तीन वर्षमा नागढुंगा–सिस्नेखोला सुरुङ ७० प्रतिशत खनियो
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणकाे ठेक्का अवधि सकिन पाँच महिना बाँकी छँदा यसको भौतिक प्रगति ४६.२६ प्रतिशत छ । मुख्य र आपतकालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किमिमध्ये अहिलेसम्म ३ दशमलव ८५९ किमि खनिसकिएको छ । यो सुरुङ निर्माण थालेको ३ वर्ष भएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि मध्ये १.७११ किमि खनिएको आयोजनाका उपआयोजना निर्देशक माधवप्रसाद अधिकारीले बताए ।
‘ठेक्का लिने कम्पनीले अबको चार महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्छौं भनेका छन्,’ अधिकारीले भने, ‘त्यहीअनुसार दुई सिफ्टमा काम भइरहेको छ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको सुरुङको ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डोले गरिरहेको छ । आयोजनाका अनुसार धादिङ र काठमाडौं दुबैतिर सुरुङ खन्ने काम जारी छ ।
अहिलेसम्म धादिङतर्फबाट मुख्य सुरुङ ८७८ र काठमाडौंतर्फ ८३२ मिटर सुरुङ खनिसकिएको छ । त्यस्तै आपत्कालिन सुरुङ धादिङतर्फबाट ९०२ र काठमाडौंबाट १०४५ मिटर खनिसकिएको छ । ‘समग्रमा सुरुङ खन्ने काम ७० प्रतिशत सकिसकेको छ,’ अधिकारीले भने, ‘अन्य पूर्वाधार निर्माणको काम पनि सँगसँगै भइरहेकाले आयोजनाको समग्र प्रगति कम देखिएको हो ।’
कुनै समस्या नआए ०८० साउनमा सुरुङबाट गाडी चल्ने आयोजनाको दाबी छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, ग्यास बुलेटहरूले भने आवतजावत गर्न पाउनेछैनन् ।