राष्ट्रिय समाचारसमाचार

पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

दुर्गा देवकोटा, टीकापुर, २० असार (रासस) :

कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् ।

जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । सत्र वटा बाख्राबाट व्यावसायिकरूपमा बाख्रापालन शुरु गर्नुभएका प्रकाशसँग अहिले ५६ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि आफ्नो व्यवसायमा सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । “अब बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पाएँ । अब समय व्यवस्थापनमा सहयोग पुग्छ”, विकले भन्नुभयो, “व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । हाम्रो समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।”

विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो । वडा नं ६ का जगत् साउदले पनि पाँच वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहनुभएको छ । अहिले साउदको खोरमा ३५ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने मेसिन पाएपछि उहाँ पनि खुशी हुनुभएको छ । “पाँच वर्षदेखि यही व्यवसाय गरिरहेको छु । घरमै बसेर व्यवसाय गर्दा घरकै सदस्यले काम गर्न सकिने भएकाले यो व्यवसाय सहज छ”, साउदले भन्नुभयो, “घाँस काट्ने मेसिन र दाना बनाउने मेसिन आवश्यक थियो । हाम्रो आवश्यकतालाई पालिकाले सम्बोधन गरेको छ ।”

तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया अब पालिकाको सहयोगपछि यो व्यवसायमा थप टेवा पुग्ने बताउनुहुन्छ । “पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ”, कठरियाले भन्नुभयो, “यसले हामीलाई थप प्रोत्साहन मिलेको छ ।” दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाले सहयोग गरेको बताउनुभयो । “हामी आगामी दिनमा पनि सहयोग गर्छौँ, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “कृषिमा लागेकाहरुले सहयोग नपाउने कुरै हुँदैन, हामी सबैखाले सहयोग गर्न तयार छौँ, यहाँहरुको माग आउनुप¥यो ।”

उपाध्यक्ष उमा महतोले व्यावसायिकरूपमा काम गरिरहेका किसानको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो । “थप व्यवसाय विस्तार गर्न र आयआर्जन वृद्धिमा सहयोग पुग्नेछ”, महतोले भन्नुभयो, “अन्य युवालाई पनि यसले हौसला थप्नेछ ।”

पशु सेवा शाखा प्रमुख नरबहादुर कार्कीले शाखाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । “हामीले व्यवसाय गरिरहेकालाई सघाएका छौँ, मेसिन मात्र होइन, अन्य खाले सहयोगका कार्यक्रम पनि छन् । उपचारदेखि सबैखाले सहयोग गरिरहेका छौँ”, कार्की भन्नुहुन्छ, “व्यवसाय थप फस्टाओस् भन्ने हो । हामी अनुगमन गर्छौँ ।”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *