मनोरञ्जन

कोख भाडामा दिने महिलाको रहस्यमयी कथा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

गुडफ्राइडे सिनेमा

उनलाई आफ्नी बहिनीको उपचार निम्ति पैसाको खाँचो छ। आमाबा नभएकाले बहिनी र घरको जिम्मेवारी उनकै काँधमा छ। उनी खाना डेलिभरी गर्ने अनलाइन कम्पनी जोमाटोमा काम गरेर घरखर्च जुटाउँछिन्।

बहिनीको उपचार निम्ति पैसा जुटाउने कुनै प्रयास सफल नभएपछि उनले अर्काको बच्चा आफ्नो कोखमा हुर्काउने निधो गर्छिन्। कोख भाडामा दिएबापत उनले कडा नियमहरू पालना गर्नुपर्ने हुन्छ।

यस्तो सेवा दिइरहेको उक्त संस्था भव्य हुन्छ। यो संस्था डाक्टर मधुवालाले चलाइरहेकी हुन्छिन्।

यशोदाको गर्भ बढेपछि उनी यही संस्थामा बस्न जान्छिन्। केही नियम कडा र शंकास्पद भए पनि आकर्षक सरसुविधा देखेर यशोदा दंग पर्छिन्।

त्यहाँ यशोदासँगै अरू युवतीहरू पनि हुन्छन्। सबै जना आ-आफ्नै कारण र बाध्यताले कोख भाडामा दिएर पैसा कमाउन आएका हुन्छन्।

सबैका कथा थाहा पाउँदै जाँदा समयक्रममा उनीहरूबीच आत्मीयता बढ्छ। उनीहरू एकअर्कालाई माया गर्न थाल्छन्।

यशोदालाई भने विशेष गरी आफूलाई जाँच्ने डाक्टरको माया लाग्न थाल्छ। उनलाई डाक्टर मनपर्छन् र आफ्ना कुरा भनिहाल्न खासै डराउँदिनन् पनि।

हक्की, चञ्चले र निडर स्वभावकी यशोदा भावुक पनि उत्तिकै हुन्छिन्।

एकदिन गर्भवतीहरूमध्ये एक जनालाई बेथा लाग्छ। संस्थाका मान्छेले उनलाई सुत्केरी गराउन लैजान्छन्। पछि उनीहरूले ती महिलाको बच्चा दुई दिनअगाडि गर्भमै मरिसकेको र ती महिलालाई घर पठाइएको बताउँछन्।

त्यसपछि यशोदा बेचैन हुन्छिन्। उनको उत्सुक स्वभावले उनलाई चुप लागेर बस्न दिँदैन।

यसैबीच अर्कातिर स्थानीय प्रहरीहरू व्यवसायी शिवा रेड्डी र उनकी प्रेमिकाको मृत्युको छानबिन गरिरहेको हुन्छ। दुर्घटनामा परेर उनीहरूको ज्यान गएको भए पनि प्रहरी अधिकारी वासुदेवलाई यो घटना योजनाबद्ध हत्या लाग्छ।

यही घटना छानबिन क्रममा वासुदेव र उनको टिम यस्तो ठाउँमा पुग्छन् जसबाट उनीहरू फुत्किन सक्ने अवस्था हुँदैन।

उता यशोदा त्यस्तै परिस्थितिमा हुन्छिन्। गर्भवती साथीलाई के भयो होला भनेर बुझ्न हिँडेकी उनी अकल्पनीय ठाउँमा पुग्छिन्। त्यहाँ उनले जे देख्छिन्, त्यसबाट उनको होसहवास उड्छ। उनको जीवन जोखिममा पर्छ।

यसबीच यस्ता रहस्यहरू खुल्दै जान्छन् जसले यशोदा, वासुदेव र दर्शकलाई चकित तुल्याउँछ।

एक महिनाअघि रिलिज दक्षिण भारतीय फिल्म ‘यशोदा’ ले यो धुकचुक अन्तिम समयसम्मै कायम राख्छ। यशोदा, उनकी बहिनी, वासुदेव, मधुवाला र अरू पात्रको जीवनले कुन मोड लिन्छ भन्ने खुलदुली पनि भइरहन्छ।

तेलेगू भाषाको यो फिल्म हिन्दीमा डब भएर युट्युबमा सार्वजनिक गरिएको छ। फिल्म बक्सअफिसमा पनि सफल भएको थियो।

हरिशंकर र हरि नारायणद्वारा निर्देशित फिल्ममा यशोदाको भूमिकामा सामन्था रूथ प्रभु छिन्। फिल्ममा उनको राम्रो अभिनय त छँदै छ, उनको बलियो एक्सन पनि देख्न सकिन्छ। सामन्थालाई एक्सन सिकाउन हलिउडका स्टन्टम्यान बोलाइएको थियो।

सरोगेसीको कथा नयाँ नभए पनि यो फिल्ममा नयाँपन पाइन्छ। यशोदामा भाडाको कोखको कथा जुन तरिकाले प्रस्तुत गरिएको र जुन कथामा ढालिएको छ, त्यसले ताजापन दिन्छ। यसबाहेक भरपुर सस्पेन्स र थ्रिलर भएकाले फिल्मले भरपुर मनोरञ्जन दिन्छ।

फिल्ममा सँगसँगै बग्ने अर्कोतिरको कथाका मुख्य पात्र प्रहरी अधिकारी वासुदेवको भूमिका पनि बलियो छ। यसलाई निर्वाह गरेका सम्पत राजको अभिनयले पात्रलाई रोमाञ्चक बनाउन मद्दत गरेको छ।

फिल्मको अन्त्य केही अपुरोजस्तो भने लाग्छ। यसमा केही पात्रको कथा यसै छाडिएको छ। त्यसैले यशोदाको सिक्वेल बन्ने सम्भावना छ।

आज गुडफ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *