खेलकुद

मनाङले जित्यो २२औं तिलोत्तमा गोल्डकपको उपाधि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ चैत २०७९, शनिवार

काठमाडौँ – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ८–७ गोलले पराजित गर्दै मनाङले उपाधि उचालेको हो । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा सुदूरपश्चिमलाई ८–७ गोल अन्तरले पराजित मनाङ २२ औं तिलोत्तमा गोल्डकप फुटबलको च्याम्पियन बनेको हो । यो जितसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । मनाङले विदेशी खेलाडी कोफी टिमोथे कोडोको गोलबाट खेलमा अग्रता लिएको थियो । मनाङका लागि खेलको ५९ औं मिनेटमा कोफीले गोल गरेका थिए । सुदूरपश्चिमका फागुराम थारु ७१औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । सुदूरपश्चिम खेलको सुरुवातदेखि नै आक्रामकरुपमा प्रस्तुत भएको थियो । उसले मनाङलाई दबाबमा राखे पनि गोलका लागि पाएको अवसरको सदुपयोग गर्न सकेन । मनाङले पनि गोलका धेरै अवसरहरु गुमाएका कारण पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

फ्रेण्ड्स क्लबलाई पराजित गर्दै मनाङले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको थियो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराएर सुदूरपश्चिम–११ ले फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *