राष्ट्रिय समाचारसमाचार

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, १५ असार (रासस) :

गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ ।

गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको हो । उहाँ स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी हुनुभएको थियो ।

कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधि पनि वितरण गरिएको थियो । सो अवसरमा योगगुरु किशोरकुमार जोशीले योग गराउनुभएको थियो । सामाजिक अभियानकर्मी राजेश प्रधानले उपस्थितलाई सकारात्मक सोचको ऊर्जा प्रदान गर्ने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी नगरपालिकाको ठैवमा निरा गृहिणी समाजको सक्रियतामा स्थानीयबासीलाई गुर्जोको बिरुवा तथा यसबाट बनेको चिया तथा धुलो सेवा गरिएको थियो । यो सेवा विशेषगरी कोरोना प्रभावितलाई दिइएको हो ।

पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सहभागिता थियो ।

कार्यक्रमको समन्वय पाँचखाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा समाजसेवी दिलबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।

विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० हजार गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा राजलवटले बताउनुभयो । यस वर्ष पनि करिब नौ हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।

निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय लहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रूपमा निःशुल्क वितरण अभियानमा उहाँ लाग्नुभएको हो । हाल धुलिखेलमा सरुवा भएपछि पनि उहाँले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहनुभएको छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उहाँ बताउनुहुन्छ । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रूपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले आवश्यक पर्नेले देशभर तोकिएका १२१ केन्द्रबाट गुर्जोबाट बनेको चिया र धुलो लिन सक्ने अभियानकर्मी राजलवट बताउनुहुन्छ । यी केन्द्र हाल देशभरका ३६ जिल्लामा स्वयंसेवी रूपमा शुरु गरिएको छ । अन्य जिल्लामा पनि स्वयंसेवीका रूपमा गुर्जो बाँड्न चाहने अभियानकर्मीले सेवा गर्न सक्ने जनाइएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *