कोरोना अपडेटसमाचार

चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली संघको सिफारिस

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; २१ पुष २०७९, बिहीबार

पछिल्लो समय कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रीमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्।

चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो।

यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूले सुझाव दिएको बिबिसीले जनाएको छ।

युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू चीनबाट आउने यात्रीमा यात्रा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट यस्तो सिफारिस आएको हो।

यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले शुरू भइसकेको छ। युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्।

कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनले यात्रा सहज पारेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमाका अनुसार चीनले अहिले व्यापक मात्रामा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ। बिरामीको चापले अस्पतालहरू भरिएका छन्।

यसैबीच, विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ।

बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ। जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल नखाने बिबिसीले दाबी गरेको छ।

वैज्ञानिक तथ्याङ्कसम्बन्धी यूकेको एअरफिनिटी कम्पनीको आकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४,७०० मृत्यु भइरहेको हुन सक्छ।

यसअघि चिनियाँ सरकारले आफ्नो देशबाट जाने यात्रुहरूको आगमनमा कडाइ गर्ने देशहरूको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै आफूले बदला लिनसक्ने चेतावनीसमेत दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *