Uncategorizedराजनीतिसमाचार

कांग्रेसको नेतृत्वमा सरकार बन्नेमा देउवा ढुक्क

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौँ नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको हैसियतमा नयाँ सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक भएको निष्कर्ष निकालेको छ । निर्णयमा भनिएको छ, ‘कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक सम्वाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ ।’

यो निर्णय गर्दैगर्दा कांग्रेस नेताहरुलाई लागेको थियो, सांसदहरुको शपथपछि मात्र सरकार गठनका लागि आह्वान हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भने आइतबार नै संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि १० पुसभित्र दाबी पेश गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीमा दाबीका लागि ७ दिन तोकिएसँगै कांग्रेस नेतृत्वमाथि समयको चाप परेको छ ।

कांग्रेसले आइतबार मात्र संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे नेतृत्वमा बनेको तीन सदस्यीय समितिको पहिलो बैठक भोलि सोमबार विहान साढे ८ बजे बोलाइएको छ । यो बैठकले मंगलबार वा बुधबार दलको नेताको चुनाव तोक्नेछ ।

त्यसपछि बल्ल सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच शक्ति (पद) बाँडफाँटबारे छलफल हुनेछ । सत्ता गठबन्धन कायम रहँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख मात्र होइन, चार प्रदेश (बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम) मा बहुमत पुग्छ । साना दलहरुको समर्थन जुटाउन सक्ने हो भने बाँकी ३ प्रदेश (१, मधेस र लुम्बिनी) मा पनि सरकार बन्न सक्छ ।

सत्तारुढ नेताहरुका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री सबै पदमा प्याकेजमा सहमति खोजिने छ । गठबन्धनको गाँठो चाहिँ प्रधानमन्त्री पदमा कस्सिएको छ । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी आलोपालो गर्न तयार छन् । तर पहिलो खेपमा को भन्ने विवाद छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री बन्न आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गर्दै आएका छन् । प्रधानमन्त्रीमा आफ्नै निरन्तरता चाहेका कांग्रेस सभापति देउवाले भने संसदीय दलको नेता चयन गरेपछि छलफल गरौंला भन्ने जवाफ दिने गरेका छन् ।

आइतबार पदाधिकारी बैठकमा पनि प्रचण्डले देउवाले खुलेर कुरा नगरेको गुनासो गरेका छन् । बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन बनाएर कांग्रेसलाई पहिलो पार्टी बनाउन भूमिका खेल्यौं, हाम्रो चाहिँ आकार खुम्चियो । पावर शेयरिङबारे कसरी रोच्नुहुन्छ भन्यो, खुलेर कुरा गर्नुहुन्न ।’

नेताहरुका अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै छलफलले गति त लिनेछ, तर कांग्रेस संसदीय दलको नेता चयन नभई ठोस छलफल हुने सम्भावना छैन ।

बुधबार संसदीय दलको नेता चयन भयो भने शक्ति बाँडफाँटमा सहमति जुटाउन र सरकार गठनका लागि बहुमत जुटाउन गठबन्धनलाई चार दिनको समय हुनेछ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार आफैं प्रधानमन्त्री हुनेमा देउवा ढुक्क जस्तै देखिएका छन् । माओवादी केन्द्रका नेताहरुसँग निरन्तर छलफलमा रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायतले ‘प्रधानमन्त्री पद सुनिश्चित गर्न मात्र माओवादीले अहिले दाबी गरेको’ ब्रिफिङ गरेका कारण पनि देउवा ढुक्क देखिएका हुन् । ‘यो ७ दिनमा संसदीय दलको नेता चयन गरेर प्रचण्डको विश्वास जित्नु त्यति सहज पनि छैन’, कांग्रेसका एक पदाधिकारी भन्छन् ।

माओवादी नेताहरुले भने कांग्रेससँगै एमालेका नेताहरुसँग पनि वार्ता गर्दै आएका छन् । वर्तमान गठबन्धन भत्काउन चाहेको एमाले नेताहरु कांग्रेस नेताहरुसँग पनि सम्वादमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *