राजनीतिसमाचार

कुपोषणले ज्यान गुमाउँछन् बालबालिका, बजेट चाहिँ मन्दिर निर्माणमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

बाजुरा — कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विक, मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । बच्चा मात्र होइन आमाहरु पनि कुपोषयणबाट ग्रस्त छन् ।

मुक्तिकोटको आधारभुक्त स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी कुपोषणका कारण मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्छ । प्रत्येक वर्ष बालबालिकाको मृत्यु भइरहँदा पनि राज्यको ध्यान भने जान सकेको छैन ।

गतवर्ष विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषणको दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँ पुगेर चेकजाँच गर्दा ३४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाइएको हो ।

२४३ जना सुत्केरी आमामध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पाइएको गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही बताउँछन् । त्यस्तै १० देखि १४ वर्षसम्मका किशोर र किशोरीलाई जाँचगर्दा १२ जना अतिकुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत बालबालिका कुपोषित छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बालमृत्यु दर, परिवार नियोजन को साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बजेट चाहिँ मन्दिर र पदमार्गमा

मुक्तिकोटमा कुपोषणले वर्षेनी बालबालिकाको मृत्यु भइरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले कुपोषण न्युनीकरण गर्न आर्थिक वर्ष ०७९/०८० का लागि बजेट छुट्याएको छैन ।

तर प्रदेश सरकारले बाजुरामा मात्र मन्दिर र पदमार्गका नाममा करोडौं बजेट छुट्याएको पाइएको छ ।

जिल्लाभरि मन्दिर र पदमार्गका २५ योजनामा २ करोड १७ लाख विनियोजन गरेको पाइएएको छ । १३ वटा मन्दिर निर्माणका लागि मात्र १ करोड रुपैयाँ छट्याइएको छ ।

नागरिक अगुवा लक्ष्मीराज पाध्याले कुपोषण न्युनीकरणका लागि बजेट नछुट्याउने सरकारले मन्दिरका लागि बजेट छुट्याउनु गलत भएको बताउँछन् । ‘मुक्तिकोट गाउँमा कुपोषणको भयावह अवस्था छ, राज्यभने बेखबर छ’ उनी भन्छन् ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेशभर २९४ मन्दिर बनाउन २३ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोट क्षेत्रमा भने बजेट परेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *