राजनीतिसमाचार

देउवा र प्रचण्डले एक अर्कालाई देखाए एमाले कार्ड

Advertisements
MAHABAI RURAL MUNICIPALITY

पहिलो पालोमा प्रधानमन्त्री बन्न चाहेका देउवा र प्रचण्ड दुबैले एमालेलाई देखाएर एकअर्कालाई गलाउन खोजेका छन् ।

काठमाडौं । हरेक दिनजसो केही न केही बोलिरहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुखरता पछिल्ला दिनमा घटेको छ । महासचिव शंकर पोखरेलका अनुसार जनादेश एमालेको नेतृत्वमा सरकार गठन गर्ने नभएकाले एमाले ‘पर्ख र हेर’ को नीतिमा छ ।आफूबाट छुटेर गएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्री बन्ने अधिरता जति बढ्दै गएको छ, त्यति नै ओली सम्भावित विकल्पको आकलनमा सक्रिय देखिन्छन् ।

सत्ता गठबन्धनमा दुई खेलाडी शेरबहादुर देउवा र प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवाद चर्किएको छ ।

यो बहसमा भारतीय राजदूत नवीन श्रीवास्तव लगायतका कूटनीतिज्ञको चासो पनि उत्तिकै छ । नेताहरुका अनुसार भारतीय संस्थापन पक्ष हालको गठबन्धनको नेतृत्वकै पक्षमा छ, तर प्रधानमन्त्रीमा देउवाकै निरन्तरता चाहन्छ । प्रचण्डप्रति ‘विश्वास निर्माण भइनसकेको’ भारतीय बुझाइ छ ।

३२ सांसदसहित तेस्रो शक्ति बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हरहालतमा पहिलो पालोमा प्रधानमन्त्री बन्न चाहन्छन् । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति देउवा त्यसमा तयार छैनन् । कांग्रेसका देउवा निकट एक नेता भन्छन्, ‘गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति छ, तर पदको बाँडफाँट खासगरी प्रधानमन्त्रीमा सकस देखिएको छ ।’

यही बेला एमालेले कांग्रेससामू नयाँ प्रस्ताव पठाएको छ– राष्ट्रिय मुद्दाहरुमा न्यूनतम समझदारी बनाऔं ।

भारतीय दबावलाई अस्वीकार गर्दै ३ असोज २०७२ नयाँ संविधान जारी भएसँगै घटेको विदेशी चलखेल अकस्मात् बढ्न थालेको एमाले नेताहरुको बुझाइ छ । चुनावी नतिजा आइनसक्दै विदेशी दूतहरु घरदैलोमा लागेको भन्दै एमाले नेताहरुले कांग्रेस नेताहरुलाई भेटेर सम्झाउन थालेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने, ‘कांग्रेस र हामीबीचमा न्युनतम राष्ट्रिय समझदारी चाहिएको छ । नत्र अहिले देखिइरहेको भूराजनीतिक चलखेल, राष्ट्रिय अर्थतन्त्र सामुन्ने देखा पर्दै गरेको जोखिम र अस्थिरताको सामना गर्न हामी असफल हुन सक्छौं ।’

‘यसको मतलब कांग्रेससँग मिलेर सरकार बनाउन लाग्यौं भन्ने अर्थ पटक्कै नलागोस् । हामी सरकार बनाउने खेलमा छैनौं । केवल गलत चलखेलहरुलाई रोकथाम गर्न सकियोस् भन्ने ध्येय हो’, उनले अगाडि भने, ‘बरु यसमा माओवादी पनि आउन चाहन्छ भने ठीकै छ, आओस् । संविधान बनाउने, अग्रगामी परिवर्तनका लागि लड्ने शक्ति हो । हामीबीचमा साझा बुझाइ बन्न आवश्यक छ, यो घडीमा ।’

फेरि एमाले कार्ड

पहिलो पालोमा प्रधानमन्त्री बन्न चाहेका देउवा र प्रचण्डले भने एमालेलाई देखाएर एकअर्कालाई गलाउन खोजेका छन् ।

देउवाले सहजै प्रधानमन्त्री पद नछाड्ने देखेपछि माओवादी नेताहरुले एमाले नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । एमाले नेताहरुसँग निरन्तर सम्वादमा रहेका प्रचण्डले आइतबार पार्टी महासचिव देव गुरुङलाई एमाले अध्यक्ष ओलीलाई भेट्न पठाएका थिए । यस्ता भेटवार्तापछि माओवादी नेताहरुले प्रचण्डलाई समर्थन गर्न एमाले तयार रहेको सन्देश दिने गरेका छन् ।

त्यसको काउन्टरमा कांग्रेस नेताहरुले पनि एमालेसँग सम्वाद थालेका छन् । उनीहरुका अनुसार एमाले नेताहरुले कांग्रेसलाई एक्लै सरकार बनाए फ्लोरबाट समर्थन गर्ने सन्देश दिइरहेका छन् । ‘हाम्रो ७८ थपिदिनासाथ १६७ हुन्छ । ढुक्कले दुई वर्ष सरकार चलाउनुस् भन्ने एमालेबाट आइरहेको छ’, एक नेता भन्छन्, ‘सभापतिज्यूले त्यो जोखिमपूर्ण बाटो हिँड्न चाहनुभएको छैन ।’

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभा (संसद) बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादमा पनि देउवा र प्रचण्डले एमाले कार्ड प्रयोग गरेर एकाअर्कालाई गलाउने प्रयास गरेका थिए । माओवादी नेतृत्व एमसीसी अनुमोदन नगर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री देउवा, कांग्रेसका पदाधिकारीहरुलाई लिएर निरन्तर बालकोट पुगेर वार्ता गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पार्टी पदाधिकारीहरुसहित एमाले अध्यक्ष ओलीलाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए । तर ओली एमसीसी रोक्ने पक्षमा नदेखिएपछि प्रचण्ड गले र १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन भएको थियो ।

कांग्रेसकै अर्का एक नेताका अनुसार देउवाले अहिले पनि प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार देखिएका छैनन् । किनकी प्रचण्डलाई प्रधानमन्त्रीमा पालो दिँदा प्रधानमन्त्रीका लागि दुई/साढे २ वर्ष कुर्ने वा राष्ट्रपति बन्ने विकल्प रहन्छ ।

राष्ट्र प्रमुख भएर शीतल निवास जाँदा प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा पुग्ने नेपालकै पहिलो नेता त बन्ने छन्, तर उनले पत्नी आरजु देउवालाई पार्टी राजनीतिमा स्थापित गर्ने अभियानमा ब्रेक लाग्ने छ । शायद त्यसैले होला, देउवाले संसदीय दलको चुनाव लड्छु भनेर राष्ट्रपति बन्ने ढोका बन्द गरिसकेका छन् ।

अब उनीसामू प्रचण्डलाई प्रधानमन्त्रीमा पालो दिने, प्रचण्डलाई मनाएर आफैं प्रधानमन्त्री हुने वा एमालेको समर्थन खोज्ने विकल्प बाँकी छ । एक नेता भन्छन्, ‘प्रधानमन्त्री पदका लागि आफ्नो पार्टीलाई सानो बनाउनु तयार भएका देउवाले अहिले आएर प्रचण्डलाई छाड्छन् भन्ने लाग्दैन ।’

प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री हुने गरी मनाउन पनि सजिलो छैन । त्यो बेला एमालेको समर्थनमा संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउने विकल्प कांग्रेस सभापति देउवासँग रहनेछ ।

एमालेका एक पदाधिकारीका अनुसार कांग्रेस प्रमुख प्रतिस्पर्धी भएकाले मिल्नुहुन्न भन्ने मत पार्टीमा बलियो छ । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालको तिक्ततापूर्ण सम्बन्धका कारण ओली र प्रचण्डको एकअर्काप्रति विश्वास टुटेको छ ।

त्यसमा सहमत माओवादी केन्द्रका एक नेता भन्छन्, ‘अहिले नै राजनीति त्यो (अल्पमतको सरकार बनाउने) ठाउँमा पुगेको छैन, तर होसियारीपूर्वक कदम नचाल्ने हो भने हामी सडकमा आइपुग्ने जोखिम छँदैछ ।’

कांग्रेस नेता विमलेन्द्र निधि भने त्यस्तो परिस्थितिको कल्पना नगरेको तर्क गर्छन् । उनले पाँचदलीय गठबन्धन कायम रहने, बरु त्यसमा अरु शक्ति पनि थपेर बलियो बहुमत पुर्‍याउने उनले दाबी गरे ।

‘अहिले हामी माओवादी र एकीकृत समाजवादीको विकल्प खोज्नेमा छैनौं, बरु त्यसमा सीके राउत, उन्मुक्ति पार्टी, राप्रपा, उस्तै परे रास्वपा सबैलाई ल्याउने हो’, निधिले अनलाइनखबरसँग भने, ‘जो–जो थपिए पनि पाँच दलीय गठबन्धन कायमै रहन्छ ।’

निधिले गठबन्धन ठूलो ढोका भएको भन्दै एमालेसँग झ्यालबाट प्रवेश गर्नुको कुनै अर्थ नहुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *