अर्थसमाचार

गण्डकी प्रदेशबाट वार्षिक २० करोडको जडीबुटी बिक्री

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

सर्वाधिक निर्यात हुनेमा मुसली, दालचिनी, बुधनी फूल, तेजपात, चिराइतो, कुटकी, निरमसी, चिराइतो

कास्की — गण्डकी प्रदेशमा उत्पादित जडीबुटी विदेश निर्यात हुँदै आएको छ । गण्डकी प्रदेशबाट विदेशमा निर्यात गर्ने सम्भावना रहेको वस्तु तथा उत्पादनको इन्भेन्ट्रीसम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार यस प्रदेशबाट वार्षित औसत ५६.१७ मेट्रिक टन जडीबुटी विदेश निर्यात हुँदै आएको छ ।

प्रतिवेदनअनुसार यहाँ उत्पादित जडीबुटी आधिकारीक व्यापारका रूपमा निर्यात हुन्छ ।

उक्त परिमाणका आधारमा यस प्रदेशबाट हालको बजार मूल्यलाई आधार मान्दा प्रतिवर्ष २० करोड ६२ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात हुने प्रतिवेदनको तथ्यांकमा देखिन्छ । यसबाहेक पनि जडीबुटीको अनधिकृत व्यापार हुने गरेको सरोकारवाला बताउँछन् । तत्कालीन उद्योग, पर्यटन तथा वन, वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण (२०७७) का अनुसार आर्थिक वर्ष २०७६/७७ मा जडीबुटीमध्ये यार्चागुम्बु सबैभन्दा बढी १३ करोड ३९ लाख रुपैयाँको व्यापार भएको थियो ।

यस्तै, काकोली/वन लसुन २ करोड ३९ लाख र सतुवा १ करोड ६३ लाखको व्यापार भएको प्रतिवेदनमा छ । मुख्य ५ प्रजातिको कुल वार्षिक व्यापार १८ करोड ५३ लाख (९० प्रतिशतभन्दा बढी) भएको देखिन्छ । सबैभन्दा बढी परिमाणमा व्यापार भएको जडीबुटीहरूमा मुसली (७.२ टन), दालचिनी (५.९ टन), बुधनी फुल (४.७ टन), तेजपात (४.२ टन) र चिराइतो (३.५ टन) रहेका छन् । त्यस्तै कुटकी, निरमसी, चिराइतो र तेजपात विगत १० वर्षदेखि लगातार निर्यात (व्यापार) हुँदै आएको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी विमल गौतमले जानकारी दिए ।

प्रतिवेदनका अनुसार कुल ६ वटा प्राथमिकीकरणका आधार (व्यापारमा रहेको वर्ष, व्यापार परिमाण, कुल व्यापारिक मूल्य, नेपाल सरकारको प्राथमिकीकरण, मूल्य अभिवृद्धिको सम्भावना र स्थानीय उपलब्धता) को आधारमा गण्डकी प्रदेशका प्राथमिकता प्राप्त १० जडीबुटीहरुमा तेजपात, चिराइतो, कुरिलो, कुटकी, सतुवा, सुगन्धवाल, मजिठो, जटामसी, विषजरा र यार्चागुम्बु रहेका छन् ।

यसैगरी, हस्तकलाका सामानलाई धातु तथा काष्ठकलाका र कपडाजन्य उत्पादनका रूपमा वर्गीकरण गर्न सकिने प्रतिवेदनले जनाएको छ ।

गण्डकी प्रदेशमा उत्पादन भई विदेशमा निर्यात हुने प्रमुख उत्पादनमा हस्तकलाका सामानहरुमा अल्लो तथा हेमबाट तयार भएका कपडाहरु, झोला तथा अन्य सामग्री बढी रहेको गौतमले जानकारी दिए । ‘कच्चा पदार्थका रूपमा सूतीको धागो आयात गरी राष्ट्रियलगायत विविध जातजातिका तयारी पोसाकको निर्यात पनि हुँदै आएको छ,’ उनले भने, ‘कच्चा धागोबाट बुनिएका झोला, रुमाल, टोपी तथा अन्य उत्पादनमा वार्षिक ५ करोडभन्दा बढीको यस्ता सामान निर्यात हुँदै आएको तथ्यांक छ ।’ उनले यसलाई अझै व्यवसायीकरण गर्न प्रदेश सरकारले पनि पहल गरेको बताए । ‘विधिगत रूपमा योजना नबनाइए पनि यसतर्फ मन्त्रालयको ध्यान गएको छ,’ उनले थपे, ‘कतिपय वस्तु हामी आफैं चिन्दैनौं । मूल्य पहिचान गर्न सक्दैनौं । यस विषयमा पनि विभिन्न अध्ययन त भएका छन् ।’ मन्त्रालयले जडीबुटीलगायतका सामानमा ठोस योजना सार्वजनिक गरेर कार्यान्वयन गर्नतर्फ ध्यान दिन आवश्यक रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *