राजनीति

उवासँग संसदीय दलमा भिड्ने अर्को उम्मेदवार को?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; मंगलबार, पुस ०५, २०७९

नेपाली कांग्रेसको संस्थापनइतर समूह सोमबार दिनभरजसो संसदीय दलको चुनावका लागि आफ्नो समूहबाट उम्मेदवार छान्न सक्रिय रह्यो।

साँझसम्म भएका छलफलमा नेता शेखर कोइराला कि महामन्त्री गगन थापालाई पुस ६ मा हुने संसदीय दलको चुनावमा अघि बढाउने भन्ने निचोडमा पुग्न सकेन।

बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ।

उपसभापति धनराज गुरूङले मंगलबार बिहान छलफल गरेर दलको नेताका लागि उम्मेदवार तय गरिने बताए।

आफूहरूको समूहबाट एक जनामात्रै उम्मेदवार हुनेमा उपसभापति गुरूङ विश्वस्त छन्।

‘आज हामीले दल नेतामा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गरियो। छलफल सकारात्मक छ। भोलि बिहान बस्ने बैठकले को उम्मेदवार हुने टुंगो लाग्छ, हाम्रोतर्फबाट एक जना मात्रै उम्मेदवार बन्नुहुनेछ,’ उनले भने।

उपसभापति गुरूङ, नेताहरू चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायतले दल नेतामा उम्मेदवारी दाबी गरिरहेका कोइराला र थापालाई आजसँगै राखेर छलफल गरेका थिए।

छलफलमा नेता कोइराला र महामन्त्री थापाले आफूलाई नै दल नेताको उम्मेदवार बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

कोइरालाले १४ औं महाधिवेशनको प्रसंग निकाल्दै ‘त्यसबेला मेरो नेतृत्वमा अघि बढ्न हुने, अहिले किन नहुने?’ भन्ने कुरा राखेका थिए।

छलफलमा सहभागी अर्का नेता बलबहादुर केसीले भोलि बिहानसम्म उम्मेदवार तय हुने बताए।

उपसभापति गुरूङले जस्तै केसीले पनि आफूहरूको समूहबाट एक जनामात्रै उम्मेदवार हुने बताए।

‘को उम्मेदवार हुने आज निचोडमा पुग्न सकिएन, भोलि टुंगो लाग्छ,’ उनले भने।

दल नेताको उम्मेदवार बन्न महामन्त्री थापाले सार्वजनिक रूपमा घोषणा नै गरेका थिए। तर कोइरालाले भने आफू उम्मेदवार हुने कुरा बाहिर खुलाएका छैनन्।

कोइरालालाई आफ्नो समूहका केही नेताहरूले दल नेताको उम्मेदवारी दिन सुझाव दिएका छन् भने पार्टीभित्र परिवर्तनका लागि हस्तक्षेपकारी भूमिकामा उत्रन महामन्त्री थापालाई उम्मेदवार बनाएर जानुपर्ने मत पनि छ। यी दुवै कुरालाई समेट्ने गरी एक उम्मेदवार तय गरेर जाने नेताहरू बताउँछन्।

उम्मेदवार तय गर्न अब संस्थापनइतर समूहसँग धेरै समय छैन। मंगलबार दिउँसो २ बजे मनोनयन दर्ताको तालिका छ। त्यसअघि उनीहरूले सहमति गर्न सकेनन् भने संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग कोइराला र थापाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। १४ औं महाधिवेशनलाई आधार मान्ने हो भने निर्वाचित अधिकांश सांसद देउवानिकट छन्। यीमध्ये कति अर्को उम्मेदवारका पक्षमा लाग्छन् अहिले नै प्रस्ट छैन। देउवाविरूद्ध संसदीय दलमा शेखर र गगन दुवैले उम्मेदवारी दिने अवस्था आएमा यो समूह झन् पार्टीभित्र कमजोर हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *