सूचना-प्रविधि

खुम्चिँदै खच्चड व्यवसाय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९ 

काठमाडौं — कर्णाली राजमार्ग सञ्चालन आउनुअघि जुम्लामा खच्चड नै ढुवानीको एक मात्र माध्यम वा साधन थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।

पछिल्लो समयमा गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय पनि खुम्चिएको छ। साँघुरो बाटोमा दुईतिर बोरा बोकाएर घण्टी बजाउँदै गाउँसम्म सामान ढुवानी गर्ने गरेको सिंजा ६ का खच्चड व्यवसायी सर्पजित बुढाले बिर्सेका छैनन्। उनी अहिले पनि चारपाँच वटा खच्चड पालेर मुगु, हुम्ला र डोल्पा बजारदेखि सामान लैजान्छन्। उनले भने, ‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। तर अहिले सडक सन्जालको विस्तारसँगै खच्चड लोप हुने अवस्थामा पुगिसकेका छन्।’

ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम खच्चड नै थिए। सवारीसाधनको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे। गुठीचौर गाउँपालिका–१ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवसाय गरे। उनको कमाइ पनि राम्रो भएको थियो। उनले कमाइसँगै सेवा पनि दिइरहेका थिए। तर पछि सडक सन्जाल विस्तारसँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो। अहिले त्यो व्यवसायबाट उनी अलग्गिए। उनले भने,‘अहिले जब म खच्चड देख्छु। तब विगतको याद आउँछ। मलाई व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए।’

खच्चड व्यवसायले उनको भविष्य निर्माण गर्ने आधार बन्यो। अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालेका छन्। पहिले कर्णालीका विभिन्न हाटबजारबाट भारी बोकाइन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि खच्चडबाट ढुवानी गर्दैनन्। सबै ट्य्राक्टर, जिपले नै घरघरमा सामान पुर्याउँछन्। यसले गर्दा खच्चड पाल्न समेत धौधौ भएको छ। गुठीचौर गाउँपालिका २ कुडीगाउँका खच्चड व्यवसायी राजबहादुर बोहोराले भने, ‘खच्चड व्यवसाय निकै संकटमा छ।अहिले गाउँमा खच्चडलाई घाँस दाउरा बोकाउने, मोटर बाटो नपुगेको बस्तीसम्म सामान ओसार्न प्रयोग गर्ने, घर निर्माण गर्ने क्षेत्रमा ढुंगा खच्चडबाट बोकाउने कार्य गरिँदै आएको छ। कतैकतै जडीबुटी, मल, सिमी, आलु, मकै, दाउरा बोकाउने गरिन्छ।’

सस्तो र छिटो हुने भएपछि गाउँका व्यवसायीसमेत यातायातका साधनप्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापित हुन थालेको हो। ‘खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं’, राजबहादुरले भने ‘खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ। तर खच्चड पाल्न छोडिएको छैन।’

जिल्लाको ८ पालिका रहेका ६० वडामा सडक जोडिएको छ। गुठीचौर– ३ का गंगाराम गिरीले भने, ‘सडक सन्जालको पहुँच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन। अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्ने नै विस्थापित हुनुपर्ने अवस्था आइपुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *