राष्ट्रिय समाचारसमाचार

सेवानिवृत्त कर्मचारी सम्मानित   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सिन्धुली, १५ साउन (रासस) :

यहाँ सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ । आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई सम्मान गरेको हो ।

शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ का अवसरमा जिल्लामा रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीलाई सङ्गठनले सम्मान गरेको बताइएको छ । सेवानिवृत्त हुनुभएका राष्ट्रसेवक कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

न्यौपानेले नियम कानूनका आधारमा सेवा लिन आउने जनतालाई केन्द्र विन्दुमा राखेर कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले निर्धारण गरेको कर तिर्न तयार रहने जनता र तिनै जनताको करबाट सेवासुविधा लिने कर्मचारीले नागरिकलाई सन्तुष्ट पार्दै सेवा प्रवाह गर्न सक्नु पर्दछ ।”

सो अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले अक्षयकोषको स्थापना गरेको छ । रु एक लाख एक हजारको कोष स्थापना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । कुनै पनि कर्मचारीको दुर्घटना वा मृत्यु भएमा रु २५ हजार, दुर्घटनामा घाइते भएमा उपचार खर्च रु १५ हजार, रु १० हजार थप उपचार खर्च र गम्भीर प्रकृतिको रोग लागेमा रु १० हजार सहयोग गरिने उहाँको भनाइ छ ।

सङ्गठनमा आबद्ध सदस्यले वार्षिक रु ५० तिर्नुपर्ने उहाँले बताउनुभयो । यस कोषले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी विपद्मा परेका विपन्न नागरिकलाई पनि सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *