अर्थसमाचार

२९ किलोमिटरमा २५ सय भाडा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

यातायात व्यवसायीको मनपरी

काठमाडौं — जाजरकोटमा यातायात व्यवसायीले मनपरी भाँडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । २९ किलोमिटर सडकमा २५ सय भाडा लिँदा यात्रु मारमा परेका हुन् ।

हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदै सदरमुकादेखि पालिकाको प्रशासनिक केन्द्रमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रा भने सहज नभएको स्थानीयले बताएका छन् । जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिमा यातायातका साधन सञ्चालनमा आए पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्दा नागरिक मारमा परेका छन् ।

कुशे गाउँपालिकाको प्रशानिक केन्द्र भार्मा सदरमुकामदेखि २९ किलोमिटरको दूरी भए पनि यात्रुले २५ सय भाडा तिरेर आवतजावत गर्ने गरेका छन् । कुशे गाउँपालिका–५ का कमानबहादुर थापाले खलंगादेखि पाँचकाटियासम्म यातायातका साधन सञ्चालनमा आएको २० वर्ष बितेको बताउँदै भन्नुभयो– ‘सडक स्तरोन्नति नहँुदा चर्को भाडा तिर्नु परेको छ ।’ उहाँले यातायातका साधन पुगे पनि भाडादर वृद्धि हँुदा सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने गरेको बताउनुभयो ।

ग्रामीण सडक यातायात व्यवसायीले मनपरी असुल्दै आएको भाडाका विषयमा सरोकारवाला निकायसँग आवाज उठाउँदा समेत वास्ता नगरेको थापाले बताउनुभयो । चर्को भाडाकै कारण ग्रामीण बस्तीका नागरिक सदरमुकामसम्म पुगेर सेवा लिन सकेका छैनन् ।

सदरमुकामदेखि नलगाड नगरपालिका–५ कालिमाटी करिब ३२ किलोमिटर भए पनि ६ सय ५० रुपियाँ भाडा असुल्ने गरेका छन् । किन हप्तैपिच्छे भाडा वृद्धिभन्दा यातायात व्यवसायीहरू तेलको मूल्य वृद्धि हुँदा भाडा दर वृद्धि भएको भन्दै पन्छिने गरेका छन् ।

स्थानीय प्रशासनले यातायात व्यवसायीसँग छलफल नगर्दा यात्रुहरूले सास्ती पाउँदै आएका छन् । सदरमुकामबाहेक पालिकासम्म निर्माण गरेका सडक स्तरउन्नति नहुँदा नागरिकले चर्को भाडा तिर्नुपरेको भेरी नगरपालिका–९ का मोतीराम न्यौपानेले बताउनुभयो ।

उता यातायात व्यवसायीहरूले सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर सवारीसाधन कच्ची बाटोमा दौडाउनुपरेको बताउँदै आएका छन् । ‘एकपटक पाँचकाटियासम्म यात्रु लिएर फर्किएपछि अनिवार्य रूपमा सवारीसाधन मर्मत गर्नुपर्छ’ –काउन्टर सहायक संगीता श्रेष्ठले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक भण्डारीले जाजरकोटका ग्रामीण भेगमा सञ्चालित यातायातका सवारीसाधनले मनपरी गरेको गुनासो आएकाले यातायात व्यवसायी र सरोकारवाला निकायबीच छिट्टै छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीले जोखिमयुक्त सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *