएको हो ।

उक्त समितिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलीपकुमार श्रेष्ठ, हेटौँडास्थित तीनवटै अक्सिजन सप्लायर्सका प्रमुख सदस्य रहेका छन् । सो समितिले हेटाँैडा अस्पताललगायत जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजनको आँकलन एवं नियमित आपूर्तिको व्यवस्था मिलाउने र सोको जानकारी दैनिकरूपमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउने छ ।

उक्त समितिले जिल्लाभित्र हेटौँडा अस्पताललगायत निजी स्वास्थ्य संस्थामा कोभिड–१९ को बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन आवश्यक सरोकारवाला निकायसँग समन्वय गरी अक्सिजन व्यवस्थापन गर्ने छ ।

जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमणदर बढ्दै जाँदा आवश्यक स्वास्थ्यकर्मी र उपचारका निम्ति आवश्यक आइसीयू शय्या अभाव देखिएको हुँदा जिल्लाभित्र सञ्चालन रहेका औद्योगिक प्रतिष्ठानले उद्योग सङ्घ मकवानपुरसँग समवन्य गरी स्वास्थ्य पूर्वाधारहरु (भेन्टिलेटर, आइसीयू, एसडीयू, (शय्या तथा अक्सिजन सिलिण्डर) व्यवस्थापन सहजीकरण गर्न सबै उद्योग प्रतिष्ठानलाई अनुरोध गरिएको छ ।

निषेधज्ञा थप कडा

वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा यसअगाबै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई आगामी जेठ १ गते शनिबारबाट थप कडा बनाइने भएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये चार स्थानीय तहमा वैशाख २० गतेबाट वैशाख ३१ गतेसम्म जारी निषेधाज्ञा लम्बिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आगामी जेठ १ गतेबाट थप हुनेगरी जेठ १३ गतेसम्म दोश्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरिएको हो । हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरि गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । जसअनुसार प्रत्येक बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिनमात्र खुल्नेछन् । मासु पसलहरु खोल्न पाइने छैन ।

यसैगरी तरकारीहरु बिक्रीका लागि होम डेलिभरीको व्यवस्था मिलाउन आवश्यक व्यवस्था प्रशासनबाट हुने, बसपार्कको तरकारी होलसेल पसलमा अनलोड मात्र गर्न पाइने, गाडीबाट अन्य क्षेत्रमा डेलिभरी दिने मात्र सुविधा पाइने र बसपार्कमा भीडभाड गर्न नपाइने जनाइएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले गएको वैशाख २० गतेबाट वैशाख ३१ गतेसम्म मकवानपरको हेटौँडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरि गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाँबायाँ पाँच÷पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी राखेको थियो ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *