राष्ट्रिय समाचारसमाचार

नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सिमकोट, साउन (रासस) :

नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताउनुभयो । प्रमुख कार्कीले भन्नुभयो, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो ।

कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गर्नुभएको थियो । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताउनुभयो । कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो । सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।

कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।

चारवटा गाउँपालिका सडक सञ्चालनमा जोडिए

हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

दक्षिण क्षेत्रका नागरिकले अन्तरजिल्ला जोडिन तथा जिल्लाबाहिर जानका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोटमा दुई÷तीन दिन बसेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताउनुभयो । यहाँका नागरिकले पिठ्यूँमा भारी बोक्नुपर्ने अवस्था र घोडा तथा खच्चडबाट सामग्री ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष फडेराले बताउनुभयो ।

जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु–खुलालुबाट सलीसल्लासम्मको १४२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गरिने आयोजना प्रमुख लामाले बताउनुभयो । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्लासम्म यातायात सञ्चालन हुने भएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *