राजनीतिसमाचार

विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ: भट्टराई

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;शुक्रबार, पुस २२ , २०७९

काठमाडौं नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने भट्टराईको भनाइ छ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। गत पुस १० मा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रचण्ड दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसबेला उनलाई तीन स्वत्नत्र सांसदसमेत गरी १६९ जनाको समर्थन देखिन्थ्यो।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा १० सिट भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले २ पटक अध्यक्ष नेपालसँग भेटेर विश्वासको मत दिन भने पनि एकीकृत समाजवादीले भने यसबारे औपचारिक निर्णय गरिसकेको छैन।

राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले भने यस्ता शक्तिसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्ने बताएका हुन्।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ।’

राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने एजेन्डासमेत उठान गर्दै आएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका थिए।

राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय पाउनुपर्ने दाबीसमेत राख्दै आएको छ। साथै राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान पनि राखेको छ।

यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन्।

‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं,’ उनले भनेका छन्। भट्टराईको पार्टी नेपाल समाजवादी गत मंसिरको चुनावमा माओवादीकै चुनाव चिन्ह लिई चुनावमा गएको थियो। नेपाल समाजवादी र माओवादीबीच एकता गर्ने तयारीसमेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *