अर्थ

उपभोक्तालाई १४ रुपैयाँ थप भार पार्ने गरी फेरि दूधको मूल्य बढाइँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै मूल्य बढाउन गृहकार्य थालेको छ । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।

अन्य सामानको मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरे पनि अहिले फेरि सरकारसँग मिलोमतो गरेर मूल्य बढाउन चलखेल थालिएको हो ।

सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्ने बताए पनि पर्याप्त अध्ययनबिनै मूल्य बढाउन गृहकार्य सुरु भएको हो । ‘राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित अध्ययन समितिले सबै पक्षमा अध्ययन गरेन । फलस्वरूप उद्योगीहरूको दबाबमा तिनले सिफारिस गरेको मूल्य अनुमोदन गर्ने तयारी भइरहेको छ,’ समितिका एक सदस्यले भने, ‘उद्योगीहरूले प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाउन दबाब दिएका छन् । बोर्डले पनि त्यही पारित गर्ने गरी काम गरिरहेको छ । फागुन पहिलो साता नै मूल्य बढ्छ होला ।’

उद्योगीहरू आफूअनुकूल मूल्य बढाउन लागिपरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । दूधमा अचाक्ली मूल्य बढाउने खेल भइरहेको उनको भनाइ छ । ‘३ वटा समूह बनाएर जिल्लामा खटाइए पनि उपभोक्ताकर्मीका प्रतिनिधि लगिएन । उद्योगीहरूले आफैं आकलन गरे,’ कमिटी सदस्य समेत रहेका तिमिल्सिनाले भने, ‘एक वर्षमै फेरि प्रतिलिटरमा १४ रुपैयाँ मूल्य बढाउन खोजियो ।’

राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न मिल्छ । उद्योगीहरूले दाना, चोकर, परालको मूल्य, ढुवानी खर्च बढेको बताउँदै मूल्य बढाउन दबाब दिएको तिमिल्सिनाले बताए । उद्योगीसामु बोर्डका प्रतिनिधि निरीह बनेको उनको भनाइ छ । ‘जिल्लाबाट संकलित रिपोर्ट वैज्ञानिक छैन । उपभोक्ता मूल्य विश्लेषण गरिएको छैन । मूल्य बढाउनुको वैज्ञानिक आधार पनि छैन । प्राविधिक अध्ययन पनि हुनुपर्थ्यो तर त्यसो गरिएन,’ उनले भने, ‘बिनाअध्ययन मूल्य बढाउनु राम्रो होइन ।’

स्रोतका अनुसार दूधको मूल्य बढाउन कृषिमन्त्रीदेखि प्रधानमन्त्रीले समेत चासो दिएका छन् । किसानका नाममा बढाउन लागिएको मूल्यले उद्योगीलाई फाइदा हुने र उपभोक्ता मूल्य झन् बढ्ने स्रोतको दाबी छ । ‘दूधको मूल्य बढेसँगै दुग्धपदार्थको पनि सोही अनुपातमा वृद्धि हुन्छ । अहिले किसानले मूल्य पाएनन् भन्ने मात्रै छ । मूल्य बढ्दा बजारलाई पर्ने असरबारे अध्ययन गरिएको छैन,’ समितिका एक सदस्यले भने, ‘बैठकमा मूल्य बढाउनेबाहेक अरू कुरै हुँदैन । बजार प्रभावबारे छलफल गरिँदैन ।’

लागत बढेकै कारण सरकारले ०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टि–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरूले पनि सोहीअनुसार मूल्य बढाएका थिए । अहिले डीडीसीले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य साढे ४२ रुपैयाँ तोकेको छ । उपभोक्ताले भने ४५ रुपैयाँ तिर्दै आएका छन् । अब प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याउने खेल भएको हो ।

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउने गरी काम भइरहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले स्विकारे । ‘उद्योगतर्फको लागत बुझाएका छौं, किसानका तर्फबाट मंगलबार टुंगो लाग्छ,’ दाहालले भने, ‘त्यसपछि बोर्डले फाइनल गरेर कृषि मन्त्रालयमा दूधको मूल्य पेस गर्छ । अनि तत्काल मूल्य बढ्छ । सम्भवतः नयाँ मूल्य यही साता लागु हुन्छ ।’ डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पनि मूल्य बढाउने विषयमा छलफल भइरहेको जनाए । ‘अध्ययन गर्न समिति गठन भएको छ । त्यसले मंगलबार नै मन्त्रालयमा प्रतिवेदन बुझाउँछ,’ उनले भने, ‘त्यसपछि निष्कर्ष निस्कन्छ ।’

बढेको मूल्य किसानले ६९ र उद्योगीले ३१ प्रतिशत पाउने दाहालको भनाइ छ । किसानले पाउने मूल्यवृद्धि गर्नुपर्ने भए पनि उपभोक्ता मूल्यप्रति पनि उत्तिकै सचेत हुनुपर्ने डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । ‘आहारा र दाना खर्च करिब ६० प्रतिशतले बढेको छ । किसानको उत्पादन खर्च उठेको छैन, उद्योगको लागत पनि बढेको छ,’ उनले भने, ‘सगँसँगै उपभोक्ता मूल्य पनि विश्लेषण गर्न आवश्यक छ ।’

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले भने दूधको मूल्यवृद्धिको विषय अध्ययनकै क्रममा रहेको जनाए । ‘समितिले प्रतिवेदन बुझाएको छैन, प्रतिवेदन छलफलकै क्रममा छ,’ उनले भने, ‘समिति संयोजकले प्रतिवेदन बुझाएपछि बल्ल यसबारे भन्न सकिन्छ ।’

२ फागुन २०७९, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *