अन्तर्राष्ट्रिय समाचार

‘वार एण्ड पिस’, इतिहास र रूस

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; आइतबार, पुस ०३, २०७९

यदि फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले रूसमाथि आक्रमण नगरेको भए लियो टोल्सटोयले ‘वार एण्ड पिस’ लेख्दैनथे होला । फलस्वरुप विश्व साहित्य अलिकति ‘गरिब’ हुन्थ्यो । काल्पनिक चरित्रहरूको कहानी भन्दा पनि यो विशाल उपन्यास टोल्सटोयले आफ्नो इतिहासबारे सिद्धान्त प्रतिपादन गर्न लेखेका थिए । उनलाई सन् १८२५ मा रूसमा ‘डिसेम्बरिस्ट’ हरूले किन त्यस बखतको तानाशाही जार (रूसी सम्राट) को शासन प्रणाली विरुद्ध असफल विद्रोह गरेका थिए– बुझ्न मन थियो, रूस–फ्रान्सको युद्धबारे लेख्न होइन । तर उनलाई लाग्यो त्यो असफल विद्रोह बुझ्न त्यो युद्ध बुझ्न जरूरी छ ।

टोल्सटोयले अध्ययन गरेको युद्धको उत्पत्ति १७८९ को फ्रान्सेली क्रान्तिमा सम्बन्धित छ । फ्रान्सका सम्राट लुई सोह्रौंलाई क्रान्तिले सत्ताच्युत गरेपछि युरोपका अन्य राजतन्त्रात्मक देशहरूलाई डर भयो र राजतन्त्र फर्काउन फ्रान्समाथि आक्रमण गरे । शताब्दीऔं पुरानो राज्य व्यवस्था उथलपुथल हुँदा अवश्य पनि फ्रान्सले ठूलो राजनैतिक, सामाजिक र आर्थिक अस्थिरता व्यहोरिरहेको थियो । कप्तानबाट आफ्नो सैनिक पेशा सुरु गरेका एक असफल वकिलका छोरा नेपोलियन बोनापार्ट आफ्नो तोप हान्ने र सैनिक नेतृत्व गर्ने खूबीले विस्तारै सेनामा चर्चित बन्दै, लडाईंहरू जित्दै गए र आफ्नो महत्वाकांक्षा, परिस्थिति र राजनैतिक कौशलताले सन् १८०० मा फ्रान्सको नेतृत्व गर्न पुगे, ‘फस्र्ट काउन्सल’ भए । सन् १८०४ मा जनमत संग्रहद्वारा सम्राट घोषित भए । उता सन् १८०१ मा २३ वर्षको उमेरमा आफ्नो बुवाको हत्यापछि रूसको जार बनेका अलेक्जेन्डर प्रथम युरोपमा आफ्नो वर्चश्व कायम गर्न नेपोलियन सबैभन्दा ठूलो प्रतिद्वन्द्वी देख्थे ।

यही पृष्ठभूमिमा ‘वार एण्ड पिस’ को कथा सुरु हुन्छ । उपन्यासमा एकातिर युद्धको वर्णन छ भने अर्कोतिर तीन सम्भ्रान्त सामन्तवादी परिवारका सदस्यहरूको जीवनको उतारचढावको कहानी । करिब एक हजार पृष्ठ लामो ‘वार एण्ड पिस’ विश्वको सायद सबैभन्दा प्रख्यात उपन्यासमा १०० बढी पात्रहरू छन् ।

लियो टोल्सटोयको यो कहलिएको उपन्यास रूसको फ्रान्ससँग उन्नाइसौं शताब्दीको सुरुमा भएका युद्धहरूको पृष्ठभूमिमा लेखिएको छ ।

उपन्यास सन् १८०५ जुलाईमा सुरु हुन्छ र पाठकलाई कहानीको केन्द्रमा रहेका तीन परिवार र तिनका सदस्यहरूसित परिचित गराइन्छ । जमिनदार रोस्तोभ परिवारको आर्थिक अवस्था गिर्दो हुन्छ । परिवारमा चार जना छोराछोरी हुन्छन्– दुई छोरा; निकोलास र पिटर अनि दुई छोरी भेरा र नतासा । नतासा कहानीको नायिका हुन् । उनको आकांक्षा र पे्रम सम्बन्धले उपन्यासको निकै ठाउँ ओगटेको छ । नतासा बाहेक रोस्तोभ परिवारको जेठा छोरा निकोलाईको भूमिका पनि महत्वपूर्ण छ । उनी सेनामा भर्ती हुन्छन् र उनको फ्रान्ससँगको विभिन्न लडाइँमा भएको सहभागिताबाट इतिहास कोर्न एक साधारण व्यक्ति कसरी भूमिका खेल्छ भन्ने देखाएका छन् ।

बोल्कोन्स्की परिवार सम्पन्न जमिनदार परिवार हो । विदुर वृद्ध निकोलाई बोल्कोन्स्की रूसको टर्कीसँगको युद्धहरूमा ख्याति कमाएका रूसी साम्राज्ञी क्याथरिन द गे्रटका अवकाश रथी हुन् । उनी आफ्नो गाउँमा बसेर त्यहीं संरचनाहरू बनाउन र आफ्नो स्मरणहरू लेख्दै समय बिताउँछन् । उनका जेठा छोरा आन्दे्रई उपन्यासका दुई नायकमध्ये एक हुन् । सायद आफ्नो बाबुको उपलब्धि र उहाँबाट आफूलाई भएका आकांक्षा पूरा गर्न नसक्ने पीरले हो, उनी बेचैन र मार्मिक पात्रको रूपमा प्रस्तुत गरिएको छ । आफ्नो इतिहासको सुनौलो युग बितिसकेको पृष्ठभूमिमा बेचैन रूसको राष्ट्रिय मानसिक स्थितिलाई आन्द्रेईको अवस्थाले दर्शाएको मान्न सकिन्छ ।

तेस्रो बेजुकोभ परिवार हो । सिरिल बेजुकोभ रूसका सबैभन्दा ठूला जमिनदारमध्ये पर्छन् र उपन्यासको सुरुमै उनको मृत्यु हुन्छ । आफ्नो सम्पत्ति उनले आफ्नो बिहे विना जन्मेको ‘इलेजिटिमेट’ छोरा पियरलाई छोडेर जान्छन् । अविवाहित पियरलाई आफ्नो ज्वाइँ बनाउन धेरै कोसिस गर्छन् । हेर्दा मोटा, होचा र अनाकर्षक, अति धनी पियर उपन्यासका दोस्रो नायक हुन् । फ्रान्सबाट भर्खर फर्केका र फ्रान्सेली क्रान्तिका मूल्य र मान्यताबाट गहिरो छाप परेका, आधुनिक विचारहरूसँग परिचित उनी लक्ष्य नभएको मोजमस्ती गर्ने जीवन त बिताउँछन् तर रूसी हुनुको जीवनको अर्थ र जीवन कसरी जिउने जस्ता प्रश्नहरू पनि खोजिरहेका हुन्छन् । यी तीन मुख्य पात्रहरूको कथाले उपन्यासको ‘पिस’ (शान्ति) भाग दर्शाउँछ ।

आफ्नो यस किताब बारे टोल्सटोयले लेखेका थिए, ‘यो कृति एक उपन्यास या एक कहानी जस्तो छ तर उपन्यास होइन किनभने मैले सिर्जना गरेका पात्रहरूलाई बिहे वा मृत्यु जस्ता उपन्यासमा हुने घटनाहरूमा सीमित राखेर मेरो कथा अगाडि बढाउन म सक्दिनँ र कसरी गर्ने मलाई आउँदैन पनि ।’

उपन्यासमा सन् १८०५, १८०७ र १८१२ मा भएका रूस र फ्रान्सबीचका युद्धको वर्णनको साथसाथै यसका पात्रहरूको जीवनको भोगाइ र उनीहरूमा युद्धको प्रभाव समानान्तर रूपमा प्रस्तुत गरिएको छ ।

अप्रिल १८०५ मा बेलायत–रूस मोर्चाबन्दीमा अष्ट्रिया सहभागी भएपछि आफ्नो सेनाको नेतृत्व गर्दै नेपोलियन बोनापार्ट पूर्वतिर बढ्छन् । लडाइँ हुन्छ । फ्रान्सेली सेना एकातिर, रूसी र अष्ट्रियाली सेना एकातिर । निकोलाई रोस्तोभ र आन्दे्रई बोल्कोन्स्की युद्धमा सहभागी हुन्छन् । आजको चेक गणतन्त्रमा पर्ने तर त्यसबखत अष्ट्रियाली साम्राज्यमा रहेको अस्टरलिट्जमा भएको निर्णायक र इतिहासमा प्रख्यात लडाइँमा नेपोलियनको दुश्मनको भन्दा सानो सेनाले विजय प्राप्त गरेपछि यो युद्ध सकिन्छ । तर टोल्सटोयले अस्टरलिट्जको निर्णायक युद्धबारे मात्र नलेखी रूसी सेनाको बहादुरी झल्कने आज चेक गणतन्त्रमा पर्ने सोनग्रावनको लडाइँमा केन्द्रित हुन्छन् ।

रूसी सेनाको हारमा आन्दे्रई बोल्कोन्स्की घाइते हुन्छन् र मरणावस्थामा युद्ध भूमिमा लम्पसार पर्दा नेपोलियनले देखेर उनको उद्धार गर्न हुकुम दिन्छन् । फ्रान्सेली सम्राटको निजी चिकित्सकले आन्दे्रई नबाँच्ने घोषणा गर्छन् । आन्दे्रई फ्रान्सेली सेनाको कब्जामा पर्छन् ।

उनको परिवारले युद्धमा मृत्यु भएको भन्ठानेका आन्दे्रई बोल्कोन्स्की उनकी पत्नी एलिजावेथले जन्म दिने बेला टुप्लुक्क आइपुग्छन् । तर उनको प्रसवमा मृत्यु हुन्छ छोरालाई जन्म दिएर ।

युद्धपछि आन्दे्रई सेनामा तुरुन्त फर्कंदैनन् भने निकोलाई रोस्तोभ फर्कन्छन् । जनवरी १८०७ मा रूसी सेनाले फ्रान्सेली सेनालाई आक्रमण गर्छ र झण्डै एक तिहाइ फ्रान्सेली सेनाको मृत्यु हुन्छ । दुवै पक्षले जितको दाबी गर्छन् । यस युद्धको हाल जर्मनीमा पर्ने फ्रिडलैण्डको लडाइँ उपन्यासमा उल्लेख छ । लडाइँमा रूस निर्णायक रूपमा हार्छ र त्यसपछि दुई देशबीच सन्धि हुन्छ, एकअर्कालाई भविष्यमा सहयोग गर्ने सम्झौतासहित । पोल्याण्ड रूसको कब्जाबाट मुक्त हुन्छ । सन्धिमा हस्ताक्षर गर्ने बखत फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट र रूसी सम्राट एलेक्जेन्डर प्रथमको भेट वर्णन उपन्यासमा गरिएको छ ।

यी दुई देशबीच अर्को निर्णायक युद्ध पाँच वर्षपछि मात्र हुन्छ । कालान्तरमा, टोल्सटोयको शब्दमा, ‘जीवनको स्वास्थ्य र रोगप्रतिको चिन्ता, काम र आराम, बौद्धिक रुचि, विज्ञान, कविता, संगीत, पे्रम र माया, मित्रता, द्वेष र मोहको वास्तविकतासहित अरू बेला जस्तै चलिरह्यो ।’

लियो टोल्सटोयले लेखेका कृतिहरू धेरैजसो उनको जस्तै सम्भ्रान्त जमिनदार परिवेशमा लेखेका छन् । सन् १९१७ मा रूसी क्रान्ति नहुन्जेलसम्म रूसमा ठूला जमिनदारहरूको जगजगी थियो । जमिनदारहरूको जमिनसँग बाँधिएको ‘सर्फ’ किसानहरूको उन्मुक्ति सन् १८६१ मा मात्र भएको थियो । उपन्यासमा उपल्लो वर्गको पार्टीहरू, सम्पत्तिको हेरचाह, शिकार, तास–जुवा र आरामको मस्ती आदि बारे वर्णन गरिएका छन् ।

पियर बेजुकोभको सम्पत्तिको लोभले एक आर्थिक औकात गुमाउँदै गरेका एक जमिनदारले आफ्नी छोरी हेलेनसँग बिहे गराउन सफल हुन्छन् । तर आफूले हेलेनसँग बिहे गरेर गल्ती गरेको पियरलाई तुरुन्त थाहा हुन्छ । हेलेनले भने धनवान पतिको पत्नी भएर उपल्लो समाजमा आफ्नो इज्जत बनाउने चाहनामा सफल हुन्छन् । यता पियर भने आफ्ना आध्यात्मिक आवश्यकता परिपूर्ति गर्न व्यस्त रहन्छन् । ‘मलाई अवश्य थाहा छ, अरूको भलाइको लागि राम्रो काम गरेर आनन्द लिंदा मात्र जीवनमा खुशी पाइन्छ’ उनी आफ्ना मित्र आन्दे्रई बोल्कोन्स्कीलाई भन्छन् ।

पत्नी गुमाएका आन्दे्रई भने दुःख र वियोगले आफ्नो जग्गा जमिनमा बस्छन् तर पछि राजधानी पिटर्स वर्गमा गएर राज्य सञ्चालनमा संलग्न हुने निधो गर्छन् । एउटा ‘बल’

(पार्टी) मा आन्दे्रईको नतासासँग भेट हुन्छ । एकअर्कालाई मन पराउँछन् । पियरको सल्लाह लिन्छन् र सल्लाह बमोजिम मर्ने त मरेर गयो, तर बाँच्नेले आफ्नो जीवन बाँच्नुपर्छ र खुशीसाथ बाँच्नुपर्छ भन्ने विश्वासका साथ नतासालाई बिहेको प्रस्ताव राख्छन् । तर आन्दे्रईका बुवाले पछि बिहे गर्नु भन्छन् र दुईको सम्बन्ध मगनीमा सीमित हुन्छ । आफ्नो बारे मात्र सोच्ने आन्द्रेईका बुवा निकोलाईले उनको ‘सकिन लागेको जीवनमा कसैले परिवर्तन या नयाँ कुरा ल्याउन किन चाहन्थे’ त्यो बुझ्न सक्दैनथ्यो ।

तर कालान्तरमा मस्कोमा पियरका सालो अनाटोलसँग नतासाको भेट हुन्छ । उनले नतासालाई फकाउँछन्, नतासा पे्रममा पर्छिन् । नतासाले आन्दे्रईसँगको मगनी तोड्छिन् र अनाटोलसँग पोइल जान तयार हुन्छिन् । पोइल जान लागेको पोल खुल्छ, नतासाको योजना सफल हुँदैन, नतासा टुट्छिन् । पियर आएर फकाउँछन् । कुनैबेला जीवन्त हँसिलो १७ वर्षे नतासा होशहवास उडेको व्यक्तिमा परिणत हुन्छिन् । पछि गिर्जाघरमा प्रार्थना गर्न जान थालेपछि उनमा केही सुधार हुन्छ ।

आन्दे्रई बोल्कोन्स्की भने नतासाप्रतिको व्यवहारबाट अचम्मित हुँदैनन् । तर पियर बुजुकोलाई नतासालाई माफ गर्न नसक्ने बताउँछन् । नतासाको भने आन्दे्रईको माफी मात्र चाहना हुन्छ । आन्दे्रई फेरि सेनामा सम्मिलित हुन्छन् ।

यतिबेलासम्म रूस र फ्रान्सबीच फेरि युद्ध हुने संकेत देखा परिसकेको हुन्छ । फ्रान्सलाई रूससँग बेलायतलाई एक्ल्याउन असहयोग गरेको गुनासो थियो भने रूसलाई सन् १८०७ को हार र असमान सन्धिको व्यथा थियो । त्यसमाथि नेपोलियन र अलेक्जेन्डर दुवैमा युरोपमा हावी हुने महत्वाकांक्षा । नेपोलियन सेना १२ जुलाई, १८१२ मा नाइमेन खोला तरेर पाँच लाख तीस हजारको सेनासहित रूससँग युद्धमा होमिन्छ ।

फ्रान्सेली सेनासँग लडेर जित्न सकिंदैन भनेर निक्र्योल गरी रूसी सेना प्रमुख मिकेइल कुजुटोभले आफ्नो सेनालाई गाउँ खाली गर्दै, अन्न नाश गर्दै पछि हट्न लगाउँछन् । यसो गर्दा मस्कोतिर बढ्दै गरेको फ्रान्सेली सेनालाई खाद्यान्न र अरू आवश्यकताहरू उपलब्ध हुँदैन र गलेर फ्रान्सको हार हुन्छ भन्ने कुजुटोभको अनुमान थियो ।

नेपोलियन बोनापार्ट सेप्टेम्बर १५ मा मस्को पस्दा खाली थियो । त्यहाँका गभर्नर जनरलले, कुजुटोभको रणनीति अनुसार, शहरका बासिन्दालाई शहर जलाएर खाली गर्नु भनेका थिए । केही व्यापारी, तल्लो वर्गका कामदार र कतै जाने ठाउँ नभएका जस्ताहरू मात्र सुनसान मस्कोमा देखिन्छन् । नेपोलियन अलेक्जान्डरले आत्मसमर्पण गर्ला भनी पर्खंदै बस्छन् । तर पिटर्स वर्गमा रहेका रूसी जारले त्यस्तो केही संकेत गरेनन् । आपूर्तिको कमी, हिउँद लाग्दै गएपछि आफ्नो सेनाको विजोग र आफ्नो व्यक्तिगत अधैर्यले गर्दा करिब एक महिनापछि उनी आफ्नो सेनासहित फ्रान्स फर्कन्छन् । हिउँद अरू वर्षभन्दा त्यो वर्ष छिटो आउँछ । बाटोमा दशौं हजार सैनिक जाडोले, केही भिडन्तमा पनि मर्छन् ।

‘वार एण्ड पिस’ को अन्तिम भाग उपन्यासका मुख्य पात्रहरूको मात्र नभई साधारण रूसी जनताको युद्धको अनुभव र त्यसप्रतिको प्रतिक्रियाको चर्चामा केन्द्रित छ । योसँगै रूसी चरित्र र इतिहास कसरी बन्छ भन्ने विषयमाथि टोल्सटोयले आफ्नो धारणा व्यक्त गरेका छन् ।

१८१२ को युद्धमा आन्दे्रई बोक्लोन्स्की फेरि घाइते हुन्छन् । मस्को छोडेर निस्किरहेको रोस्तोभ परिवारले उनलाई भेट्छन् र नतासा रोस्तोभलाई उनको स्याहार गरेर उनीमाथि गरेको पापबाट मुक्ति पाउने मौका मिल्छ । स्याहारको बाबजुद आन्दे्रईको मृत्यु हुन्छ । बुढेसकालले हो या फ्रान्सेली सैनिकको सुरुवाती विजयको शोकले हो आन्दे्रईका बावुको पनि मृत्यु हुन्छ । आफ्नो गाउँको हवेलीमा फ्रान्सेली सेनाबाट आन्दे्रईकी बहिनी मेरीको नतासाका दाजु निकोलाईले उद्धार गर्छन् । पियर बेजुकोभ भने मस्कोमा रहन्छन् र नेपोलियनको हत्या गर्ने योजना बनाउँछन् तर सैनिकको कैदी बन्न पुग्छन् । उनको सहकैदीहरूसँगको अनुभवद्वारा रूसी आत्माको टोल्सटोयले चित्रण गरेका छन् । उता पिटर्स वर्गमा रहेका उनकी पत्नी हेलेनको अस्वस्थताका कारण एक्कासी मृत्यु हुन्छ ।

फ्रान्ससँग युद्ध र त्यसमा रूसी राष्ट्रको अनुभव र प्रतिक्रियाबाट लियो टोल्सटोयको बुझाइमा इतिहास कुनै महान् व्यक्तिले कोर्दैनन् । इतिहासको आफ्नै गति हुन्छ । ‘महान् व्यक्तिको हरेक कार्य आफ्नो मर्जीको प्रभाव जस्तो देखिए तापनि ऐतिहासिक रूपमा त्यस्ता व्यक्तिहरू स्वस्फूर्त उब्जेका हुन् र अनादिकालदेखिको घटनाको उपज हो’ टोल्सटोयले लेखेका छन् । रूसको अर्थडक्स् (कट्टर) इसाई धर्मको गहिरो प्रभावमा रहेका टोल्सटोयले ‘वार एण्ड पिस’ संसार बुझ्नु मानव बौद्धिक शक्ति सक्षम छैन, जतिसुकै बुझ्ने इच्छा उसको आत्मामा किन नहोस् प्रष्ट भनेका छन् । टोल्सटोयले बौद्धिकता र त्यसको सिकाइप्रति नफरत गर्ने, घटनाहरूलाई आफ्नै गतिमा चल्न दिने, युद्धबारे बैठकमा निदाउने रूसी सेनापति कुजुटोभको चरित्रद्वारा यो दर्शाउन खोजेका छन् ।

उपन्यासको कहानी सन् १८२० मा अन्त्य हुन्छ । पियरले नतासासँग बिहे गर्छन् र उनीहरूका चार छोराछोरी हुन्छन् । सदा जस्तै जीवन चलिरहन्छ र इतिहास आफ्नै गतिमा ।

इतिहासमा व्यक्तिको भूमिका के त ? टोल्सटोय लेख्छन्— ‘हरेक मानिसको जीवनमा दुई पक्ष हुन्छ, पहिलो उनको व्यक्तिगत जीवन जुन त्यति स्वतन्त्र हुन्छ र दोस्रो उनको भीडको जीवन जसमा उसको लागि तोकिएको नियमहरू पालना गर्नुपर्छ ।’

उन्नाइसौं शताब्दीमा पश्चिमी युरोपमा विज्ञान र तर्क हावी भइसके पनि टोल्सटोयको धर्ममा विश्वास गहिरो थियो । टोल्सटोयले आफ्नो धर्मप्रतिको आस्था आन्द्रेईको बहिनी मेरीको विश्वासद्वारा दर्शाउन खोजेका छन् । मानव सम्बन्धहरूको लागि इसाई धर्मका माया (लभ) को धारणा अति महत्वपूर्ण छ भन्ने टोल्सटोयको विश्वास थियो । नतासाले उनलाई स्याहारिरहेका बखत आन्दे्रईले सोच्छन्, ‘मायाले मृत्युलाई बाधा पु¥याउँछ । माया जिन्दगी हो । म जे पनि बुझ्छु मायाको कारणले बुझ्छु । सबै कुरा छ, सबै कुराको अस्तित्व छ, किनभने म माया गर्छु । सबै कुरा मायाले जोडिएको छ । माया भगवान हो अनि मर्नु भनेको म, मायाको एक कण, अनन्त स्रोतमा फर्कनु हो ।’ त्यस्तै विज्ञानको प्रगतिलाई नकार्दै नतासा पे्रमको व्यथाले व्यथित भएको बेला चिकित्सकहरूले उनलाई उपचार गर्न सफल नहुँदाको वर्णनमा टोल्सटोय लेख्छन्, ‘उपचारका प्रयासहरू राहत र सद्भावको आशाको अनन्त मानव चाहनाको पीडा भोगिरहेकाहरूलाई केही गरिनुपर्छ भन्ने भावको पूर्ति मात्र हो किनभने हरेक व्यक्तिको रोग फरक हुन्छ जुन चिकित्साशास्त्रले बुझ्न सक्दैन ।’

टोल्सटोयले पश्चिमी युरोपका आधुनिकीकरणमा प्रगतिहरू नकार्छन् र रूसको आफ्नै चरित्र छ भन्छन् । विशाल देश, कष्टकर प्राकृतिक पर्यावरण र एघारौं शताब्दीमा स्थापित इसाईको इस्टर्न अर्थडक्स् धर्म मान्ने रूस पश्चिम युरोप भन्दा आधारभूत रूपमा फरक छ । कम्युनिष्ट सोभियत रूसमा टोल्सटोयलाई ठूलो सम्मान दिइएको थियो र अडोल्फ हिटलरले सन् १९४१ मा रूसमाथि आक्रमण गर्दा सोभियत नेता जोसेफ स्टालिनले जनताको मनोबल बढाउन ठाउँ–ठाउँमा ‘वार एण्ड पिस’ को अंश टाँस्न लगाएका थिए ।

पश्चिमी युरोपका फ्रान्सेली क्रान्ति प्रतिपादित मूल्य र मान्यताहरू युरोपमा फैलाउने उद्देश्यका युद्धहरू लडेका नेपोलियन बोनापार्टको पतन रूससँगको हारबाट सुरु हुन्छ । भनिन्छ ती मूल्य र मान्यताहरू सन् १९१४ देखि १९१८ मा भएको प्रथम विश्वयुद्धपछि मात्र युरोपमा स्थापित भयो र दोस्रो विश्वयुद्धपछि संसारका धेरैजसो अरू मुलुकमा । सन् १९१७ मा कम्युनिष्ट क्रान्ति भएपछि प्रथम विश्वयुद्धबाट अलग्गिएको रूसमा यी मूल्य र मान्यताहरू कहिल्यै स्थापित भएनन् ।

नेपोलियन बोनापार्टलाई हराएको र दोस्रो विश्वयुद्धमा अडोल्फ हिटलरलाई हराउन दुई करोड रूसी नागरिकको जीवन बलिदान गरेर युरोपलाई गुन लगाएको तथ्य रूसी नेता भ्लादिमिर पुटिनलाई अवश्य थाहा छ । अहिलेको रूस–युक्रेन युद्धलाई फ्रान्सेली क्रान्तिका नाराहरू ‘लिबर्ते, इगालिते, फ्रातर्निते’ (स्वतन्त्रता, समानता, भ्रातृत्व) युक्रेनमा स्थापित गर्ने र रूसी मूल्य र मान्यताहरू कमजोर पार्ने शताब्दीयौं पुरानो लडाइँको रूपमा लिन सकिन्छ ।

लियो टोल्सटोयको आधुनिकीकरण, धर्म, इतिहास र रूसी चरित्रको धारणाहरूसँग हामी राजी नहुन सक्छौं तर पनि ‘वार एण्ड पिस’ एक महान् पुस्तक अवश्य हो- पात्रहरूका विभिन्न पक्षहरू देखाउन, कथावस्तुको विकास र विस्तार गर्न, प्रकृति र घटनाहरूको वर्णन गर्न, मानव जीवनका उतारचढावहरू दर्शाउन, समाजका मूल्य र मान्यताबाट वञ्चित हुँदाहुँदै पनि हाम्रो (पात्रहरू मार्फत) स्वतन्त्र हुने चाहना प्रतिबिम्बित गर्न र विचारहरू प्रति मनन् गराउन औधी सफल भएको छ, सबैले नाम सुनेको तर थोरैले पढेको यो भीमकाय उपन्यास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *