समाचार

जलनको उपचारमा चरम बेवास्ता : अस्पताल न विशेषज्ञ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

जलनको उपचारका लागि देशभरका बिरामी काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ । जलनका ठूला समस्या त काठमाडौंमा पनि उपचार हुन नसकेर विदेश पठाउनुपर्ने बाध्यता छ । जलनको उपचारका लागि विशेषज्ञ चिकित्सक पनि निकै कम छन्

प्रकाशित: ११ फाल्गुन २०७९ ,बिहीबार

काठमाडौँ – ग्यास सिलिण्डर लिक भएपछिको आगलागीमा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीमुम्बईको नेशनल बन्स सेन्टरमा उपचार गराइरहेका छन् । उनकी आमा हरिकला भण्डारीको भने कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

यो घटनाले नेपालमा जलनको उपचार क्षमताबारे बहस सिर्जना गरेको छ । छुट्टै डेडिकेटेड जलन अस्पताल र विशेषज्ञहरुको टिम नहुँदा राम्रो उपचार गर्न सकिने अवस्था नरहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार जलनका गम्भीर बिरामीलाई भारत रिफर गर्नैपर्ने बाध्यता छ । अर्थात्, भारत जान नसक्ने बिरामीको मृत्यु पनि हुन सक्छ ।

कीर्तिपुर अस्पतालमा बार्षिक ६०० हाराहारी जलनका बिरामी भर्ना हुने गरेको तथ्यांक छ । त्यसमध्ये श्वासनली जलेका बिरामी १५० हाराहारी हुन्छन् । तातो हावा र धुवाँले श्वासनली जलेका बिरामी जलनका अन्य केसभन्दा गम्भीर हुने कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख किरण नकर्मी बताउँछन् ।

‘सांसद भण्डारीको पनि श्वास नली जलेको थियो । उहाँलाई यहाँ बचाउन सकिने सम्भावना ५० प्रतिशत मात्र देखिदा जोखिम नलिएर रिफर गर्नुपरेको हो’, डा. नकर्मी भन्छन्, ‘यस्तै प्रकृतिका तीन जनालाई यही आईसीयूमा राखेर उपचार गरिरहेका छौं ।’

उनका अनुसार, जलनका बिरामीको उपचार गर्न प्रविधिसहित ठूलो टिम चाहिन्छ । जबकी, अहिले जलनका बिरामी हेरिरहेका मुख्य दुई अस्पतालमध्ये कीर्तिपुरमा ८ र सुषमा कोइराला मेमोरियलमा चारवटा मात्र आईसीयू बेड छन् ।

देशभर जलेका बिरामी सिधै वा रेफर भएर कीर्तिपुर अस्पताल र साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल आइपुग्छन् । यी दुइबाहेक त्रिवि शिक्षण अस्पताल, पाटन र वीर अस्पतालमा पनि जलनको उपचार सेवा छ ।

अधिकांशले प्राथमिक उपचार नै पाउँदैनन्

नेपालमा बार्षिक ५५ हजारदेखि ६० हजारसम्म मानिसलाई जलन समस्या हुने अनुमान छ । यी सबै अस्पताल पुग्दैनन् । आगो, तातो तेल, तातो पानी, तातो झोल, विजुली, रसायन लगायतले पोलेर बर्न अस्पताल आएकामध्ये करिब ७६ प्रतिशत बिरामीलाई बचाउन सकिएको डा. नकर्मी बताउँछन् ।

उनका अनुसार शरीरका बाहिर भाग जलेकामा २० देखि २५ प्रतिशत र श्वासनली जलेकामा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ । पर्याप्त स्रोत–साधन र सघन उपचार कक्षमा विशेषज्ञको छुट्टै टिम भए यो मृत्युदर घटाउन सकिने उनी बताउँछन् ।

देशभर जलेका बिरामी सिधै वा रेफर भएर कीर्तिपुर अस्पताल र साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल आइपुग्छन् । यी दुइबाहेक त्रिवि शिक्षण अस्पताल, पाटन र वीर अस्पतालमा पनि जलनको उपचार सेवा छ । यी तीन ठूला अस्पतालमा बार्षिक १७ सय हाराहारी जलनका बिरामीले सेवा लिने गरेको तथ्यांक छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।

सुषमा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर सन्तोष विक्रम भण्डारीका अनुसार, जलन भएको २४ घन्टाभित्र राम्रो प्राथमिक उपचार हुनुपर्छ । तर, विकट ठाउँबाट ल्याउँदा ल्याउँदै दुई–तीन दिन बित्दा अधिकांश बिरामीले राम्रो प्राथमिक उपचारै नपाएर मृत्युको सम्भावना बढ्ने गरेको डा. भण्डारी बताउँछन् ।

‘जलेकामध्ये पनि अस्पताल आइपुग्ने ३–४ प्रतिशतमात्र हो, बाँकी बिरामी उपचार नपाएर अपांगता वा दाग लिएर बस्नुपर्ने बाध्यता छ’, डा. भण्डारी भन्छन्, ‘अस्पताल पनि काठमाडौंमा मात्र भएकाले अधिकांश बिरामी उपचारबाट वञ्चित छन् ।’

विशेषज्ञ चिकित्सकको अभाव

चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।

सरकारी अस्पतालका जलन उपचार विभागहरुमा वेड मात्र कम नभई डाक्टर, नर्स, फिजिओथेरापिस्ट, पोषणविद्, मनोचिकित्सक पनि कम छन् । ठूलोमध्येको त्रिवि शिक्षण अस्पताल, जलन बिभागमा वेड पनि नौवटा मात्र छ ।

नेपालमा प्लाष्टिक सर्जन पनि ३० जनाजति मात्र छन् । प्लाष्टिक सर्जनको सरकारी दरबन्दी एकदमै कम हुँदा चिकित्सा विज्ञानको यो विद्या अध्ययन नै अनाकर्षक बन्दै गएको डा. नकर्मी बताउँछन् ।

उनका अनुसार, नेपालमा प्लाष्टिक सर्जरीपछि जलन सम्बन्धी विशेषज्ञता हासिल गरेका चिकित्सक एउटै छैनन् । प्लाष्टिक सर्जरी अध्ययन गर्दा नै जलनसम्बन्धी तालिम लिनुपर्ने हुनाले गम्भीर प्रकृति बाहेकका समस्याको उपचार भने भइरहेको डा. नकर्मी बताउँछन् । विशेषज्ञको धेरै खाँचो भएपछि बर्न अस्पतालले जलनको विशेषज्ञता लिन केही चिकित्सकलाई विदेश पठाएको उनले बताए ।

शिक्षण लगायत सरकारी अस्पतालमा पनि जलनको उपचार प्लाष्टिक सर्जनहरुबाटै भइरहेको छ । शिक्षणको जलन उपचार विभाग प्रमुख रहेका प्लाष्टिक सर्जन जयनमान श्रेष्ठ यसका यसका लागि छुट्टै अस्पताल चाहिने बताउँछन् ।

‘जलेका विरामीको उपचारमा जलनकै बिषयमा विशेषज्ञता वा तालिम लिएको जनशक्ति चाहिन्छ’, डा. श्रेष्ठ भन्छन्, ‘विशेषज्ञ जनशक्तिसंगै अत्याधुनिक प्रविधि र पर्याप्त वेडसहित आईसीयू कक्ष भएको छुट्टै सरकारी अत्यावश्यक भइसकेको छ ।’

छाला पाउन पनि मुश्किल

धेरै जलेका बिरामीमा छाला प्रत्यारोपण गनुपर्ने हुन्छ । त्यसका लागि नेपालमासन् २०१४ बाट कीर्तिपुर बर्न अस्पतालमा छाला बैंक सुरू भयो । तर, हालसम्म जम्मा ३१ जनाले छाला दान गरेका छन् ।

चिकित्सकका अनुसार ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छालाले पुग्दैन । त्यस्तो अवस्थामा अरुको मानिसको छाला प्रत्यारोपण गरेर बिरामी बचाइन्छ । छाला लिने काम दाताको मृत्युपश्चात गरिन्छ । मृत्यु भएको ६ घण्टा वा शव फ्रिजमा भए १२ घण्टाभित्र छाला निकाल्न मिल्छ ।

नेपालमा छाला दान सम्बन्धी जानकारी र जन चेतना नै कम भएर बिरामीले नयाँ छाला नपाइरहेको कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख किरण नकर्मी बताउँछन् ।

‘विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा जनचेतना फैलाइरहेका छौं, र पनि मृत्युपछि छाला दिन्छु भनेर फारम भर्नेको संख्या निकै कम छ’, डा. नकर्मी भन्छन्, ‘मरेपछि स्वर्ग पुग्न सग्लै शरीर जानुपर्छ भन्ने मान्यताले यसमा असर पारिरहेको हुनसक्छ ।’

उनका अनुसार १८ बर्षभन्दा माथिका मृतकको पेट, तिघ्रा, खुट्टा र हातको छाला जलेका बिरामी बचाउन काम लाग्छ । गम्भीर जलन भएका मानिसको प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले उनको शरीरले प्रत्यारोपण गरिएको छालाले तीन हप्ता चिन्दैन ।

‘तीन–चार हप्तापछि बिरामीको प्रतिरक्षा शक्ति बढ्दै जाँदा बिरामीको शरीरले प्रत्यारोपण गरिएको छाला फाल्दै गएर नयाँ छाला पलाउन थाल्छ’, डा. नकर्मी भन्छन्, ‘त्यसरी प्रत्यारोपण गरिएको अरुको छालाले जलेका बिरामीलाई बचाउँछ ।’

कीर्तिपुर बर्न अस्पतालको अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र मंहगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।

सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । सुषमा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारी सरकारले क्यान्सर लगायत कडा खालका नसर्ने रोकको उपचारमा दिएजस्तो सहुलियत जलेका बिरामीलाई पनि दिनुपर्ने बताउँछन् ।

कदाचित जलिहाले के गर्ने ?

नेपालमा जनचेतनाको कमीले बढी जलनका घटना हुने गरेका छन् । गाउँघरमा धेरै बालबच्चा चुलोमा जल्छन् । आगोले पोलेपछि के गर्ने भन्ने ज्ञानको अभावमा समस्या झन् जटिल बन्ने गरेको बताउँदै डा. नकर्मी भन्छन्, ‘अस्पताल आइपुग्दासम्म पनि बिरामीलाई जीवनजल खुवाइएको हुँदैन ।’

उनका अनुसार आगोले पोलेको भागलाई सबभन्दा पहिले चिसो पानीले आधा घण्टासम्म विस्तारै पखाल्नुपर्छ । यसो गर्दा तातोपना छालाभित्र गड्न र घाउ गहिरो हुन पाउँदैन । पोल्नेबित्तिकै यो विधि अपनाउनपर्छ ।

त्योसंगै जीवनजल खुवाउन र जिल्ला अस्पतालमै पनि प्राथमिक उपचारका साथ स्लाइनपानी चढाउनपर्छ । जलेका बिरामीको तौल र घाउको आधारमा पहिलो २४ घण्टाभित्र दिइने स्लाइन वा जीवनजलको पुनर्जलीय उपचार अति महत्वपूर्ण हुने बताउँदै डा. नकर्मी भन्छन्, ‘यसले बिरामीको जटिलता र मृत्यु रोक्न सघाउँछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *