राष्ट्रिय समाचारसमाचार

विद्युत् विस्तारको माग राख्दै अनशन   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

बैतडी, १५ असार (रासस) :

गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बस्नुभएको छ । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहनुभएको छ । उहाँहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन शुरु गर्नुभएको हो ।

गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।”

मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उहाँहरुको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उहाँहरुको माग छ । माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनीसमेत दिइएको छ ।

यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताउनुभयो । मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।” यसअघि आइतबारमात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *