Uncategorized

हिउँको पर्खाइमा किसान

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : पुस २७, बुधबार, २०७९

रुकुम पूर्व — हिउँदमा चिसो बढ्दा अचम्म लागेको छैन । पूर्वी रुकुमको पुथाउत्तरगंगा–१ का ६५ वर्षीय धनबहादुर बुढा अहिलेसम्म हिउँदे झरी र हिउँ नपर्दा भने चिन्तित छन् । मध्य पुससम्म हिउँ नपरेपछि जमिन सुक्खा छन् । यस्तो सुक्खा उनले यसअघि देखेका थिएनन् ।

यस पटक हिउँ नपर्दा पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकाका किसानलाई एकै प्रकारको चिन्ता थपिएको छ । ‘मैले थाहा पाएसम्म ढिलोमा पुस १५ सम्म त हिउँ परिसक्थ्यो,’ बुढाले भने, ‘पुस सकिन लाग्यो तर हिउँ पर्ने सुरसार छैन ।’

‘बितेका वर्ष पुस तेस्रो सातासम्म दुई पटक हिउँ परिसक्थ्यो,’ पुथाउत्तरगंगा–१२ कोलका भक्तबहादुर बुढाले भने, ‘चिसो र तुसारो पर्न बढे पनि हिउँदे झरी नपर्दा जमिन सुक्खा भयो ।’ यस पटक गहुँ, जौ र अरू हिउँदे बाली हुर्किन नसकेको उनले बताए । भर्खर उम्रिएका बोटबिरुवालाई हिउँले छपक्क छोपेपछि सिञ्चित हुने र बाली सप्रिने अनुभव उनले सुनाए । ‘हिउँ नै नपर्दा बालीमा सिँचाइ र चिस्यान पुग्न सकेन,’ उनले भने, ‘धेरैले उत्पादन घट्ने आकलन गरेका छन् ।’

समुद्र सतहबाट ९ सय ५० मिटरदेखि ७ हजार २ सय ८६ मिटर उचाइमा रहेको पूर्वी रुकुम लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । यहाँको कुल क्षेत्रफलको २.१८ प्रतिशत अर्थात् २ हजार ४ सय ७६ हेक्टर भूभाग बाह्रै महिना हिउँले ढाकिन्छ ।

बाँकी रहेको पुथाउत्तरगंगाका सबै भेग तथा सिस्ने र भुमेका २ हजार मिटरभन्दा उचाइमा रहेको भेगमा बर्सेनि हिउँ पर्ने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पीताम्बर बस्नेतले बताए । यस पटक भने सिस्ने र पुथा हिमालको हिउँले ढाक्ने क्षेत्रमा केही मात्रामा हिउँ देखिए पनि अरू ठाउँमा भने हिमपात भएको छैन ।

हिउँ पर्दा पानीको स्रोतमा रिचार्ज भई बर्खामा मूल फुट्न सहयोग पुग्छ । पानी पुनर्भरणको यो प्रक्रियाले हिउँदे बालीमा सिँचाइ पुग्ने प्रमुख बस्नेतले बताए । ‘हिउँले वायुबाट नाइट्रोजन तत्त्वसमेत ल्याउने हुनाले बालीले पाउँदा माटोको उर्वरा शक्ति पनि बढ्छ,’ उनले भने, ‘केही वर्षयता हिउँ पर्ने रुटिन बिग्रिएको छ ।’

पुस अन्तिमसम्म पनि हिउँ परेन भने हिमाली भेगको जनजीवन कष्टकर हुने उनले बताए । माटोमा चिस्यान कायम राखिराख्न र मौसमी चक्रलाई जोगाउन पनि हिउँ अनिवार्य भएको उनको भनाइ छ ।

जिल्लाको कुल १ लाख १३ हजार ५ सय २३ हेक्टर क्षेत्रफलमध्ये २० हजार ५ सय ६५ हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये हाल १६ हजार ३ सय ७० हेक्टरमा खेती भइरहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको तथ्यांक छ । यहाँ मुख्यगरी मकै, गहुँ, धान, कोदो, फापर र जौ जस्ता खाद्यान्न बाली हुन्छ ।

तरकारीमा आलु र फलफूलमा ओखर र स्याउ फल्छ । लगाएका बाली फस्टाउन मौसमकै भर पर्नु परिरहेको पुथाउत्तरगंगा–६ डिम्मुरगैराका किसान राजकुमार सुनारले बताए । ‘हिउँ नपर्दा फलफूलका बोट सुक्ने हुन् कि भन्ने जोखिम छ,’ उनले भने । पशु–चौपाया पाल्ने गरेका किसानले पानी नपर्दा धूलो बढेको बताएका छन् ।

हिउँदे बालीलाई तत्काल झरी र हिउँको जरुरत रहेको प्रमुख बस्नेतले बताए । ‘हिमाली फलफूलका बोटबिरुवा अहिले सुषुप्त अवस्थामा छ । यो बेलामा कम्तीमा डेढदेखि २ महिनासम्म हिउँले ढाकेमा मात्रै त्यसमा राम्रोसँग फल लाग्छ, अनि मात्रै गुणस्तरीय उत्पादन दिन्छ,’ उनले भने, ‘यो समय भेडाको प्रजनन प्रक्रिया सुरु हुने बेला पनि हो । याम थाहा दिएर भेडाहरू सक्रिय हुन पनि हिउँदे झरी र हिउँ पर्नु जरुरी हुन्छ ।’ हिउँ ढिला हुँदा हिउँदे बालीको उत्पादन घट्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *