राजनीति

पूर्वराजालाई सुझाव: ‘फेरि राजा बन्ने सपना नदेखे हुन्छ’

Advertisements
MAHABAI RURAL MUNICIPALITY

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरेको विज्ञप्तिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उक्त विज्ञप्तिमाथि पूर्वप्रधानमन्त्रीदेखि आम राजनीतिक कार्यकर्ताले टीकाटिप्पणी गरेका छन्।

पूर्वराजाको उक्त अभिव्यक्तिको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत आलोचना गरेका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई ‘पुरानो झल्कोले अझै नछाडेको’ भन्दै टिप्पणी गरे। उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, दुईचारजना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ।’ मुलुकको अवस्था बिग्रिएको भन्ने शाहको भनाइका सन्दर्भमा अध्यक्ष ओलीले २४० वर्ष शासन चलाउने राजसंस्थाले देश कहाँ पुर्याएको थियो ? भनी प्रतिप्रश्न पनि गरे। ‘अहिले त १५ वर्ष न भयो जनताले शासन हातमा लिएको, २५० वर्ष त खाएको छैन नि,’ उनले भने। पूर्वराजासँग कुनै पनि किमिसको सहकार्य हुन नसक्ने उनले बताए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राजसंस्थासँग विगतमा नेपाली जनताले सहकार्यको असफल अभ्यास गरिसकेकाले त्यो दोहोरिन असम्भव रहेको दाबी गरे। ‘राजसंस्थासँग जनताले पटकपटक सहकार्य गर्न खोजेकै हुन्। के भयो ? सबै शक्ति हातमा लिएर तानाशाह लाद्ने नै मोह देखियो। त्यसैले त्यो अध्याय सकियो,’ उनले भने, ‘नेपाली जनता अब अघि बढिसके। जनताले चाहेको र देशले खोजेको व्यवस्था यही हो। यहीअनुसार अघि बढ्छ।’ फेरि राजसंस्था ब्यूँतन्छ र आफू पुरानै शक्तिशाली राजा हुन्छु भन्ने सपना नदेख्न पूर्वराजालाई उनले सुझाए। ‘पूर्वराष्ट्रप्रमुख र एक नागरिकको हैसियतले देशका वर्तमान समस्यालाई समाधान गर्ने विषयमा सहकार्य गर्न खोजेको हो भने अन्य नागरिकसरह उहाँलाई पनि हक छ,’ प्रवक्ता महतले भने।

एमाले सचिव योगेश भट्टराईले पूर्वराजाले नागरिकको हैसियतले बस्नुपर्ने बताए। उनले भने, ‘एक नागरिकको हैसियतले सम्मानपूर्वक बाँच्न पाउने हक उहाँलाई छ। सोहीअनुसार बसून्। यस्ता अभिव्यक्ति स्वीकार्य हुन्नन्।’ पुराना दलले नराम्रो गर्दा विकल्पमा नयाँ दल आउने उनी बताउँछन्। ‘इतिहास पछाडि फर्किन्न। पुराना दलले नराम्रो गर्दा राजसंस्था फर्किन्न। नयाँ दल आउँछन्,’ भट्टराईले दाबी गरे। सानसौकतले बसेको बहालवाला राजासँग नडराएका नेपाली दल र जनता पूर्वराजाको हैसियतले थन्किएको व्यक्तिसँग नडराउने पनि सचिव भट्टराईले बताए।

‘जसको हातमा सिंगो देशको शक्ति थियो। आर्मीपुलिसको पहरा थियो। जो हिँड्दा सयौं कोससम्म गेट बन्थे, सिँगारपटार हुन्थ्यो, जयजयकार हुन्थ्यो, त्योसँग नडराएका नेपाली दल अहिले यही निरीह व्यक्तिसँग डराउने कुरै हुन्न,’ उनले भने, ‘मेचीकिनारमा एक चटकेले लगेर रमाइलो गरिहाल्दा धेरै उत्साहित भएर उफ्रिए उहाँ आफै संकटमा पर्नुहुन्छ।’

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति अस्वाभाविक रहेको बताए। ‘यस्ता किसिमका अभिव्यक्ति दिएर धमिलिएको खोलामा कतै माछा पर्छ कि भन्ने आशयले उहाँले बोल्ने कुरा स्वाभाविक छैन,’ उनले भने, ‘पुरानो दिशामा मुलुक जाने कुरा अब असम्भव छ। बरु यही बिन्दुबाट संविधानको मर्मअनुसार अघि बढ्छ।’ नेपाली जनताको लामो संघर्षबाट लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ भन्ने निष्कर्ष निकालेर वर्तमान व्यवस्था स्थापित गरिएकाले यहीबाट अब अघि बढिने उनले बताए।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वराजालाई सम्झनाका लागि पहिचान कायम रहेको बताउँदै अस्तित्वमा नरहेको राजसंस्था नसम्झन आग्रह गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहज्यू, यो देशमा राजसंस्था अस्तित्वमा छैन। पूर्वराजाको सम्झनाका लागि यहाँको पहिचान कायम छ। नागरिकको सहकार्यमा नै लोकतन्त्र बलियो हुन्छ।’

ज्ञानेन्द्रले शनिबार प्रजातन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै मुलुक कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको टिप्पणी गरेका थिए। शासनसत्ताको बागडोर दोहोरिँदै तेहरिँदै गए पनि देशको समृद्धिमा दलहरूले कुनै योगदान नदिएको आरोप लगाउँदै उनले देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेता फसेका बताएका थिए।

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *