राष्ट्रिय समाचार

ग्वार्को चोकमा यस्तो बन्दैछ ओभरपास

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौं –चीन सरकारको सहयोगमा विस्तारित चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्रमध्ये एक हो, ग्वार्को चोक । त्यही ठाउँमा शुक्रबारदेखि फ्लाइओभर (ओभरपास) को निर्माण सुरु भएको छ । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ ।

ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य चार लेन (फास्ट ट्रयाक)मा र्‍याम्प (भिरालो बाटो) बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गर्न काम सुरु भएको हो । यसले गर्दा चक्रपथको सवारी व्यवस्थापन करिब एक वर्षसम्म प्रभावित हुनसक्ने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाउनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ ।

४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जसस् समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिंगरोड वारीपारी गर्ने सवारीहरु विनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् ।

बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

सडक विभागले २७ माघ, २०७८मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । ४ महिनाभित्रै ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाइसक्ने गरी खरिद सम्झौता भएको थियो ।

इन्जियिरिङ प्रक्रयोर्मेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अनुसार ठेक्का लागेपछि इन्जिनियरिङकै काममा ठेकदार कम्पनीले १० महिना समय लगायो । अब निर्धारित समयअनुसार काम भएमा अबको १४ महिनाभित्रै ओभरपास बनिसक्नुपर्छ ।

यो परियोजना निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले लिएको छ । अनुमानित लागतभन्दा करिब ३८.८ प्रतिशत कम मूल्यमा यो कम्पनीले ठेक्का हात पारेको हो । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको यो ओभरपास बनिसकेपछि ५ वर्षसम्म ठेकदार कम्पनीले नै मर्मतसमभार गर्नुपर्ने खरिद सम्झौतामा उल्लेख छ ।

यो ओभरपास बनाउँदा सबैभन्दा ठूलो समस्या चक्रपथको ट्राफिक व्यवस्थापन पर्ने अनुमान छ । ग्वार्को क्षेत्रमा चलिरहेको चार लेनमै निर्माण क्याम्प बनाउनुपर्ने भएकाले दायाबाँयाँको लेनमा सवारीको चाप उच्च हुनेछ ।

तर, ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गरेर काम हुने इन्जिनियर श्रेष्ठले बताए । ‘चक्रपथमा यात्रा गर्नेहरुलाई जमले केही असहजता हुनसक्छ,’ उनले भने,’ओभरपास बनेपछि भने ग्वार्को चोकमा कुनै पनि सवारीले रोकिनुपर्ने छैन ।’

निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिने छ ।

सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउन सम्भाव्यता अध्ययन गरिसकेको छ । सरकारले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउन चालु आर्थिक वर्ष २०७९/८०मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्रोतको सुनिश्चितता भए सातदोबाटोमा पनि ओभरपास बनाउन यर्सैवर्ष ठेक्का लगाउने विभागको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *