अर्थसमाचार

अर्थतन्त्रका बाह्य सूचकमा क्रमिक सुधार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौँ — विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स आप्रवाहलगायत अर्थतन्त्रमा बाह्य सूचकमा क्रमिक सुधार भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत कात्तिकको आर्थिक तथा वित्तीय प्रतिवेदनले रेमिट्यान्स वृद्धिदर दोहोरो अंकले बढेको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी मुद्रा सञ्चिति बढेको देखाएको हो ।

पछिल्ला तथ्यांकले बाह्य क्षेत्रमा क्रमिक भएको देखाएकाले त्यो सुधारलाई बिग्रिन नदिई थप सुदृढीकरण गर्दै जानुपर्ने अर्थ क्षेत्रका जानकारहरू बताउँछन् । मुलुक आर्थिक संकटमा जान्छ कि भन्ने त्रासबाट सुरक्षित अवस्थामा पुगेकाले त्यसलाई संस्थागत गर्नु नै अबको चुनौती भएको उनीहरूको भनाइ छ ।

प्रतिवेदनका अनुसार गत कात्तिकसम्म रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा छ । सोही अवधिमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड अमेरिकी डलर छ । अघिल्लो महिना (असोज) र गत आर्थिक वर्षको कात्तिकको तुलनामा उल्लिखित सबै सूचकमा सुधार भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

गत कात्तिकसम्मको तथ्यांकका आधारमा मुलुकको बाह्य क्षेत्रमा क्रमिक सुधार भएको देखिने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘अहिले बाह्य सूचकमा सुधार भएको देखिए पनि अर्थतन्त्रमा सुधार भन्न सकिने अवस्था होइन,’ उनले भने, ‘अर्थतन्त्रमा सुधार हुन महत्त्वपूर्ण सूचक निर्यात बढ्न पर्छ । तर, अहिले घटिरहेको छ । निजी क्षेत्रमा जाने बैंक कर्जा बढ्न सकेको छैन, घटिरहेको छ । पुँजीगत खर्च, राजस्व संकलन, रोजगारी, पर्यटनलगायत सूचकमा अपेक्षित सुधार हुन सकेको छैन ।’

यसअघि बाह्य क्षेत्रमा देखिएको त्रास अहिले केही कम भए पनि हौसिइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘अब बाह्य क्षेत्रको सुधारलाई सुदृढीकरण गर्दै संयमित भएर अर्थतन्त्रको सुधारका लागि लाग्नुपर्छ,’ उनले थपे, ‘नत्र यो सुधार हातबाट फुत्किन सक्छ ।’ आउँदा २/३ महिना अझै संयमित भएर अर्थतन्त्रको सुधार हुने सके अहिलको सुधारलाई दीर्घकालीन रुपमा संस्थागत गर्न सकिने उनको भनाइ छ । यसका लागि साना तथा मझौला उद्यमीहरूले सजिलै कर्जा लिएर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्छ ।

यो नै अहिलेको चुनौती भएको थापाले बताए । राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ पनि मुलुकको बाह्य क्षेत्रका सूचकमा क्रमिक सुधार भएको मान्न तयार छन् । ‘बाह्य सूचकमा सुधार हुने क्रम जारी छ ।

मंसिरसम्म पनि सुधारको क्रम जारी हुने सम्भावना छ,’ उनले भने, ‘आयातमा कमी र रेमिट्यान्स आप्रवाहमा भएको सुधारले नै बाह्य सूचकमा क्रमिक सुधार देखिएको हो ।

’ यसअघि प्रतिबन्धित वस्तुको आयात खुला भइसकेकाले आउँदा पुसमा यी सूचकमा पनि केही दबाब पर्ने सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘प्रारम्भिक तथ्यांक हेर्दा मंसिरको अवस्था राम्रो देखिन्छ,’ उनले थपे, ‘आयात खुल्दै गर्दा आउँदा महिनामा केही दबाब पर्ने सम्भावना पनि नभएको होइन ।’

वित्तीय क्षेत्रमा देखिएको तरलताको अवस्थामा सुधार आउन अझै केही समय लाग्ने पनि श्रेष्ठले बताए । यद्यपि पछिल्ला सातामा तरलताको अवस्थामा सुधारको संकेत देखिएको छ । गत सातासम्म स्थायी तरलता सुविधामा (एसएलएफ) मार्फत करिब ५ अर्ब रुपैयाँ मात्र लगानीमा रहेको, अन्तरबैंक ब्याजदर ७ प्रतिशतभन्दा तल झरेको, कर्जाको भन्दा निक्षेपको वृद्धि बढी रहेकोलगायत सूचक तरलताको अवस्थामा सुधारको प्रारम्भिक संकेत भएको उनको दाबी छ ।

रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएपछि १४ महिनापछि गत असोजमा बाहृय क्षेत्र सुधारोन्मुख अवस्थामा पुगेको थियो । अहिले सोही क्रमले निरन्तरता पाएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । उल्लिखित तथ्यांकलाई विश्लेषण गर्दा विगतमा संकटोन्मुख अवस्थामा पुगेको मुलुकको बाह्य क्षेत्र नियन्त्रणमा आएको अर्थविद्हरूको भनाइ छ । अहिलेको अवस्थालाई अर्थतन्त्रको सुधार भन्न नसकिए पनि बाह्य क्षेत्र नियन्त्रणमा आएको बलियो संकेत भएको उनीहरूको दाबी छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपाल भत्रिने र बाहिरिने विदेशी मुद्राको अनुपात देखाउने सूचक शोधनान्तर स्थिति गत कात्तिकमा २० अर्ब ३ करोड रुपैयाँले बचतमा छ । गत आर्थिक वर्षको कात्तिकमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत कात्तिकमा १४ करोड ९६ लाखले बचतमा रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब

गत कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ६३ करोड छ । यो गत असारको तुलनामा १ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।

अघिल्ला महिनाहरूको तुलनामा कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति सीमान्त दरले बढेको हो । रेमिट्यान्स बढेको, आयात घटेकोलगायत कारण पछिल्ला महिनामा कुल विदेशी मुद्रा सञ्चितिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली रुपैयाँमा गत असारको तुलनामा कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यो आँकडा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । गत भदौमा सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै त्यसअघि रोक्का गरिएका चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको र यही मंसिरमा गाडी, मोटसाइकल, मदिरा र स्मार्ट फोनको आयात खुला गरेको छ । यद्यपि आयात रोक्का गरिएको, आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) मा कडाइ गरेको, कर्जा विस्तारमा संकुचनकारी नीति लिएकोलगायत कारण अर्थतन्त्रका सूचकमा सुधार भएको राष्ट्र बैंकको दाबी छ ।

गत कात्तिकसम्मको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाका लागि वस्तु र ८.४ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने दाबी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले चालु आवमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी मद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।

गत कात्तिकमा रेमिट्यान्समार्फत ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २०.४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको कात्तिकसम्म रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घटेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।’ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२ प्रतिशतले बढेर १ लाख ९५ हजार १ सय ९६ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत कात्तिकमा ४६.४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २ सय ४९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत कात्तिकमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ८.०८ प्रतिशत छ । गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि दर सीमान्त रूपमा बढेको हो । कात्तिकको मूल्यवृद्धि पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तय गरेको मुद्रास्फीतिको वार्षिक लक्ष्यभन्दा बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा औसत ७ प्रतिशतभित्र मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य तय गरेको छ ।

गत कात्तिकमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.६३ प्रतिशत छ । सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्य सूचक १५.९७, सुर्तीजन्य पदार्थको ११.८१, दुग्धपदार्थ तथा अन्डाको ९.३३, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७.७१, स्वास्थ्यको ११.२२, मनोरञ्जन तथा संस्कृतिको ८.७६, घरायसी उपयोगका वस्तुहरूको ८.४९ र फर्निसिङ तथा घरायसी उपकरणको ८.३३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

कुन सूचक कस्ता ?

  • मूल्यवृद्धि दर औसत ८.०८ प्रतिशत
  • आयात १८.१ प्रतिशत र निर्यात ३३.३ प्रतिशतले घट्यो
  • रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो
  • शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा
  • विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड डलर
  • संघीय सरकारको खर्च ३ खर्ब ५१ अर्ब र राजस्व परिचालन २ खर्ब ६८ अर्ब
  • निक्षेप संकलन ०.९ प्रतिशत र कर्जा १.५ प्रतिशत बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *