राष्ट्रिय समाचारसमाचारस्वास्थ्यहेडलाइन

पर्वतको जलजलामा २० शय्याको कोरोना अस्पताल सञ्चालन   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

पर्वत, २६ वैशाख (रासस) :

जिल्लाको जलजला गाउँपालिकाका २० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ । जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ शय्यामा अक्सिजन जडान गरिएको छ भने बाँकी शय्याका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ ।

गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना सङ्क्रमण देखिएकामा सक्रिय सङ्क्रमित ३५ रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

तीमध्ये २९ जना होम आइसोलेशनमा रहेका छन् भने छ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन् । जलजलाले निर्माण गरेको अस्पतालमा अहिले एक जना उपचाररत रहेको मल्लले जानकारी दिनुभयो । अब गम्भीर खालका बिरामीबाहेक अन्यलाई गाउँपालिकाकै अस्थायी अस्पतालमा राखेर उपचार गर्न सकिने मल्लको भनाइ छ ।

अस्थायी अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक चिकित्सक र अन्य स्थानीय स्वास्थ्यचौकीमा कार्यरत अनमी र नर्सलाई चौबीसै घण्टा परिचालन गरिने भएको छ । “हामीसँग पर्याप्त अक्सिजनको व्यवस्था छैन, विभिन्न निकायसँग माग गरेका छौँ, अक्सिजन पर्याप्त भए पनि अस्पतालमा जस्तोसुकै बिरामी पनि भर्ना गर्न सकिन्छ”, मल्लले भन्नुभयो । सिफारिस गर्नुपर्ने बिरामीलाई पनि अक्सिजन सिलिण्डरसँगै सिफारिस गर्न सकिने गरी व्यवस्थापनमा जुटेको मल्लले बताउनुभयो ।

गाउँपालिकाले यसअघि कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाकै स्वामित्वमा रहेको एउटा एम्बुलेन्स पनि भएकाले बिरामीका लागि सवारी अभाव नहुने मल्लले बताउनुभयो । उपचारभन्दा पनि सचेतना महत्वपूर्ण रहेकाले अहिले सञ्चारमाध्यम तथा अन्य माइकिङ, पम्प्लेट, घरदैलोलगायतका सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग

जलजला गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेर आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो । पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग१झ ४२२ नंको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *