७ वर्षमा पनि बनेन नारायणीमा पुल
प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९
२९ महिनामा सक्ने गरी २०७२ सालमै ठेक्का लागेकोमा बल्ल ७० प्रतिशत काम पूरा िसुस्तावासीलाई जोखिमपूर्ण डुंगायात्रा गर्नुपर्ने बाध्यता
परासी — पश्चिम नवलपरासीको सुस्ता–५ का सुकै हरिजन ५५ वर्षका भए । उनी युवा अवस्था हुँदादेखि नारायणीमा झोलुंगे पुल निर्माणको चर्चा चल्दै आएको सुनाउँछन् । पुल निर्माण माग गर्दै स्थानीय तत्कालीन गाउँ पञ्चायतदेखि काठमाडौंसम्म पुगेको उनले सम्झिए ।
भारतसँग विवादित भूमि भएको भन्दै प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेता र सामाजिक अभियन्ताहरूले हाम्राबारे चिन्ता व्यक्त गर्छन्, भाषण गर्छन् । तर, स्थानीयको मुख्य माग रहँदै आएको नारायणी नदीमा पुल निर्माण भने अझै भएको छैन । ‘सुस्तामा टेक्ने सबैले पुल निर्माणका लागि पहल गरिदिने आश्वासन दिन्छन्,’ उनले भने, ‘वर्षौंपछि पुल निर्माण हुने सपना साकार हुने आशा पलाएको थियो तर निर्माण सुरु भएको ७ वर्ष हुँदासमेत डुंगाबाटै नदी तर्नुपर्ने बाध्यता छ ।’
लामो समयको माग र आन्दोलनपछि सरकारले २०७२ सालमा सुस्तामा पुल निर्माणको ठेक्का लगाएको हो । २०७४ असोजमा काम सक्ने जिम्मा दिइएको थियो । तर, निर्माण सुरु भएको ६ महिनामै ठेकेदार काम छोडेर भाग्यो । योसँगै नारायणीमा पुल निर्माण भएर डुंगाको यात्रा रोकिने आशा गरेका सुस्ताबासीको खुसी टुट्यो । काम रोकिएपछि उनीहरू नेतादेखि प्रशासकसम्म ज्ञापनपत्र बुझाउन पुगे । बीचमा केही समय काम गरेर ठेकेदार पक्ष फेरि सम्पर्कमा आएन । ‘नारायणी नदीमा पुल बन्ने समाचारले सुस्ताबासीको खुसीको सीमा नै थिएन । अब आफ्नै भूमिबाट ओहोरदोहोर गर्न पाउने आशा थियो,’ सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भने, ‘२९ महिनामा निर्माण हुनुपर्ने पुल ७ वर्ष हुँदासमेत पूरा भएको छैन । हाम्रो खुसी निराशामा परिणत भयो । राज्यले यसमा ध्यान दिन आवश्यक छ ।’
योजनाको दोस्रो पटक थप गरिएको म्याद पनि २०७८ मा सकिएपछि फेरि म्याद थप भएको छ । काम करिब ७० प्रतिशत सम्पन्न भएको छ । १५७१ मिटर लामो पुल निर्माणको जिम्मा त्रिशूली–आश्रय जेभीले २७ करोड रुपैयाँमा लिएको थियो । २२५ वटा पाइलिङ र ठूला १४ वटा पिलरको निर्माण सकिएको छ । ठेकेदार पक्षले भने निर्माण सामग्रीको अभाव र कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएको छ ।
प्रदेशसभा सदस्य देवकरण जयसवालले ठेकेदार पक्षले सुरुवाती चरणमा लापरबाही गरेको भए पनि अहिले भने काम गरिरहेको दाबी गरे । ‘अहिले पहिलाको भन्दा कामले तीव्रता पाएको छ । ठेकेदार पक्षसँग बारम्बार कुरा गरिरहेको छु । यस वर्षभित्रमा जसरी पनि पुल निर्माण सम्पन्न गर्न दबाब दिएका छौं,’ उनले भने, ‘यो पुल निर्माण भएपछि सुस्ता पर्यटकीय क्षेत्र बन्नेछ भने भारतीय अतिक्रमण पनि कम हुनेछ ।’
सुस्ताको तीनतिर नारायणी नदी र एकातिर भारत बिहारको महाराजगन्ज जिल्ला पर्छ । यहाँका स्थानीयलाई अहिले पनि औषधि उपचार र किनमेलका लागि भारतीय सीमावर्ती बजार नै जानुपर्ने बाध्यता छ । नारायणी नदीमा पुल नहुँदा प्रशासनिक कामका लागि भने उनीहरू डुंगामा करिब आधा घण्टा जोखिमपूर्ण यात्रा गर्छन् । डुंगा पल्टिएर मानिस बेपत्ता हुने र सामान बगाउने धेरै पटक भइसकेको छ ।
‘नारायणी नदीमा पुल नहुँदा भारतीय दमन सहन बाध्य छौं । सामान्य कामका लागि पनि उसैको भूमिमा भर पर्नुपर्ने हुँदा हामी निरीहजस्तै छौं,’ स्थानीय लाजुमा साहले भनिन्, ‘दुःख बिमार हुँदा भारत नै जानुपर्छ । आफ्नै भूमिमा जान पुल नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता नहटेसम्म हामी थप दबाबमा छौं ।’ नेपाल–भारतको विवादित क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीले अनावश्यक रूपमा सोधपुछ गर्ने र खानतलासी गर्ने गरेका उनले सुनाइन् ।