समाचारसूचना-प्रविधि

पहाड फोड्न नारायणगढ–मुग्लिन सडक दैनिक ४ घन्टा बन्द गरिँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौं —  नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घन्टा बन्द गरिँदैछ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए।

कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ।

‘ती चारमध्ये पनि तुइन र चिसेन्जी खोलामा पुल निर्माण गर्न ठूलो चुनौती छ। चिसेन्जीको पहरो ब्रेकर लगाएर फोर्ने काम भइरहेको छ, तुइनको मंगलबारबाट सुरू गर्छौं,’ कार्कीले सेतोपाटीसँग भने, ‘पहाडको टुप्पोसम्म एस्काभेटर लैजान सकेका छौं। अब त्यहाँबाट ब्रेकरले टुक्रा–टुक्रा पार्दै तल झर्ने हो।’

उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।

कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।

‘अहिलेलाई यति काम सक्न एक महिना समय लाग्न सक्छ भन्ने सोचेका छौं। काम गर्दै जाँदा छिट्टै सकिन पनि सक्छ,’ उनले भने, ‘चट्टान फोर्न कत्तिको सजिलो हुन्छ, त्यसमा भर पर्छ।’

नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन्। बाँकी १५ वटा पुल बनिरहेका छन्। ती मध्ये तीन वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्कीले बताए। सेती दोभान, डुम्रे र लामो बालुवा पुल अबको तीन महिनामा सञ्चालनमा ल्याउने तयारी आयोजनाको छ।

यी तीन वटा पुल सञ्चालनमा आएको दुई महिनाभित्र भोर्ले, सिमलताल, खोरखोला, तोपे खोला र जुगेडीतर्फको खहरे खोलाको पुल पनि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

बाँकी सात पुलमध्ये रिग्दी, कालीखोला, चिसेन्जी, कालिखोला र नाम्सी पुल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको उनको भनाइ छ। तुइन खोलाको पुलको काम पनि अब द्रुत गतिमा अघि बढ्ने उनले बताए।

घर–टहरा हटाउन बजेटको सकस

बजेटको अभावमा घर–टहरा हटाउन नसक्दा केही पुल निर्माणमा सकस भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

‘मुग्लिनतर्फको पहिलो खोला खहरेको पुल निर्माण काम भने सुरू गर्नै सकिएको छैन। यहाँ खन्न थाल्नेबितिक्कै घर–टहरा ढल्न थाल्छन्। त्यसैले एक बेल्चा पनि खन्न पाइएको छैन,’ आयोजना प्रमुख कार्कीले भने, ‘क्षतिपूर्ति उपलब्ध गराएर ती घरटहरा हटाउन सकेपछि मात्रै पुल निर्माण सुरू हुन्छ।’

क्षतिपूर्तिका लागि बजेट नभएका कारण पुल निर्माणमा ढिलाइ भएको उनले बताए।

नारायणगढ–मुग्लिन सडकमा बन्दै गरेका र बन्ने क्रममा रहेका ९ वटा पुललाई असर गर्ने २६ वटा घर, टहरा भत्काउन आयोजनालाई सकस भइरहेको छ। क्षतिपूर्तिका लागि बजेट माग गर्न मन्त्रालय धाइरहे पनि प्राप्त गर्न नसकेको आयोजना प्रमुख कार्कीले बताए।

‘पुल निर्माणको काम धमाधम भइरहे पनि बजेट अभाव छ। रिग्दी र कालीखोलाको ढलान गरेर सक्दा सबै बजेट सकिन्छ। त्यसपछि कसरी काम गर्ने भन्ने यकिन छैन,’ कार्की भन्छन्, ‘तुरून्तै घरटहरा हटाउन सकियो र त्यसपछिको कामका लागि पनि समयमै बजेट आयो भने समयमै सक्न पनि सकिन्छ।’

२०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७६ चैतमा १५ वटा पुल निर्माणको सम्झौता भएको थियो। सबै पुल डिजाइन निर्माण कम्पनीले गर्ने र निर्माणपछिको पाँच वर्ष मर्मत पनि गर्नुपर्ने गरी सम्झौता भएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको छ। प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन्।

प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रूपैयाँमा र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रूपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

यहाँ तीन वटा पुल ९ मिटर र अरू ११ मिटर चौडा हुनेछन्। अधिकांश पुराना पुल ६ मिटर चौडा थिए। सडक कम्तीमा नौ मिटर फराकिलो भएको दुई वर्ष भइसक्दा पनि पुलहरू भने साँघुरै छन्।

यो खण्ड पार गर्न गाडीलाई हाल औसत तीस मिनेट लाग्ने गरेको र सबै पुलहरू तयार हुँदा दस मिनेट समय घट्ने आयोजनाको भनाइ छ। यो सडकअन्तर्गत मौरी, खानी, दासढुंगा र जलवीरे खोलामा नयाँ पुल बनेर गाडी चल्न थालेको छ।

नारायणगढ–मुग्लिन सडक विस्तार सकिएको तीन वर्ष बढी भएको छ। यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियाली मापदण्डअनुसार बनाइएको हो। सडक निर्माण सकिएसँगै पुल बनाउन सुरू भए पनि कोरोना महामारी, वर्षायाममा काम गर्न समस्या, भौगोलिक कठिनाइ लगायत कारणले काममा ढिलाइ भएको आयोजना प्रमुख कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *